प्रत्येक विद्यालय र टोलमा खेल इकाई र खेल मैदान बनाउनुपर्छ : प्रधानमन्त्री प्रचण्ड

काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपाललाई विश्वकै ‘स्पोर्टर्स् हब’ का रूपमा विकास गर्न सकिने बताए ।
शनिबार बिहान राष्ट्रिय खेलकुद परिषद्ले आयोजना गरेको खेलकुद पूर्वाधार नीति सम्वाद २०७९ लाई सम्बोधन गर्दै प्रधानमन्त्रीले खेलकुद क्षेत्रको विकासका निम्ति खेल क्षेत्रलाई प्राथमिकतामा राखिने बताए ।
प्रधानमन्त्रीले भने, ‘पछिल्लो समय मैले खेल क्षेत्रलाई उच्च प्राथमिकता दिएको छु। खेलाडीहरूलाई पुरस्कृत गर्ने, मैदानमा नै पुगेर खेलाडीहरुको मनोबल बढाउने, खेल क्षेत्रसँग सम्बन्धित विषयहरू सहभागी हुने जुन महत्त्व मैले यस क्षेत्रलाई दिएको छु। खेल क्षेत्रमा नेपाललाई विश्वकै हब बनाउन सकिन्छ भन्ने ठानेर नै दिएको हुँ।’
‘संविधानले केन्द्र, प्रदेश र स्थानीय सरकारको स्पष्ट कार्यक्षेत्र तोकेको छ। तर त्यसअनुसार संघीय ऐनहरू बनिसकेका छैनन्। सरकारको ध्यान छिटोभन्दा छिटो संघीय ऐनहरूलाई पूर्णता दिनेमा छ। संघीय निजामती ऐन लगायतका ऐनहरू छिटो पारित गरेर संविधानको व्यवस्थित कार्यान्वयनमा जान्छौँ’ प्रधानमन्त्रीले भने ।
प्रधानमन्त्री प्रचण्डले भने, ‘प्रत्येक विद्यालय र प्रत्येक टोलमा खेल इकाई र खेल मैदान बनाउनुपर्छ। यसरी मात्र तल्लो तहदेखि नै खेलाडी उत्पादन र विकास गर्न सकिन्छ । पछिल्लो समय नेपालले खेलकुद प्रतियोगितामा जसरी सफलता हासिल गरेको छ, खेलाडी उत्पादन, पूर्वाधार विकास र खेलाडीहरूको वृत्ति विकासमा ध्यान दिन सकेमा नेपालले खेल क्षेत्रमा ठूलो फड्को मार्नेछ। यसका लागि नेपाल सरकारको तर्फबाट आवश्यक सहयोग हुनेछ।’
कार्यक्रममा राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङ, बागमती प्रदेशका खेलकुद मन्त्री कुमारी मोक्तान, कोशी प्रदेशका खेलकुद मन्त्री बुद्धिकुमार राजभण्डारी, पोखरा महानगरपालिकाका मेयर धनराज आचार्य लगायतले पूर्वाधार विकासमा तीन तहका सरकारको स्पष्ट नीति र सहकार्यमा जोड दिनुभएको थियो ।








