चलचित्रमा पात्रलाई पहिचान बनाएका विपिन कार्की

काठमाडाैँ । नेपाली चलचित्रमा नामभन्दा पनि निर्वाह गरेको भूमिकामार्फत चिनिने अभिनेता मध्येका एक हुन्- विपिन कार्की । ‘लूट’, ‘छड्के’, ‘पशुपति प्रसाद’, ‘नाका’, ‘हरि’लगायत चलचित्रमा निर्वाह गरेका चरित्रले पहिचान स्थापित भए तापनि अभिनेता कार्कीलाई ‘जात्रा’पश्चात् दर्शकले चिनेका हुन् ।

‘जात्रै जात्रा’, ‘प्रसाद’, ‘सेल्फी किङ’मार्फत आफूसँगै चरित्रमा भिन्नता ल्याउन सफल अभिनेता कार्की रङ्गमञ्च हुँदै चलचित्रमा आएकाले चरित्र निर्माणमा गम्भीर अन्यभन्दा फरक देखिन्छन् । ‘जात्रा’ शृङ्खलामार्फत अभिनेत्री वर्षा राउतका श्रीमान्‌को भूमिका निर्वाह गरेका अभिनेता कार्कीले ‘के घर के डेरा’ मा पिता बन्ने प्रस्ताव सहजै स्वीकारे ।

‘दर्शकले विश्वास गर्नुहुन्न कि? साजसज्जा गर्नेले राम्रो गर्न सक्नुभएन भनेजस्ता प्रश्न उठेपछि मैले शङ्खेको भूमिका निर्वाह गरेको थिएँ’, अभिनेता कार्कीले भने । यद्यपि निर्माण भएको उक्त चरित्र ‘फूलबारी’मा प्रस्तुत गरे । अवकाश प्राप्त गरेको शिक्षकको भूमिकासँगै उनले उमेरमा आफूभन्दा अग्रज कलाकार दयाहाङ राईको काकाको भूमिका निर्वाह गरे ।

चलचित्र बन्ने समयमा पात्रलाई निर्वाह गर्ने भूमिकाबारे विश्वास नभए पनि प्रदर्शनपश्चात् स्वाभाविक देखियो । ‘चरित्र बाँच्ने कोसिस गर्छु। त्यहाँ म पात्र हुँ । त्यसैले मैले सहजै भूमिका स्वीकार्ने गर्छु’, अभिनेता कार्कीले भने, ‘प्राविधिक कठिनाइले गर्दा आफूले चाहेको चरित्र अझै पर्दामा ल्याउन सकेको छैन । दर्शक पनि बिस्तारै कलाकारभन्दा पात्रसँग जोडिन थाल्नुभएको छ ।’

उनले प्रदर्शनका क्रममा रहेको चलचित्र ‘प्रसाद २’ मा गाउँले बाबुरामको भूमिका निर्वाह गरेका छन् । ‘प्रसाद’कै दोस्रो शृङ्खला भए पनि यसको कथावस्तु फरक रहेको कार्कीले जानकरी दिए । ‘नामको विश्वास धान्ने काम गरेका छौँ । पहिलो शृङ्खला मन पराउनु भएकोलाई निराश बनाउने छैनौँ’, उनले भने ।

जातीय विभेद र महिलालाई हुने दुर्व्यवहारका घटनामा आधारित चलचित्रलाई सुशील पौडेलले लेखेका हुन् । सुदर्शन थापाले निर्देशन गरेको चलचित्रमा केकी अधिकारी, अर्पण थापा, महेश त्रिपाठी, प्रकाश घिमिरे, कमलमणि नेपाललगायतको अभिनय छ । -रासस

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *