मन्त्रिपरिषद्लाई पूर्णता दिन सत्ता साझेदार १० दलको बैठक सुरु 

काठमाडौँ । सत्ता साझेदार १० दलको बैठक सुरु भएको छ । बैठक प्रधानमन्त्रीकाे सरकारी निवास बालुवाटारमा सुरु भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

बैठकमा मन्त्रिपरिषद् विस्तारबारे छलफल गर्ने कार्यतालिका छ । मन्त्रिपरिषद् विस्तार गर्न सोमबार पनि बैठक बसेको थियो । त्यसअघि पनि पटक पटक बैठक बसेको भए पनि मन्त्रालय भागबण्डाबारे तलहरू सहमतिमा पुग्न सकेका छैनन् ।

पहिला आआफ्ना पार्टीमा छलफल गरेर बुधबार १० दलको बैठक बस्ने निर्णय सोमबारको बैठकले गरेको थियो ।

२६ फागुनमा विश्वासको मत लिएका पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सत्ता गठबन्धनमा रहेका दलहरुबीच मन्त्री बन्ने आकाङ्क्षी धेरै भएपछि हालसम्म पनि मन्त्रीपरिषद् विस्तार गर्न नसकेको हो ।

प्रधानमन्त्रीलाई विश्वासको मत दिएको राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा पनि सरकारमा जाने इच्छा देखाइरहेकाले भागबन्डा मिलाउन समस्या भइरहेको बुझिएको छ । सोमबार प्रधानमन्त्रीसमेत रहेका माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, कांग्रेस सभापति शेरबहादुर देउवा र एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपालले त्रिपक्षीय वार्ता गरी आज गठबन्धनको बैठक राख्ने निर्णय गरेका थिए ।

बुधबारको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र उपसभापति पूर्णबहादुर खड्का, जनता समाजवादी पार्टी जसपाका राजेन्द्र श्रेष्ठ, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र महासचिव घनश्याम भुसाल, जनमत पार्टीका अध्यक्ष सीके राउत, नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रञ्जिता श्रेष्ठ, लोसपाका अध्यक्ष महन्थ ठाकुर, राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी, नेपाल समाजवादी पार्टीका अध्यक्ष डा.बाबुराम भट्टराई, आमजनता पार्टीका अध्यक्ष प्रभु साहलगायतका नेता सहभागी छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *