एमालेसहित राष्ट्रिय सरकार बन्नुपर्छ – अध्यक्ष नेपाल

जनकपुरधाम । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले एक वर्षका लागि आफूलाई प्रधानमन्त्री बनाउने सहमती गरेको कुरा थाहा नभएको बताएका छन् ।
प्रदेश स्तरीय पार्टीको प्रशिक्षण कार्यक्रमका लागि धनुषाको लालगढ आएका उनले संचारकर्मीसंग भने, ‘प्रधानमन्त्रीको सहमतीबारे तपाईहरुलाई नै बढी थाहा छ । मलाई थाहा भएन।’
‘प्रधानमन्त्री बनाउने कुराको सहमतीमा सत्यता छ पनि भन्दिन, छैन् पनि भन्दिन, अध्यक्ष नेपालले भने, ‘शक्ति बांडफाड गरेर चल्ने कुरा भएको छ । अहिले नै सबै कुरा भन्न सक्दिन ।’
उनले सरकार पुनर्गठनबारे छलफल नभएको तर एमालेसहितको राष्ट्रिय सहमतीको पक्षमा आफू रहेको बताए। उनले भने, ‘एमालाई किन सरकारबाट निकाल्ने ? एमालेसहित राष्ट्रिय सरकार सम्भव छ । बन्नुपर्छ।’
अध्यक्ष नेपालले पुनः ब्यूतिएको आठ दलीय गठबन्धनबाट राष्ट्रपतिमा रामचन्द्र पौडेल विजयी हुने पिक्चर क्लियर रहेको बताए। उनले कांग्रेस र माओवादीलाई धोका दिन नचाहेरै राष्ट्रपति एमालेको प्रस्तावमा बन्न अस्वीकार गरेको बताए।
‘कांग्रेस र माओवादीलाई धोका दिएको भए र सबै खालको रिस्क मोलेको भए पक्कै पनि बन्थ्यौं’, उनले भने, ‘तर राष्ट्रपति बन्नकै लागि मरिहत्तै गर्नुलाई उचित ठानिनन्।’








