सतर्क भएर खेलौँ ‘होली’

होली नेपालीहरूको एक महत्त्वपूर्ण चाड हो । काठमाडौँ उपत्यकासहित पहाडी जिल्लामा भोलि र तराईमा पर्सि होली मनाइँदैछ । होलीलाई रङ्गको पर्व पनि भन्ने गरिन्छ । तर, केही वर्षयता होली खेल्ने नाममा अनेकौँ बेतिथि भित्रिएका छन् । होली खेल्ने क्रममा सावधानी नअपनाउँदा कतिपयको ज्यानसमेत गएको छ । छतमा बसेर होली खेल्दा धेरै जोखिम निम्तिएको छ । होलीको नाममा जे मनलाग्यो त्यही गर्न थालिएको छ । कसैको इच्छाविपरीत लोला हान्न पाइँदैन ।
जबरजस्ती रङ्ग लगाएमा कानुनबमोजिम कारबाही हुन्छ । होली खेल्न मन छैन भन्दाभन्दै जबरजस्ती लोला हानेमा वा रङ्ग लगाएमा जरिवाना वा कैद सजाय भोग्नुपर्ने हुन्छ । इच्छाविपरीत आफ्नै परिवारका सदस्य र आफन्तलाई समेत भिजाउन र रङ्ग लगाउन पाइँदैन । सरकारले बनाएको कानुन कतिपयलाई थाहा छैन । थाहा भएकाले पनि बुझ पचाइरहेका छन् । ‘जब पर्यो राति तब बुढी ताँती’ भनेझैँ मुद्दा नपरेसम्म उनीहरूको होस खुल्दैन ।
होली खेल्ने भन्दै जबरजस्ती मादक पदार्थ सेवन गराउने । अवाञ्छित क्रियाकलापहरू गर्ने । भिडभाड भएको फाइदा उठाएर महिलाहरूको संवेदनशील अङ्गमा हात लैजाने । चोरी र लुटपाटका घटनाहरू पनि होलीमा यत्तिकै घट्छ । एक अर्कामाथि भएको रिस फेर्ने राम्रो माध्यम होली बनेको छ । होली खेल्ने भन्दै रङ्गमा मोबिल, खुर्सानी, केमिकललगायत हानिकारक चीज मिसाउने अनि छ्यापिदिने । यसले कतिपयको आँखामा खराबी हुन्छ, कतिपयको छाला बिग्रिन्छ ।
अधिकांश मान्छेहरू छतमा बसेर होली खेल्छन् । तर, यसको जोखिम एकदमै धेरै छ । छतमा बसेर लोला हान्दा खुट्टा चिप्लिएर लडेका घटना धेरै छन् । एउटा घरबाट अर्को घरमा लोला हान्ने क्रममा कतिपय छतबाट खस्छन् र ज्यान गुमाउँछन् । चाडबाड मनाउने नाममा शोक फैलाउने काम नगरौँ । होली खेल्ने भन्दै एक अर्कोको घरमा जबरजस्ती छिर्न रोक लगाउनुपर्छ । होली खेल्ने भए आफ्नै घरमा खेल्ने । आफ्नै घरको परिवारका सदस्यसँग खेल्ने ।
अर्काको घरमा जबरजस्ती छिरेर होली खेल्न दिनुहुँदैन । होली मनाउने भन्दै बिहानैदेखि मादक पदार्थ सेवन गरिन्छ । तास खेलिन्छ । मादक पदार्थ सेवन गरेर साथीभाइ नै झगडा गर्न थाल्छन् । त्यही कुटाकुट गर्छन् । कतिपय घाइते त कतिपयको मृत्युसमेत हुन सक्छ । यता, मादक पदार्थ सेवन गरेर गाडी चलाइदिँदा दुर्घटना हुन्छ । होलीको नाममा पछिल्लो समय यस्ता दुर्घटनाहरू एकदमै बढिरहेका छन् । आफ्ना छोराछोरीलाई सम्झाइबुझाई गर्नुको साटो अभिभावक नै बच्चा बनिदिन्छन् ।
