प्रधानमन्त्रीले हामीलाई विश्वासको मत माग्नुभएको छैन : राप्रपा

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रधानमन्त्री पुष्पकमल दाहाललाई विश्वासको मत नदिने भएको छ  ।

यसअगाडि सात दलीय गठबन्धनमा रहेको राप्रपाले २६ पुसमा प्रधानमन्त्रीलाई विश्वासको मत दिएर फागुन १३ गते समर्थन फिर्ता लिएको थियो  ।

आइतबार मकालुखबरसँग कुरा गर्दै राप्रपाका  प्रवक्ता मोहन श्रेष्ठले भने, ‘प्रधानमन्त्रीले विश्वासको मत लिनु परेकै हामीले समर्थन फिर्ता लिएर हो । हामीलाई प्रधानमन्त्रीले अहिलेसम्म विश्वासको मत माग्नु भएको पनि छैन हामी दिने पनि छैन । नमागीकन विश्वासको मत दिने हामी कांग्रेस होइन ।’

१० पुसमा प्रधानमन्त्री बनेका प्रचण्ड ६४ दिनमै अल्पमतमा परेको थिए । कारण २६ पुसमा विश्वासको मत दिएको ७८ सिटको एमाले र १४ सिटको राष्ट्रिय प्रजातन्त्र पार्टी पार्टीले आफूहरूले गरेको समर्थन फिर्ता लिने निर्णय गरेको थियो । १३ फागुनमा राष्ट्रपतिमा आफ्नो गठबन्धनबाट एमालेका उम्मेदवार सुवासचन्द्र नेम्वाङलाई नसघाएर नेपाली कांग्रेसका उम्मेदवार रामचन्द्र पौडेललाई सघाउने निर्णय गरेपछि एमालेले समर्थनसमेत फिर्ता लिएर सरकार छोडेको हो । राप्रपाले पनि समर्थनसहित सरकार छोडेको छ भने नयाँ दलका रूपमा आएको रास्वपाले भने समर्थन कायम राख्दै सरकार छोडेका थिए ।

निर्वाचनअघिको ५ दलीय गठबन्धन तोडेर ९ पुसमा प्रचण्डले एमालेलाई साथ लिएर ७ दलीय गठबन्धन निर्माण गरेका थिए । त्यसको दुई महिना नपुग्दै फेरि एमालेसहितका ६ दललाई धोका दिएर उनी १३ फागुनमा ८ दलीय गठबन्धन निर्माण गर्न पुगे । २५ फागुनमा पुन दुई दल थपिएर हाल १० दलीय गठबन्धन बनेको छ ।

२६ पुसमा उनलाई २७५ सदस्यीय संसद्मा जम्मा दुई सांसदबाहेक अन्य सबैको समर्थन रहने गरी २६८ सांसदको विश्वासको मत दिएका थिए ।

 

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 − four =