`शिक्षक अनुशासनको पालना गर्नुस्, तपाईंबाट विद्यार्थीले धेरै कुरा सिकुन्´

विराटनगर । विराटनगरमा रहेको पाइखरिया माध्यमिक विद्यालयले जनप्रतिनिधिलाई सम्मान गरेको छ । प्रतिनिधि सभाका सदस्य तथा सामान्य प्रशासन मन्त्री अमनलाल मोदी, प्रदेश सभा सदस्य शिला दीक्षित कार्की, विराटनगर महानगरपालिकाका मेयर नागेश कोइराला र उपमेयर शिल्पा निराला कार्कीलाई सम्मान गरेको हो ।
बधाई तथा सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री मोदीले सरकारी विद्यालयमा भएको लगानी अनुसारको उपलब्धि नदेखिएको बताए । कतिपय सामुदायिक विद्यालयमा शिक्षकले नपढाउने, विद्यार्थी नियमित विद्यालय नजाने खालको अवस्था रहेको, शिक्षाको अवस्था कमजोर रहेको भन्ने गरिएकोले सबै विद्यालयले पाइखरिया विद्यालय जस्तै अब्बल बनाएर जानू पर्ने बताए ।
`अङ्ग्रेजी माध्यममा पढ्ने विद्यार्थी पैसा तिरेर पढ्नु पर्ने रहेकोले आफ्नो परिवारको दुःख सम्झेर पढ्न विद्यार्थीलाई आग्रह गर्छु,उनले भने, पहिला तपाईं शिक्षक अनुशासनको पालना गर्नुस्, तपाइहरूबाट भाइबहिनीले धेरै कुरा सिकुन् ।´
सरकारीकाम कहिले जाला घाम भनेर सरकारी विद्यालयलाई नलिन आग्रह गरेका मन्त्री मोदीले बालबालिकाको भविष्य शिक्षकको हातमा रहेकोले अनुशासनमा रहेर काम गर्न आग्रह गरे । विराटनगर महानगर पालिकाका मेयर काेइरालाले जमाना डिजिटलाइज भइसकेको अवस्थामा नेपालको शिक्षा प्रणाली ट्रेडिसनल अवस्थामा रहेको बताए । कम्प्युटर शिक्षा अहिलेको आवश्यकता रहेको उल्लेख गरे । विद्यार्थी पढाइ भन्दा बाहिर रमाउन सक्ने अवस्था नरहेकाले व्यवहारिक ज्ञान विद्यार्थीको रुचिको आधारमा पठनपाठन हुनु पर्नेमा जोड दिए ।
`अहिलेको आवश्यकता भाेकेस्नल तालिम पनि दिइनु पर्छ, उनले भने, कोर्सको पढाइ बाहेक सीपमूलक तालिम पाएका विद्यार्थीले नेपालमै रोजगारी पाउने वातावरण बन्छ ।´
उनले निर्वाचित भएको ८ महिना पछि सम्मान गरेकोमा धन्यवाद दिए । विद्यालयको अध्यक्ष कृष्ण गौतम र प्रधानाध्यापक खेमराज भट्टराईले विद्यालयको भौतिक पूर्वाधार सुधारमा ध्यान दिन आग्रह गरे । विद्यालय शिक्षा प्रदान गर्नमा राम्रो हुँदै गर्दा भौतिक संरचनाको अभावमा समस्या झेल्दै आएको छ ।
प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *