क्रिकेटर करणसहित ४ खेलाडीलाई प्रदेश सरकारद्वारा जनही ५० हजार पुरस्कार

पोखरा । क्रिकेट खेलाडी करण केसीसहित ४ खेलाडीलाई गण्डकी सरकारले पुरस्कार सहित सम्मान गरेको छ । जनही ५० हजार नगद दिएर सम्मान गरिएको हो । नेपाललाई एक दिवसीय विश्वकप प्रतियोगिताको छनोट खेलसम्म पुर्‍याउन योगदान गरेको भन्दै करणलाई सम्मान गरिएको हो ।

यस्तै, यु–१९ नेपाली क्रिकेट टोलीका अर्जुन कुमाल, सुवास भण्डारी र दीपक डुम्रेलाई पनि जनही ५० हजार दिइएको छ । करण बागलुङका हुन् भने गुल्मीमा जन्मिएका कुमालले गण्डकी प्रदेशबाट खेलिरहेका छन् । सुवास पनि बागलुङकै हुन् भने डुम्रे स्याङ्जाका स्थायी बासिन्दा हुन् । सम्मानपछि केसीले प्रदेशमै व्यवस्थित क्रिकेट मैदान बनाइदिन सरकारसँग आग्रह गरेका छन् ।

‘गण्डकीबाटै ४/५ जना खेलाडी खेलिरहेका छन् । अरू खेलाडी पनि उत्पादन भइरहेका छन्,’ उनले भने, ‘तर अभ्यासका लागि भारत जानुपर्छ । यो बाध्यता सरकारले अन्त्य गरिदियोस् । प्रदेशमै व्यवस्थित मैदान बनोस् ।’

मुख्यमन्त्री खगराज अधिकारी र सामाजिक विकास मन्त्री पञ्चराम गुरुङले उनीहरूलाई नगद सहित सम्मान गरेका हुन् । अधिकारीले खेल क्षेत्रको विकासका लागि आफूहरू तत्पर रहेको प्रतिबद्धता जनाए । सामाजिक विकास मन्त्री गुरुङले पोखरामा वैकल्पिक रङ्गशालाका निम्ति काम भइरहेको सुनाए । उनले दैनिक खेलाडीहरू विदेशिनुपर्ने बाध्यताको अन्त्य गर्न प्रदेश सरकारले विशेष नीति बनाउने दाबी गरेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *