‘इँटाभट्टाले प्रयाेग गरेकाे बाटो देखेर जग्गा नकिन्नू’

काठमाडौँ । भक्तपुर औद्योगिक क्षेत्रबाट पश्चिम दिशाहुँदै करिब पन्ध्र मिनेटको दूरीमा श्री गणेश फिक्स इँटा उद्योग रहेको छ । हनुमन्ते खोलानजिक प्लटिङ जग्गाको फराकिलो बाटो हुँदै जाँदा एउटा पुरानो पुल भेटिन्छ । पुलनजिक लहरै अग्ला–अग्ला रुखहरू उभिएका छन् । ती मध्ये नजिकैको एउटा रुखमा ठुला ठुला अक्षरमा सूचना टाँसिएका छन् ।

निलो पाटीमा सेतो अक्षर, सेतो पाटीमा निलो अक्षर गरी लेखिएको उक्त सूचनापाटीले जो कोहीको पनि ध्यान तानेकाे देखिन्छ । बाटो हिँड्ने नौला बटुवा सूचनापाटीलाई देख्नासाथ टक्क उभिन्छन् । सूचना पढ्छन् । अनि फेरी आफ्नो बाटो लाग्छन् ।

उपत्यकाका खाली जग्गामा बर्सेनि घर बनाउने क्रम बढिरहेको छ । तर, श्री गणेश फिक्स इँटाभट्टा परिसरमा कुनै घर बनेका छैनन् । भट्टा सिजन सकिएपछि त्यस ठाउँ सुनसान हुन्छ । इँटा बनाउने ठाउँमा धानका बाला झुल्छन् । कहिँकतै टाढाटाढा किसानलाई खेतबारीमा काम गरिरहेको भेट्टाउन सकिन्छ ।

आखिर किन त्यस क्षेत्रमा घरहरू बनेनन् ?

रुखमा टाँसिएको सूचनालाई पढ्दा इँटाभट्टाको निजी जमिन भएकाले घर नबनाइएको भन्ने लाग्न सक्छ । किनभने सूचना पाटीमा ‘यहाँ जग्गा किन्ने कष्ट नगर्नुहोला । यो उद्योगको निजी बाटो हो,’ भनेर लेखिएको छ ।

श्री गणेश फिक्स इँटा उद्योगका सञ्चालक सुरज सुवालका अनुसार इँटाभट्टको फराकिलो बाटो देखेर मानिसले जग्गा खरिद गर्न सक्छन् । यद्यपि त्यो भट्टाको निजी बाटो हो । भट्टासिजन सकिएपछि उक्त बाटो रहँदैन । त्यस ठाउँको नक्सामा उक्त बाटोहरू उल्लेख छैनन् ।

‘बाहिरबाट आएका नयाँ मान्छेलाई थाहा हुँदैन,’ उनी भन्छन्, ‘इँटाभट्टाको बाटो देखेर जग्गा किन्न सक्छन् । त्यसकारण सूचना टाँसेका हौँ । बाटो त ठिकै रहेछ भनेर जग्गा किनबेच भयो भने समस्या पर्छ भन्ने हिसाबले पहिल्यै जानकारी दिएको हौँ ।’

उनले सूचना टाँसेपछि मानिस सचेत भई दलालका कुरामा नफस्ने र समस्यामा नपर्ने बताए ।

उनी भन्छन्, ‘मान्छेले के रहेछन् भनेर बुझ्छन् र दलालीले झुक्याएर ल्याउँदा थाहा पाउन् भनेर सूचना टाँसेका हौँ ।’

इँटाभट्टाको रहेको जग्गा भट्टाको निजी जग्गा होइन । सञ्चालकका अनुसार उक्त जग्गा भट्टाले लिज (भाडा)मा लिएको हो । यसअघि भट्टाको बाटो देखेर जग्गा किनेको उदाहरण त छैन । तर त्यस्ता उदाहरण नहोस् भनेर नै उनीहरूले सूचना टाँसेका हुन् ।

उनले भने, ‘अहिलेसम्म त यहाँ अस्थायी बाटाेलाई नक्साकाे बाटाे ठानेर जग्गा किनेर काेही फसेकाे छ छैन तर त्यस्तो नहोस् भनेर नै यस्तो सूचना टाँसेका हौँ ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *