राष्ट्रियसभा अध्यक्ष तिमिल्सिनासँगै वामदेव गौतम पनि रुस प्रस्थान

काठमाडौँ । राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासहितको ८ सदस्यीय प्रतिनिधि मण्डल रुस प्रस्थान गरेको छ । बुधवार बिहान अध्यक्ष तिमिल्सिनासहित राष्ट्रिय सभा सदस्य वामदेव गौतम, रमेशजंग रायमाझी, दिलकुमारी थापा रावल पार्वती लगायतको ८ सदस्यीय टिम रुस प्रस्थान गरेको हो ।
प्रस्थान गर्नुअघि सञ्चारकर्मीहरूसँगको कुराकानीमा अध्यक्ष तिमिल्सिनाले भ्रमणमा उच्चस्तरीय भेटघाट र दुई देशका संसदबीच सम्झौता हुने बताए । उनले दुई देशको संसदीय गतिविधिको बारेमा जानकारी गराउने, भ्रमणको आदान प्रदान गर्ने, संसदलाई प्रभावकारी बनाउन एक अर्काबीच सिक्ने कुराहरू उल्लेख हुने बताए । भ्रमणमा ९ जना उच्चस्तरीय व्यक्तित्वहरूसँग भेट गर्ने कार्यसूची रहेको उनको भनाई छ ।
भ्रमण टोलीमा रहेका राष्ट्रियसभा सदस्य वामदेव गौतमले दुई देशका संसदबीचको सम्बन्ध सुदृढ गर्ने सन्दर्भमा भ्रमण हुन लागेको बताए । उनले रुसले राष्ट्रिय सभाको प्रतिनिधित्व हुनेगरी उच्चस्तरको भ्रमण पहिलो पटक बोलाएको बताए । गौतमले आफूहरू नेपाली जनताको सद्भाव बोकेर रुस प्रस्थान गर्न लागेको भन्दै नेपाली जनता, नेपाल सरकार, राष्ट्रिय सभा संघीय संसद्को सद्भावसमेत रुसमा व्यक्त गर्ने बताए । भ्रमण पूर्णरुपमा सफल हुने उनको विश्वास छ ।
राष्ट्रियसभा अध्यक्षको नेतृत्वमा रुस प्रस्थान गरेको ८ सदस्यीय भ्रमणकारी टोली वैशाख १२ गते दिउँसो स्वदेश फर्किने कार्यतालिका रहेको छ ।








