एन्फा टेक्निकल सेण्टर अलपत्र, पालिकाले गर्‍यो प्रदेश सरकारको ध्यानाकर्षण

पोखरा । एन्फाले कास्कीको भिडाबारीमा टेक्निकल सेण्टर निर्माण गर्ने कार्यक्रम अघि सार्‍यो । ३ वर्षअघि २०७७ असारमा विश्व फुटबल महासंघ (फिफा) ले नेपाललाई टेक्निकल सेन्टर बनाउने योजना दिएको थियो । उक्त कार्यक्रम भिडाबारीमा सञ्चालन गर्ने गरी जग्गा समेत हेरियो, स्थानीयसँग जग्गा अधिग्रहण समेत गरिएको छ । जग्गाको तटबन्ध र केही घेराबार गरिएको छ । त्यसपछिका काम अघि बढ्न सकेको छैन ।

एन्फामा चरम राजनीति भएका कारण अघिल्लो समितिले गरेको निर्णय पछिल्लो समितिले कार्यान्वयन नगरेको एन्फा अधिकारीहरू बताउँछन् । कर्माछिरिङ शेर्पा हुँदाताका नै चलेको चर्चा नेतृत्व परिवर्तनसँगै हराएको हो । पंकज नेम्वाङले एन्फामा नयाँ नेतृत्व सम्हालेदेखि एन्फाको ड्रिम प्रोजेक्टका रूपमा हेरिएको टेक्निकल सेन्टरको काम अघि बढ्न सकेको छैन ।

माछापुच्छ्रे गाउँपालिकाले टेक्निकल सेण्टरको काम अघि बढाउन प्रदेश सरकारको ध्यानाकर्षण गराएको छ । राष्ट्रिय खेलकुद परिषद् र गण्डकी प्रदेश फुटबल संघले पनि चासो देखाएको छ । एन्फाको ड्रिम प्रोजेक्ट सञ्चालनका लागि आवश्यक पहलका लागि सहयोग गरिदिन गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलाई एन्फा गण्डकीले ज्ञापनपत्र बुझाउँदै आग्रह गरेको छ ।

‘टेक्निकल सेण्टर बनाउने भनेर जग्गा अधिग्रहण गरिएको छ । सरकारको लाखौँ रकम लगानी भैसकेको छ,’ पालिका अध्यक्ष मीनबहादुर गुरुङले भने, ‘अहिले काम ठप्प छ । कसका कारणले रोकियो ? किन रोकियो ? यसको छानबिन होस्, काम अघि बढाइयोस् ।’

गाउँपालिकाले टेक्निकल सेन्टर बनाउन एन्फालाई २० वर्षको लागि भोगचलन लगायत निर्वाधरुपमा निर्माण कार्य गर्न पाउने गरी करिब ३ सय ५२ रोपनी उपलब्ध गराइसकेको छ । उक्त स्थानमा सम्भाव्यता अध्ययन, डिपिआर लगायत नक्सा तयार गरिने भौतिक संरचनाका कार्य २ चरणमा निर्माण गरी सेन्टर सम्पन्न गर्ने निर्णय भएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *