शरणार्थी प्रकरणमा मुछिएका जो कोहीलाई पनि छाड्न हुँदैन : गगन थापा

काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले नक्कली भूटानी शरणार्थी प्रकरणमा मुछिएका जो कोहीलाई पनि कारबाही गर्नबाट पछि हट्नु नहुने बताएका छन् ।

बुधवार काठमाडौँमा आयोजित प्रजातान्त्रिक विचार समाजको १२ औँ राष्ट्रिय महाधिवेशनलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले नक्कली भूटानी शरणार्थी प्रकरणमा काँग्रेस पार्टीबाट नाम जोडिएका नेता बालकृष्ण खाँणलाई पार्टीले तत्काल निलम्बन गर्नुपर्ने माग गरे ।

उनले अनुसन्धानमा पार्टी जोडिनु नहुने र अनुसन्धानबाट दोषी ठहरिए सबैलाई कारबाही हुनुपर्ने बताए । महामन्त्री थापाले नक्कली भूटानी शरणार्थी प्रकरण राष्ट्रविरुद्धको अपराध भएको उल्लेख गरे । उनले कुनै पनि पदमा बसेको व्यक्ति अभियोग लागिसकेपछि निर्दोष नहुन्जेसम्म स्वतः निलम्बनमा पर्ने बताए ।

उनले पार्टीको बैठकमा यसबारेमा छलफल भए पनि केही नेताहरूले पार्टीको परम्परा नरहेको भन्दै पन्छिन खोजेकाले परम्परा तोडेर भए पनि निलम्बन गर्न आवश्यक रहेको उल्लेख गरे । गलत कुरालाई परम्पराको नाममा बोकेर हिँड्नु नहुने बताए । उनले पार्टीका नेताहरू भ्रष्टाचारी भए पनि पार्टी नै भ्रष्टाचारी हो भन्न नमिल्ने तर्क गरे ।

उनले भने ‘अहिले एउटा प्रकरणको बहस चलिरहेको छ, प्रकरणका बारेमा पार्टीमा बहस भयो, प्रकरणमा पार्टीका नेता मुछिनुभयो । नेता मुछिसकेपछि विधिको शासन भएको ठाउँमा कानुनी प्रक्रियालाई सबैले विश्वास गर्नुपर्छ । अनुसन्धानबाट दोषी ठहरिन्छ भने बकाइदासँग दोषीले सजाय पाउनुपर्छ । यो खालको राष्ट्रविरुद्धको अपराध राजद्रोहमा अनुसन्धान निष्पक्ष हुनुपर्छ, जोजो मुछिन्छ सबैलाई कारबाही हुनुपर्छ । त्यसमा दायाँ बायाँ केही पनि हुनुहुँदैन । एउटा कुनै पदमा जिम्मामा बसेको मान्छे, कतैपनि छ भने अभियोगमा लागेपछि त्यो स्वतः निलम्बनमा पर्छ । प्रमाणित भएन भने स्वतः आउँछ । यो आग्रह, पूर्वाग्रह होइन । केही साथीहरूले परम्परा छैन भन्नुभयो, यदि यो परम्परा छैन भने परम्परा तोड्नुपर्छ । गलत कुरालाई परम्पराको नाममा बोकेर हिँड्नु हुँदैन । पार्टीका मान्छे भ्रष्टाचारी हुनसक्छ तर पार्टी भ्रष्टाचारी हुन सक्दैन । अहिले तत्कालै पार्टीले उहाँलाई निलम्बन गरी आफूबाट अलग राख्नुपर्छ । अनुसन्धानमा कतैपनि पार्टी कतै पनि देखिनु हुँदैन । जोसुकैमाथि जरा जहाँसम्म पुगेको भए पनि त्यो ठाउँसम्म कारबाही हुनुपर्छ ।’

महामन्त्री थापाले लोक रिजाइनको राजनीति हाबी भएको भन्दै मानिसलाई उचाल्ने काम भइरहेको बताए । उनले काँग्रेसलाई अब नेताबाट नागरिकमा फर्काउनुपर्ने आवश्यकता रहेको उल्लेख गरे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two − one =