प्रसाईँको दाबी- नेपालमा चाँडै अमेरिकी सेना आउँदैछ

काठमाडौँ । मेडिकल व्यवसायी दुर्गा प्रसाईंले नेपालमा चाँडै अमेरिकी सेना आउन लागेको बताएका छन् । शनिबार काठमाडौँकाे परिस डाँडामा पत्रकार सम्मेलन गरी उनले यस्तो दाबी गरेका थिए ।
उनले यहाँका नेताहरूले देश बेचिसकेको र देश बेचेको पैसा दुबई लगायतका विभिन्न मुलुकमा आफ्ना कर्मचारीहरूको नाममा ट्रान्सफर गर्ने गरेको बताए । उनले नेपालका बैंकहरूले ३३ किलो सुनको पैसा दुबईको एस्कोडा ट्रेडिङ कन्सर्ट भन्ने कम्पनीमा हुण्डाइमार्फत् वैधानिक रूपमा पठाएको प्रमाण आफूसँग रहेको जिकिरसमेत गरे ।
व्यवसायी प्रसाईंले अहिलेसम्म नेताहरूले देशबाट ३२ खर्ब रुपैयाँ विदेशी बैंकमा पठाएको पाइएको पनि बताए । उनले भने, ‘३२ खर्ब रुपैयाँ यो देशबाट पलायन भएको छ। मैले जुन माग राखेँ, अहिले एमालेले पनि त्यही माग राख्यो होइन? संघीयता खारेज गर्नुपर्छ भन्ने । दुर्गा प्रसाईं सय कदम अघि रहेछ नि त यी राजनीतिज्ञभन्दा । यहाँ अब अमेरिकी सेना छिटै आउँदैछन् ।’
व्यवसायी प्रसाईंले जनताले नेताहरूलाई कारबाही गर्ने अभियान सञ्चालन नगरे देशले कहिल्यै सुख नपाउने पनि बताए ।








