टोपबहादुर रायमाझीलाई काठमाडौं परिसर लगियो, स्वास्थ्य जाँच गरिँदै

भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका एमाले सचिव टोपबहादुर रायमाझीलाई काठमाडौं प्रहरी परिसर लगिएको छ। बुढानिलकण्ठस्थित कार्यकर्ताको घरबाट आइतबार साँझ पक्राउ परेका उनलाई परिसर लगिएको हो।
उनलाई हिरासतमा राख्नु अघि स्वास्थ्य परीक्षण गराउने तयारी भइरहेको प्रहरीले जानकारी दिएको छ। स्वास्थ्य परीक्षणपछि उनलाई हिरासतमा राखिने छ। तर कुन हिरासतमा राख्ने भन्ने तय भइसकेको छैन।
रायमाझी वैशाख २० गतेदेखि फरार थिए। त्यसै साँझ उनका छोरा सन्दीपलाई भने प्रहरीले पक्राउ गरेको थियो। छोरो फत्रउा परेको थाहा पाउनासाथ रायमाझी बुटवलबाटै भागेका थिए।
उनलाई ११ दिनपछि प्रहरीले काठमाडौंको बुढानिलकण्ठस्थित उनकै कार्यकर्ताको घरमा लुकेको अवस्थामा फेला पारेको हो।
उनलाई प्रहरीले शनिबारदेखि नै ट्रयाक गरेको थियो। प्रहरी उच्च स्रोतका अनुसार उनी मध्यराति काठमाडौं छिरेका थिए। त्यसपछि उनको खोजिका लागि प्रहरी महानिरीक्षकले विशेष टोली परिचालन गरेका थिए।
नेपाली नागरिकलाई मोटो रकम लिएर भुटानी शरणार्थी बनाएर अवैध रुपमा पूर्नवासका लागि अमेरिका पठाउने प्रकरणमा रायमाझीको प्रत्यक्ष सहभागिताको प्रमाण प्रहरीले भेटेको हो ।
अर्घाखाँचीबाट निर्वाचित सांसद रायमाझीमाथि नेपालीलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै रकम करोडौं रकम असुल गरेको आरोप छ।
उनलाई २७ वैशाखमा एमालेले पार्टीबाट निलम्बन गरेको थियो। टोपबहादुर पक्राउ परेसँगै यस प्रकरणमा पक्राउ पर्नेको संख्या १३ पुगेको छ।
यसअघि पूर्वगृहमन्त्री एवं नेपाली कांग्रेसका नेता बालकृष्ण खाण र उनका सहयोगी नरेन्द्र केसी, पूर्वगृहसचिव एवं उपराष्ट्रपति कार्यालयका बहावाला सचिव टेकनारायण पाण्डे, तत्कालीन गृहमन्त्री रामबहादुर थापा ‘बादल’ का सुरक्षा सल्लाहकार इन्द्रजित राईसहित १२ जना पक्राउ परिसकेका छन्।








