रास्वपाको आगामी ‘प्लान’ के छ ?

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । पार्टी केन्द्रीय कार्यालय काठमाडौँ, वसुन्धरामा शुक्रबार बसेको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको हो ।
१० पुसमा सरकारमा सहभागी हुँदा रास्वपाले भनेबमोजिम विगतका जुनसुकै कालखण्डका भ्रष्टाचारको फाइल खोल्ने नीति तथा कार्यक्रम रहेकोमा पछिल्लोपटक सो बुँदालगायत सुशासनका बुँदा हटाएको निष्कर्षसहित समर्थन फिर्ता लिएको छ । बैठकपछि रास्वपा सभापति रवि लामिछानेले अब सरकारले संसद्मा रचनात्मक र बलियो प्रतिपक्ष देख्ने बताएका छन् । जनभावनाअनुसार रचनात्मक प्रतिपक्षमा रहने म्यान्डेट प्राप्त भएकाले आफूहरूले प्रतिपक्षमा बस्ने निर्णय गरेको उनको भनाई छ ।
सभापति लामिछानेले उपनिर्वाचनको म्यान्डेट र शुभचिन्तकहरूको चाहनाअनुसार प्रतिपक्षमा बस्ने निर्णय पार्टीले गरेको बताए । ‘यसपटकको उपनिर्वाचनले दिएको म्यान्डेट र शुभचिन्तकले सशक्त प्रतिपक्षी बन्ने थियो । अब देशभर संगठन विस्तारमा ध्यान दिन्छौं,’ उनले भने ।
आफूहरूले रचनात्मक प्रतिपक्ष कस्तो हुन्छ ? भन्ने पनि देखाउने उनको दाबी छ । ‘रचनात्मक प्रतिपक्षी हुँदा समाज र राष्ट्रको मुद्दा कस्तो हुन्छ हामी देखाउनेछौं,’ उनले भने, ‘सरकार बनाउने खेल र गिराउने खेलमा लाग्दैनौं । हामीले अस्थिरतातर्फ लाग्दैनौं । सत्तामा जाने विषयमा एउटा मापदण्डभन्दा तल जाँदैनौं ।’