अभिभावक बिहानैदेखि रक्सीमा धुत भएर बस्छन्, आफ्ना छोराछोरी कहाँ छन् केही अत्तोपत्तो छैन । छोराछोरीले के गरिरहेका छन्, कहाँ गएका छन् यो हेर्दैनन् । होली चाड हो, त्यसैले मनाउनु स्वाभाविकै हो । तर, कसरी मनाउने भन्ने कुरा आफूमा भर पर्छ । सामान्य टिका लगाएर, एक अर्कालाई शुभकामना दिएर होली मनाउन सकिन्छ । रक्सी खाएर, होहल्ला गरेर, अरूलाई रोकटोक गरेर, जबरजस्ती रङ्ग लगाएर, लोला हानेर होली मनाउनु हुँदैन ।
होलीमा कसैलाई नमज्जा होस् भनेर पहिल्यै सोच्नुपर्छ । प्रत्येक वर्ष होलीका दिन दुर्घटनामा परेर मान्छेको ज्यान गइरहेको छ । यता, सरकार पनि मौन बसेको छ । दुर्घटना नघटेसम्म सरकार पनि हात बाँधेर बस्छ । सरकारका निकायहरूले सभ्य तरिकाले होली खेल्नु भनेर सुसूचित गराएको छैन । गृह मन्त्रालयले ७७ जिल्लाको सिडिओ कार्यालय र प्रहरी कार्यालयमार्फत होली कसरी खेल्ने ? भनेर जानकारी त गराउनुपर्यो नि । होली खेल्ने भन्दै अप्रिय घटना नघटोस् भनेर गृहले सूचना जारी गर्नुपर्ने हो ।
इच्छाविपरीत लोला हाने, रङ्ग लगाए कारबाही गरिने भनेर गृहले चेतावनी दिनुपर्ने हो । बच्चादेखि बुढासम्ममा गृहले जनचेतना फैलाउनुपर्ने हो । नागरिकको सुरक्षा गर्नु र उनीहरूलाई सक्षम बनाउनु सरकारको जिम्मेवारी हो । तर, सरकार नै किन मौन छ ? सरकारले छत र बार्दलीमा बसेर होली खेल्न दिनुहुँदैन । होलीको दिन मादक पदार्थ बेच्न र सेवन गर्न रोक लगाउनुपर्छ । मादक पदार्थ खाएर सवारी साधन चलाउन दिनुहुँदैन । समाजको शान्ति सुरक्षा भङ्ग गर्नेगरी होहल्ला गर्ने र उच्छृङ्खल क्रियाकलाप गर्नेलाई कारबाही गर्नुपर्यो ।
होली ढोकामा आइसकेको छ तर गृह मन्त्रालयले एउटा सामान्य सूचनासमेत जारी गर्न सकेको छैन । प्रधानमन्त्री एवम् गृहमन्त्री पुष्पकमल दाहाल र गृहसचिव विनोदप्रकाश सिंह चुपचाप बसेका छन् । सरकार आफैँ रमिते बनेर बस्ने हुँदा हरेक चाडबाडमा कुनै न कुनै अप्रिय घटना घटीनै रहेको छ । सरकारले कानुन बनाएको छ तर कार्यान्वयन हुँदैन । सरकार ऐन कानुन लागू गर्न सक्दैन, जनता टेर्दैनन् । जनतामा अझैपनि चेतना आएको छैन । होली भोलि छ । यद्यपि बाटो हिँड्नेलाई एक महिना अघिदेखि नै लोला हान्न थालिएको छ ।
कोही हतारमा हिँडिरहेका हुन्छन् । कोही अस्पताल जान लागेका हुन्छन् । तर, आफू रमाइलो गर्नका लागि अरूलाई दुःख दिन मिल्छ ? घरको छतबाट फोहोर पानी फ्याँकिदिँदा फेरि घर फर्किएर लुगा फेर्नुपर्छ । काममा जान ढिलो हुन्छ । अस्पताल गइरहेकालाई यो चाडले झनै सास्ती दिन्छ । अघिपछि बाटोमा हिँडिरहेका पानी प्यास लाग्यो भने कसैले एक घुट्को पानी खान दिँदैनन् । मागेर बसेकालाई मानवता सोचेर पनि पानी खान दिँदैनन् । तर, होलीका दिन अरूलाई छ्याप्नका लागि जारको जार पानी किनेर पनि खन्याउँछन् ।
