‘लेक्ट्रो ई–साइकल’, साइकलको स्मार्ट रुप

काठमाडौँ । नेपाली बजारमा भित्रिएको ‘लेक्ट्रो–ई साइकल’ साइकलको स्मार्ट रूप हो । उक्त साइकलमा ब्याट्री, जीपीएस ट्रयाकिङ सिस्टम, स्मार्ट डिस्प्ले र हेडलाइटका साथै अन्य सुविधाहरू रहेका छन् । साइकल त्यसै पनि अन्य सवारी साधनभन्दा फाइदाजनक हुन्छ ।

साइकल चलाउँदा पेट्रोल वा लाइसेन्स चाहिँदैन । यसले सवारी साधनले झैँ धुवा निकाल्दैन, जसकारण वातावरणमैत्री हुन्छ । साइकलमा यात्रा गर्दा शारीरिक कसरत हुनुका साथसाथै छोटो समयमा लामो दूरी पार गर्न सकिन्छ ।

यस्ताे फाइदाजनक साइकलमा थप सुविधासहित निम्बस इन्टरनेसनल कम्पनी प्रालिले लेक्ट्रो–ई साइकल सार्वजनिक गरेको थियो । सामान्य साइकलमा ब्याट्री र मोटरको प्रयोग गरिएको हुँदैन । लेक्ट्रो–ई साइकलमा ब्याट्री र मोटरको प्रयोग गरेकाले विद्युतीय चार्जद्वारा मोटरसाइकल जस्तै गुडाउन र साइकल जस्तै पाइडल चलाएर यात्रा गर्न सकिन्छ । यसमा बीएलसीडी मोटर लि–आयन ३६ भाेल्ट क्षमताकाे पानसाेनिक ब्याट्री र चुस्त फ्रेमको प्रयोग गरिएको हुन्छ । साथै साइकल मेकानिकल, बिजुलीद्वारा सञ्चालित हुने भएकाले गन्तव्यमा पुग्न कुनै समस्या नहुने लेक्ट्रो–ई साइकल सोरुमका अफिसर नेहा सिंह दंगोलले बताइन् ।

उनका अनुसार राइडरले सुविधा अनुसार यसमा ब्याट्री निकालेर कोठामा चार्ज गर्नसक्ने छ र साइकलबाटै मोबाइल चार्ज गर्न पनि सकिनेछ । आफ्नो कुरालाई थप पुस्ट्याउँदै उनले भनिन्, ‘यसमा एक्स्ट्रा ब्याट्री राखेर टाढा–टाढासम्म यात्रा गर्न सकिन्छ ।’

साथै यसको मोटर तथा ब्याट्रीमा दुई वर्षको वारेन्टीसमेत रहेको उनले बताइन् । साइकलमा थप विशेषता पनि रहेका छन् । साइकलमा प्रयोग भएका स्मार्ट डिसप्लेबाट साइकलमा कति प्रतिशत चार्ज छ ?,उक्त चार्जले कति दूरी पार गर्छ भनेर थाहा पाउन सकिन्छ । साइकलका सबै मोडलहरूमा क्रिउज मोड ( स्पिड) सुविधा रहेको छ । क्रिउज मोडमा रहेको साइकलको चार्ज कम खर्च हुन्छ । क्रिउज मोडले प्रतिघण्टा ६ किलोमिटरसम्म दूरी पार गर्छ । उक्त क्रिउज मोडलाई चालकले इच्छा अनुसार परिवर्तन गर्न सक्नेछ । साइकलमा विशेषगरी चिप सिस्टमको प्रयोग गरिएको र उक्त चिपको प्रयोगले मात्र साइकल अन हुने अफिसर दंगोलले बताइन् । उक्त साइकलमा हेडलाइट र ब्याकलाइट पनि राखिएको छ । रात पर्नसाथ ब्याकलाइट आफैँ बल्न थाल्ने र दिउँसो घाममा आफैँ चार्ज हुने उनले बताइन् ।

लेक्ट्रो ई साइकल करिब पाँचदेखि छ घण्टामा फुल चार्ज हुन्छ भने फुल चार्ज भएको ब्याट्रीले २५ किलोमिटर देखि ६० किलोमिटरसम्म यात्रा गर्न सकिनेछ । लेक्ट्रो ई साइकलका वितरकले साइकलले आफ्नो वजनभन्दा ४ गुणा बढी भार थेग्न सक्ने बताएको छ । उक्त साइकलहरूको मूल्य ५५ हजार रूपैयाँदेखि १ लाख ३९ हजार रूपैयाँसम्म रहेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *