एमालेमा गुमनाम बेदुराम, नेकपा एसका महासचिवदेखि मन्त्री हुने लाइनमा !

६८ वर्षीय बेदुराम बन्लान् त पहिलो पटक मन्त्री ? सचिवालय भन्छ, ‘उहाँ मन्त्री बन्ने फाइनल जस्तै भएको छ’

काठमाडौँ । नेकपा एकीकृत समाजवादी ४ मंसिरको निर्वाचनपछि पहिलो पटक सरकारमा जाँदै छ । निवर्तमान महासचिव तथा उपाध्यक्ष बेदुराम भुसालको नेतृत्वमा उक्त पार्टी सरकारमा जान लागेको हो । पार्टीले ३ मन्त्रीको दाबी गरिरहेको भए पनि २ मन्त्री र १ राज्यमन्त्रीमा चित्त बुझाउनु पर्ने अवस्था सत्ता गठबन्धनमा सिर्जना भएको छ ।

भुसालको नेतृत्वमा पार्टीका सचेतक प्रकाश ज्वाला र भानुभक्त जोशी मध्ये एक जना गरी २ जना मन्त्री पठाउने उक्त पार्टीको तयारी छ । यस्तै, राज्यमन्त्रीमा धनबहादुर बुढालाई पठाउने चर्चा छ ।

बुधबार बसेको केन्द्रीय सचिवालय बैठकमा पनि एसले तीन मन्त्रालय पाउनुपर्ने अडान कायम रहेको पार्टीका उपमहासचिव जगन्नाथ खतिवडाले बताए । तर गठबन्धनभन्दा बाहिर रहेको राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपालाई पनि सहभागी गराउनु पर्ने भएकाले चाहेको जति मन्त्रालय एसलाई मिल्ने अवस्था छैन ।

नेकपा एसका एक नेताका अनुसार तीन मन्त्रालय एसले पाए पार्टी उपाध्यक्ष राजेन्द्र पाण्डे पनि मन्त्री बन्ने लाइनमा थिए । तर उनी बागमती प्रदेशका पूर्व मुख्यमन्त्री भएकाले एसले यो पटक बेदुराम भुसाललाई नै मन्त्री बनाउन जोड दिएको छ । यस्तै आजको बैठकमा उपाध्यक्ष जयन्ती राईलाई पनि मन्त्री बनाउनुपर्ने चर्चा चलेको थियो । राई महिला तथा अनुभवी नेता भएकाले उनलाई मन्त्री बनाउनुपर्ने आवाज केही नेताले उठाएका छन् ।

भुसालको नेतृत्वमा एस सरकारमा जाने कुरा फाइनल हो : सचिवालय

अन्य मन्त्रीहरू को-को हुने भन्ने टुङ्गो नभएको तर पार्टी बेदुराम भुसालको नेतृत्वमै सरकारमा जाने कुरा फाइनल भएको छ । पार्टीमा कुनै परिवर्तन नभए बेदुराम भुसालले यो पटक आफ्नो राजनीतिक इतिहासमै पहिलो पटक मन्त्री बन्ने अवसर पाउने नेकपा एसका एक नेताले बताए ।

‘नयाँ पार्टी खोल्न महत्वपूर्ण भूमिका निर्वाह गरेका, लामो समय कम्युनिस्ट आन्दोलनमा जेल नेल भोगेका अनुभवी तथा पुराना नेता भएकाले माधव नेपालले पनि उनलाई यो पटक मन्त्री बन्ने अवसर दिने कुरा छ,’ ती नेताले भने, ‘उहाँले आजसम्म कुनै मन्त्रालयको जिम्मेवारी सम्हाल्ने मौका पाउनु भएको छैन । उहाँलाई अवसर दिनुपर्छ भन्ने माग छ । उहाँले महासचिव छाडेको पनि यसकै लागि हो ।’

भुसाल २०५८ र २०७६ मा गरी दुई पटक राष्ट्रियसभा सदस्य बनेका छन् । उनी २०६३ मा अन्तरिम विधायकसमेत रहेका थिए । हालसम्म उनले न त प्रत्यक्ष चुनाव लडेर जितेका का छन् । न उनी प्रतिनिधि सभाको सदस्य नै भएका छन् । उनी एमालेमा हुँदा गौण र जिम्मेवारीविहीन थिए । एमाले अध्यक्ष ओलीको रोजाइमा कहिल्यै पर्न नसकेका उनले नेकपा विभाजनपछि माधव नेपालसँग मिलेर नेकपा एस गठनमा भूमिका खेले ।

को हुन् डा. बेदुराम ?

भुसाल हाल राष्ट्रियसभा सदस्य छन् । उनी सभामा नेकपा एसको तर्फबाट संसदीय दलको नेता छन् । राष्ट्रिय सभामा उनको अब तीन वर्षको कार्यकाल बाँकी छ ।

लामो समयदेखि एमाले स्कुल विभाग सम्हालेर बसेका भुसालले एमालेमा कुनै सार्वजनिक लाभको पद प्राप्त गरेका थिएनन् । तर नेकपा एकीकृत समाजवादी गठनमा सहयोग गरेर उनी महासचिव बन्ने अवसर पाए । त्यसपछि नेपाली राजनीतिक वृत्तमा उनको चर्चा चुलिन पुगेको थियो ।

नेकपा एस संस्थापक महासचिव बनेका भुसाल चैत ५ गते उपाध्यक्षको जिम्मेवारीमा पदोन्नती भए । त्यसपछि महासचिवको जिम्मेवारी भने एमाले छाडेर मंसिर ४ को निर्वाचनमा स्वतन्त्र उम्मेदवार बनेर पराजित भएका घनश्याम भुसाललाई जिम्मेवारी दिइएको थियो ।

एमालेको नवौँ महाधिवेशनमा सचिवमा पराजित भुसाल एमाले र माओवादी केन्द्र मिलेर बनेको नेकपामा स्थायी कमिटी सदस्य बन्ने मैका पाएका थिए ।

१९ वर्षको उमेरमा ८ कक्षा पढ्दै गर्दा जेल परेका भुसालले जेलबाटै २६ वर्षको उमेरमा एसएलसी पास गरे । साढे १२ वर्ष जेल बस्दा उनले एसएलसीदेखि एमएसम्मको पढाइ पूरा गरे । जेलमा पढाइको व्यवस्था थिएन । आफैँ पढेर उनले एमए उत्तीर्ण गरेका थिए भने २०७६ सालमा त्रिभुवन विश्वविद्यालयबाट जनताको बहुदलीय जनवादको ऐतिहासिक विकासक्रममा विद्यावारिधि गरेका थिए ।

२०११ साल असार १५ मा अर्घाखाँचीमा जन्मिएका भुसालले १६ वर्षको उमेरदेखि सक्रिय राजनीतिमा लागेका थिए । उनी २०४७ सालमा तत्कालीन मालेको जिल्ला सचिव हुँदै नेतृत्वमा आएका हुन् ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *