अभिषेक र अभिलाषालाई टेनिस उपाधि

काठमाडौं । अभिषेक बाँस्तोला र अभिलाषा विष्टले नवौं सिटिजन्स बैंक खुला टेनिस प्रतियोगिताको उपाधि जितेका छन् । प्रतियोगिताको मुख्य स्पर्धा सिंगल्सको पुरुषमा अभिषेक र महिलामा अभिलाषा च्याम्पियन बनेका हुन् ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को टेनिस कोर्टमा भएको पुरुष फाइनलमा अभिषेकले ऋतिक राणालाई ६–० र ६–१ को सोझो सेटमा सहजै पराजित गरे ।
सिटिजन्स बैंकको मुख्य प्रायोजनमा काठमाडौं जिल्ला टेनिस संघद्वारा आयोजित प्रतियोगिताअन्तर्गत महिलाको उपाधि भिडन्तमा राष्ट्रिय च्याम्पियन अभिलाषाले माहिका राणालाई सीधा सेटमा ६–४ र ६–४ ले हराइन् ।

पुरुष÷महिला दुवैमा पहिलो हुनेले ५० हजार र दोश्रोले २५ हजार नगद पुरस्कार पाए ।
भेट्रान ४५ वर्षमाथि पुरुष डबल्समा चन्द्र शाही र डेगेन्द्र श्रेष्ठको जोडीले फाइनलमा सुदर्शन विष्ट र राजु क्षेत्रीको जोडीलाई ५–७, ६–१ र १०–५ ले पाखा लगाउदै पहिलो भए । ५५ वर्षमाथि पुरुष डबल्समा कृष्णराज घले र सुवर्ण धाक्वाको जोडी च्याम्पियन बने । उक्त जोडीले फाइनलमा कमल थापा र छ्याम्बा डुन्डुपको जोडीमाथि ६–० र ६–२ को सहज जित दर्ता गर्याे ।

भेट्रान ५५ वर्षमाथि पुरुष सिंगल्समा जीवन घिमिरे शीर्ष स्थानमा रहे । जीवनले फाइनलमा जित प्रधानलाई ६–२ र ६–३ ले हराए । ४५ वर्षमाथि पुरुष सिंगल्सको स्वर्ण भिडन्तमा महेश श्रेष्ठले बाजी मारे । उनले फाइनलमा रोहित सुनुवारलाई ६–४, ४–६ र १०–५ ले पन्छाए ।

विभिन्न १० स्पर्धा समावेश प्रतियोगितामा यसअघि मिक्स डबल्समा प्रदीप खड्का र माहिका राणा, ३५ वर्षमाथि पुरुष सिंगल्समा कमलबहादुर भण्डारी, ३५ वर्षमाथि पुरुष डबल्समा पूर्व राष्ट्रिय च्याम्पियन जितेन्द्र परियार र सुवर्ण धाक्वाको जोडी तथा ६५ वर्षमाथि पुरुष सिंगल्समा कमल थापा पहिलो भएका थिए ।

हरेक स्पर्धाको शीर्ष तीन स्थान हात पार्नेले नगद पुरस्कार हात पारे । कुल ५ लाख ४२ हजार ५ सय रुपैयाँ नगद पुरस्कार वितरण गरिएको थियो ।
विजेतालाई राखेपका सदस्य–सचिव टंकलाल घिसिङ, सिटिजन्स बैंकका अध्यक्ष राजनसिंह भण्डारी, नेपाल टेनिस संघकी अध्यक्ष ज्योति राणा, नेपाल टेनिस संघका महासचिव समेत रहेका आयोजक काठमाडौं जिल्ला टेनिस संघका अध्यक्ष मनोहरदास मुललगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे । बैशाख १२ गतेदेखि सुरु भएको प्रतियोगितामा १ सय ५२ खेलाडी सहभागी थिए । त्यसमा सबै भन्दा बढी उमेरका ७८ वर्षीय मुरारीभक्त माथेमा रहे ।

चक्रबहादुर ठकुरी स्मृति तेक्वान्दो शुक्रबारदेखि

श्री सुन्दरी माइ तेक्वान्दो डोजाङ, नेपालको आयोजनामा प्रथम चक्रबहादुर ठकुरी स्मृति जिल्लास्तरीय तेक्वान्दो प्रतियोगिता शुक्रबारदेखि हुने भएको छ ।

गोकर्णेश्वर नगरपालिकाको प्रायोजनमा हुने प्रतियोगितामा विभिन्न २० डोजाङका २ सय ६० पुरुष र २ सय महिला गरी जम्मा ४ सय ६० खेलाडीको सहभागिता रहने आयोजक डोजाङका प्रमुख एवं प्रतियोगिता संयोजक सुवासचन्द्र गौतमले जनाएका छन् । सहभागी खेलाडीलाई दर्ता शुल्क लाग्ने छैन ।

गेरोगीमा २१ तथा पुम्से (एकल) मा २ गरी जम्मा २३ स्वर्णका लागि प्रतिस्पर्धा हुनेछ । गोकर्णेश्वर नगर खेलकुद विकास समिति तथा गोकर्णेश्वर नगर तेक्वान्दो विकास समितिको संयोजनमा हुन लागेको प्रतियोगिताको उत्कृष्ट पुरुष÷महिला खेलाडीलाई जनही ५ हजार नगद पुरस्कारसहित ‘डोबोक’ प्रदान गरिने छ ।

दुईदिने प्रतियोगिता सञ्चालन गर्न करिब ५ लाख रुपैयाँ खर्च हुने आयोजकले जनाएको छ । खेलहरु गोकर्णेश्वर नगरपालिका वडा १ को सुन्दरीजलस्थित ओख्रेनी माविमा खेलाइने छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *