स्वास्थ्य बीमा असफल भएको सांसद तामाङको दाबी

काठमाडौं । प्रतिपक्ष दल नेपाली कम्युनिष्ट पार्टीका सांसद पर्शुराम तामाङले नेपालको स्वास्थ्य बीमा कार्यक्रम पूर्ण रूपमा असफल भएको दाबी गरेका छन् ।

मंगलबार संघीय संसदको अर्थ समितिको बैठकमा बोल्दै सांसद तामाङले स्वास्थ्य बीमा असफल हुनुको कारणबारे सरकार र नियामक निकायले स्पष्ट जवाफ दिनुपर्ने बताए ।

उनले बीमाको तथ्यांक, स्वास्थ्य बीमाको असफलता र व्यावसायिक घरानाको एकाधिकारका कारण सिर्जना हुन सक्ने वित्तीय जोखिमबारे सरकारको ध्यानाकर्षण गराए ।

सांसद तामाङले बीमाको पहुँचका सम्बन्धमा सरकारी दाबी र वास्तविक अवस्थाबीच ठूलो अन्तर रहेको बताए ।

उनले बीमाको पहुँच ५१ प्रतिशत पुगेको भनिए पनि व्यवहारमा करिब २० प्रतिशतको हाराहारीमा मात्रै रहेको दाबी गर्दै पहुँच विस्तारका लागि ठोस योजना आवश्यक रहेको बताए ।

‘मैले सबै क्षेत्रमा बुझ्दा नेपालको स्वास्थ्य बीमा असफल भएको पाएको छु । यो किन असफल भयो ? यसको जवाफ चाहिन्छ,’ उनले भने ।

सांसद तामाङले नेपालको अर्थतन्त्र सीमित व्यक्तिको नियन्त्रणमा रहेको भन्दै चिन्ता व्यक्त गरे ।

उनले एउटै समूहले बैंक, बीमा र उद्योग क्षेत्रमा लगानी गर्दा स्वार्थको द्वन्द्व सिर्जना हुने बताए । करिब १ सय परिवारले विभिन्न माध्यमबाट नेपालको अर्थतन्त्र नियन्त्रण गरिरहेको विश्लेषण गर्दै उनले इजाजतपत्र दिने बेलामै यस्ता क्षेत्रलाई अलग गर्नुपर्ने बताए ।

‘एउटै व्यक्तिले उद्योग, बैंक र बीमामा हात हाल्दा एउटा क्षेत्र डुब्दा त्यसको असर अरू क्षेत्रमा पनि पर्ने जोखिम छ । उद्योग घाटामा जाँदा बीमा र बैंक पनि प्रभावित हुन सक्छन्,’ उनले भने ।

उनले एउटा क्षेत्रमा संलग्न व्यक्तिलाई अर्को क्षेत्रमा लगानी गर्न नपाउने गरी कानुनी व्यवस्था गर्नुपर्ने बताए । यसले एउटा क्षेत्रको असफलताले समग्र अर्थतन्त्रमा पर्ने ‘मल्टिप्लायर’ असर रोक्न सहयोग पुग्ने उनको भनाइ थियो ।

कृषि बीमाको पहुँच न्यून रहेको विषयमा अन्य सांसदहरूले उठाएको धारणाप्रति समर्थन जनाउँदै सांसद तामाङले बीमा क्षेत्रको समग्र सुधारका लागि स्पष्ट नीतिको आवश्यकता रहेको बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

7 − four =