नेपाली कतिसम्म स्वार्थी छन् ? यहाँबाट स्पष्ट हुन्छ । आफू भोको बसेर भएपनि अरूको पेट भर्ने मान्छे हो । आफ्नो पेट आधा भरेर अरूलाई खान दिनु मानवता हो । तर, नेपालीमा मानवता भन्ने नै छैन । मान्छे खान, लाउन र रमाइलो गर्न मात्र जन्मिएको हो र ? नेपालीहरू जतिसक्दो आफ्नै धोक्रो भरौंजस्तो गर्छन् । आफू रमाइलो गर्नका लागि अरूलाई दुःख दिने अनि राज्यले बनाएका ऐन कानुनलाई धोती लगाउने । यही मौका छोपेर व्यापारीहरूले पनि लुट्नुसम्म लुट्छन् ।
सय रुपैयाँ पर्ने पिचकारी पाँच सय रुपैयाँ लिन्छन् । टिसर्ट र रङ्गमा पनि त्यस्तै ठग्छन् । होलीमा मादक पदार्थ, माछामासु र पानी एकदमै धेरै बिक्री हुन्छ । मौकाको फाइदा उठाएर व्यापारीले कमाउनु कमाउँछन् । व्यापारीहरूको सिद्धान्त रातारात धनी बन्नु मात्रै हो । अहिले पनि उपचार नपाएर कति छटपटाइरहेका छन् । कति खान नपाएर भोकभोकै रन्थनिइरहेका छन् । भर्ना गर्ने पैसा नभएर कतिपय बालबच्चाले बिचमै पढाइ छोडेका छन् । होलीमा फजुल खर्च गर्नुको साटो गरिबलाई सहयोग त धर्म हो ।
बेलुन किनेर के हुन्छ ? अरूलाई लोला छ्यापेर केही प्रगति हुन्छ ? वातावरण दूषित मात्र हुने हो । जनता चेतनशील भएपनि देश छिट्टै विकास हुन्छ । गरिबीमाथि मुलुक माथि उठ्छ । होली मनाउने नाममा कतिपयले लाखौँ रुपैयाँ खर्च गर्छन् । तर, त्यो पैसा त सदुपयोग गर्न सकिएला नि ? राज्यको मुख ताकेर देशको विकास हुन्छ ? राज्य त जनताको घरघरमा पुग्न सक्दैन । समाजमा सक्नेले सहयोग गर्नुपर्छ । मनकारी भावना भयो भने मात्र मुलुकको मुहार फेरिन्छ ।
विडम्बना, धनी झनै धनी हुँदै गइरहेका छन् । गरिब झनै गरिब । राज्यको आँखा कहाँसम्म पुगोस् । बाटोमा मागेर बस्नेहरूको सङ्ख्या यत्तिकै छन् । उपचार नपाएर मर्ने दिन कुरेर बसिरहेका छन् । बाटोमा बुद्धिजीवीदेखि लिएर सबै हिँड्छन् । तर, कसैको ध्यान त्यता किन जाँदैन ? जसरी हुन्छ आफू मात्र कमाऊ, आफू मात्र खाऊ, आफू मात्र लाऊ, आफ्नो छोराछोरी पढाऊ, रमाइलो गरौँ भन्ने भावना नेपालीमा देखिएको छ । गरिबलाई त अलिक पैसावालले गन्नै छोडिसकेका छन् । पहिले पहिले नचिनेकै मान्छे भएपनि खाना दिन्थेँ ।
बास बस्नलाई ठाउँको व्यवस्था गरिदिन्थे । तर, अहिले अवस्था फेरिएको छ । सानादेखि ठुलासम्मलाई व्यवहारिक कुरा थाहा छैन । आफ्नो छोराछोरीको नचाहिँदो मागमा लाखौँ रुपैयाँ खर्च गरिदिन्छन् । मानवताभन्दा ठुलो केही होइन । होलीको नाममा फजुल खर्च नगरौँ । बरु, खान नपाएकालाई एक छाक खान दिऔँ । होलीको दिन कुनै अप्रिय घटना नघटोस् । आफू पनि बचौँ र आफ्ना साथीभाइलाई पनि जोगाऔँ । सरकारको ऐन कानुनभित्र रहेर मात्र चाडबाड मनाऔँ । चाड वर्षैपिच्छे आउँछ तर दुर्घटना भएर ज्यान गयो भनेर त्यो मान्छे फर्किएर आउँदैन । त्यसैले सतर्क रहौँ ।








