बागमतीमा जथाभाबी फोहोर विसर्जन गर्ने अभ्यासलाई रोक्नुपर्छ : मन्त्री गुरुङ

काठमाडौँ । सहरी विकासमन्त्री सीता गुरुङले बागमती नदीलाई स्वच्छ, सफा र हराभरा बनाउन सफाई र सौन्दर्यकरण अभियान चलाएर मात्रै पर्याप्त नहुने बताएकी छिन् ।
उनले बागमती सफा पार्न आसपासमा बस्न नागरिकले मन पनि सफा राख्नुपर्ने बताइन् । अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिको २९ औँ बार्षिकोत्सवलाई सम्बोधन गर्दै मन्त्री गुरुङले बागमतीमा जथाभाबी फोहोर विसर्जन गर्ने अभ्यासलाई रोक्नुपर्ने बताइन् ।
‘हामीले बागमती सफाइ गर्न, स्वच्छ पार्न अभियान थालेको २८ वर्ष बितिसक्यो, वर्षौँदेखि हामी हरेक साता बागमतीबाट फोहोरको डङ्गुर झिकेर फ्याँकिरहेका छौँ, तर अझै सफा भइरहेको छैन,’ मन्त्री गुरुङले भनिन्, ‘हामीले सधैँ काम गर्ने, सरकारले लगानी गर्ने, तर परिणाम नआउने हुनुहुँदैन । बागमतीमा हामीले सफाइ अभियान चलायौँ, तर फोहोर फ्याँक्ने चलनलाई रोकेनौँ । त्यसैले सबैभन्दा पहिले हामीले मन र मस्तिष्कबाट सफाइ गर्नुपर्ने हुन्छ । जथाभाबी फोहोर गर्न, फ्याल्न डराउनुपर्छ ।’
मन्त्री गुरुङले बागमती सभ्यता विकास थालनीको २९ औँ वर्ष लागेको भन्दै अबको वर्षलाई परिणाम देखाउने वर्ष बनाउन आग्रह गरिन् ।
उनले बागमती नदी आसपासमा बसोबासका सन्दर्भमा देखिएको समस्याका विषयमा सरकार गम्भीर रहेको बताइन् । ‘हरेक नागरिकको व्यवस्थित बसोबास हामीले संविधानमा ग्यारेन्टी गरेका छौँ । आवासविहीनलाई आवासको सुविधा दिनु सरकारको दायित्व हो,’ उनले भनिन्, ‘हामीले यो कुरालाई पनि भुल्नहुँदैन ।’








