सांसदहरु भन्छन्– प्रधानमन्त्रीको परीक्षाको सुरू भयाे

काठमाडौँ । नेकपा(एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले नक्कली भुटानी शरणार्थी प्रकरणको छानबिनमा प्रधानमन्त्रीले खुट्टा कमाउनु नहुने बताएका छन् ।

सोमवार प्रतिनिधि सभा बैठकपछि सञ्चारकर्मीहरुसँग संक्षिप्त कुराकानी गर्दै अध्यक्ष नेपालले नक्कली भुटानी शरणार्थी प्रकरणको छानबिनमा प्रधानमन्त्रीले खुट्टा कमाउनु नहुने बताएका हुन् । उनले प्रधानमन्त्रीको परीक्षाको बेला आएको बताए । सो प्रकरणमा आफूहरुको पूरा साथ, सहयोग रहने उनले उल्लेख गरे ।

उनले भने ‘देशको सबभन्दा मुख्य समाचार भनेको भ्रष्टाचार नै हो । भ्रष्टाचारलाई जबसम्म हामी नियन्त्रण गर्दैनौँ भ्रष्टाचारीलाई जबसम्म कारबाही गर्दैनौँ । तबसम्म सुशासनको प्रत्याभुति गर्न सकिँदैन । भ्रष्टाचारको रोगबाट यो देशलाई र प्रणालीलाई जोगाउनु पर्छ । त्यसको निम्ति प्रधानमन्त्रीजीले खुट्टा नकमाईकन, दृढताकासाथ अगाडी बढ्नुपर्छ । उहाँको जाँचको बेला पनि आएको छ । हाम्रो पूरा साथ सहयोग रहन्छ । सत्ता सहयात्री दलहरुले पनि भनिसकेका छन्, कुनैपनि दोषी व्यक्तिहरु, भ्रष्ट व्यक्तिहरु नउम्किउन नछुटुन् । तर निर्दोषहरु अनावश्यक रुपमा बदनाम गर्ने कामहरु गर्ने र उनीहरुलाई अपमान गर्ने काम नहोस् ।’

नेकपा(माओवादी केन्द्र)का सांसद माधव सापकोटाले प्रतिनिधि सभा बैठकमा स्वतन्त्र सांसद डा. अमरेशकुमार सिंह अर्धनग्न हुनु अशोभनिय भएको टिप्पणी गरे । उनले सांसद सिंह गैरजिम्मेवार भएर प्रश्तुत हुनुभएको बताए ।

उनले भने ‘उहाँले आफूलाई नग्न रुपमा प्रश्तुत गर्नुभयो त्यो शोभनिय भएन भन्ने मेरो बुझाइ र टिप्पणी छ । किनभने आफ्ना कुराहरु तर्कसंगत ढंगले त्यहाँ राख्ने, अस्वभाविक प्रकारका हर्कतहरु गर्न नपाइने भनेर नियमावलीमा व्यवस्था गरेका छौँ । अमरेशकुमार सिंह त नियमावली ड्राफ्ट गर्ने कमिटीमै हुनुहुन्थ्यो । त्यसैले जे हर्कत अगाडी आयो संसदले त सिंगै राष्ट्रलाई जागृत गर्ने, आशावादी भावना पैदा गर्ने, जिम्मेवारी ढंगले प्रश्तुत हुने र सिंगै नागरिकलाई समेत जिम्मेवार बनाउन भुमिका खेल्नुपर्ने झन गैरजिम्मेवार भएर प्रश्तुत हुनुभयो । यसले राम्रो गरेन आगामी दिनमा सच्याउनुपर्छ ।’

राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले सांसद सिंहले अर्धनग्न भएर प्रजातान्त्रिक अधिकार प्रयोग गरेको बताए । उनले विदेशीको सिको गरेर त्यसो गरिएको भन्दै त्यस्तो नगरेको भए राम्रो हुने धारणा राखे । उनले थोरै सांसद भएका दलहरु र स्वतन्त्र सांसदलाई संसदले बोल्न नदिने भनेर अपमान नभएको पनि बताए ।

उनले भने ‘प्रजातन्त्रमा त्यस्तो अधिकार हुन्छ भन्छन् । प्रजातन्त्र भित्रको उहाँले अधिकार प्रयोग गर्नुभएको होला । त्यस्तो राम्रो भएन । त्यो नगरेको भए हुन्थ्यो । कुन देशमा संसदमा त्यस्तो गरेको देख्नुभएको थियो उहाँले यहाँ प्रयोग गर्नुभएको हो । थोरै सांसद भएकालाई बोल्न नदिने भनेर रोकेको छैन संसदले ।’

नेपाली काँग्रेसका सांसद प्रदीप पौडेलले नेपाली काँग्रेस पार्टीलाई सुधार गर्न सक्रिय हुनुपर्ने बेला आएको बताए । उनले अब नेतृत्व रिसाउला भनेर चुप लागेर बस्ने बेला नभएको बताए ।

उनले भने ‘सुधारको अपेक्षा सबैले गरेको स्थिति छ । अब नेतृत्वलाई मर्यादा पुग्दैन कि, अथवा नेतृत्व चिडिन्छ कि, अथवा म जिम्मेवार मान्छे हुँ यो सिस्टमभित्रै बसेर कहिले बदलिन्छ पर्खेर बस्नुपर्छ भन्ने स्थिति अब हुनुहुँदैन । अब सुधार गर्न नै सक्रिय हुनुपर्छ भन्ने मलाई लाग्छ ।’

स्वतन्त्र सांसद डा. अमरेशकुमार सिंहले आफूलाई संसद बैठकमा भ्रष्टाचारको सम्बन्धमा बोल्न नदिएका कारण प्रतिरोधस्वरुप अर्धनग्न बनेको बताए । उनले आफू अर्धनग्न हुनु प्रतिरोधको उच्चतम बिन्दुको रुपमा अथ्र्याए ।

उनले भने ‘संसदको प्रतिरोधको पराकाष्ठा थियो । उच्चतम बिन्दु भन्छ नि । म स्वतन्त्र सांसद मैले भ्रष्टाचारको विषयमा बोल्न खोजेको । भुटानी शरणार्थीको भ्रष्टाचारको अनुसन्धान भइरहेको छ, त्यो अनुसन्धानले ठूला ठूला नेता, सरकारका मान्छेहरु प्रभावित गर्न खोजिरहेको छ । त्यो प्रभावित नहोस् । दोषिलाई कारबाही गरियोस् । निर्दोष नफसाइयोस् ।’

उनले नक्कली भुटानी शरणार्थी प्रकरणमा सत्तापक्षिय ठूला नेताहलाई बचाउन खोजिएको र मुद्दालाई प्रभावित पार्न खोजिएको बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three − two =