एमाले केन्द्रीय कमिटीमा समूहगत छलफल

काठमाडौं । नेकपा एमालेको केन्द्रीय कमिटी बैठकमा पेस भएका प्रतिवेदनमाथि समूहगत छलफल हुने भएको छ । बिहीबारको बैठकमा मिसन ग्रासरुट अभियानबारे प्रदेशगत रूपमा तयार पारिएका प्रतिवेदन प्रस्तुत गरिएको थियो ।
पार्टी अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदन तथा चार निकाय र दुई गैरभौगोलिकसहित नौ प्रदेश कमिटीले मिसन ग्रासरुट अभियानसम्बन्धी प्रतिवेदन पेस गरेका थिए । बैठकमा ती प्रतिवेदनहरुमाथि समूहगत छलफल सुरु हुने महासचिव शंकर पोखरेलले जानकारी दिए । प्रतिवेदनहरुमाथि बिहान ८ देखि १२ बजेसम्म आठ समूहमा छलफल गर्ने कार्यतालिका बनाइएको छ ।
समूहगत छलफल मिसन ग्रासरुट अभियानको निष्कर्षको आधारमा आगामी दिनमा कसरी कार्ययोजना बनाएर अघि बढ्ने भन्ने विषयमा केन्द्रित हुने महासचिव पोखरेलले जानकारी दिए । समूहगत छलफलपछि प्रदेश अध्यक्षहरुले सुझावहरु प्रस्तुत गर्ने छन् ।
प्रदेश अध्यक्षहरुबाट प्राप्त सुझावका आधारमा स्थायी कमिटी बैठकले आगामी कार्ययोजनाको प्रस्ताव तयार गर्नेछ । बाँकी रहेका प्रतिवेदन आजै प्रस्तुत गरिनेछ । बिहीबारदेखि सुरु भएको बैठक तीन दिनसम्म चल्नेछ ।








