अमरेशकुमारको प्रतिक्रिया- ‘भ्रष्टाचारको विषयमा बोल्न नदिएपछि योबाहेक विकल्प थिएन’

काठमाडौँ । प्रतिनिधिसभा बैठकमै लुगा फुकालेका सांसद अमरेशकुमार सिंहले आफूले अन्तिम विकल्प प्रयोग गरेको प्रतिक्रिया दिएका छन् । सोमबारको बैठकमा लुगा फुकालेर अर्धनग्न भएका उनले यस्तो प्रतिक्रिया दिएका हुन् । बैठकबाट बाहिरिएपछि उनले भने, ‘भ्रष्टाचारको विषयमा मलाई बोल्न समय दिइएन । यो बाहेक मेरो विकल्प थिएन ।’
बैठकमा सांसदहरूलाई बोल्न विशेष समय नछुट्याएपछि केही सांसद उठेर विरोध जनाएका थिए । सिंहले उठेकै क्रममा लगाइराखेको कपडा खोलेर विरोध जनाएका हुन् । सभामुख देवराज घिमिरेले चेतावनी दिएपनि उनले सर्ट लगाउन मानेका थिएनन् ।
उनको व्यवहारलाई अशिष्ट, अश्लील र असभ्य भन्दै सभामुख घिमिरेले संसद् नियमावलीको नियम ३० अन्तर्गत कारबाही गर्ने पनि चेतावनी दिएका थिए । प्रतिनिधिसभा नियमावलीको नियम ३० मा बैठकमा अभद्र व्यवहार गर्ने सदस्यलाई आफ्नो व्यवहार नियन्त्रण गर्न सभामुखले चेतावनी दिन सक्ने व्यवस्था छ । चेतावनी पाएपछि त्यस्तो सदस्यले आफ्नो व्यवहारमाथि तुरुन्त नियन्त्रण गर्नु पर्ने नियमावलीमा उल्लेख छ ।









