जलन उपचारको प्रभावकारी संयन्त्र र घाइतेहरूको व्यवस्थापन गर्न सरकारसँग खुश्बु ओलीको माग

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)की प्रमुख सचेतक खुश्बु ओलीले देशको स्वास्थ्य प्रणाली, जलन (बर्न) उपचारको अवस्था र आन्दोलनका घाइतेहरूको व्यवस्थापनका विषयमा सरकारको ध्यानाकर्षण गराएकी छन् ।

मंगलबार बसेको प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद ओलीले सरकारका निर्देशनहरू प्रचारमुखी मात्र भएको र धरातलीय यथार्थभन्दा टाढा रहेको टिप्पणी गरिन् ।

उनले प्रधानमन्त्री कार्यालयले विभिन्न अस्पतालमा ‘बर्न वार्ड’ पूर्ण रूपमा सञ्चालन गर्न दिएको भनिएको निर्देशनको आधिकारिकतामाथि प्रश्न उठाइन् ।

सम्बन्धित निकायबाट औपचारिक निर्देशन प्राप्त नभएको जानकारी आएको उल्लेख गर्दै उनले निर्णय भएको भए स्पष्ट पार्न र नभएको भए खण्डन गर्न सरकारसँग माग गरिन् ।

सांसद ओलीले कीर्तिपुर बर्न अस्पताललाई ‘राष्ट्रिय प्रशिक्षण केन्द्र’ का रूपमा विकास गरी देशभरका स्वास्थ्यकर्मीलाई विशेष जलन व्यवस्थापन तालिम दिनुपर्ने बताइन् ।

उनले प्रदेश अस्पतालहरू सक्षम नहुँदासम्म देशभरका जलनका बिरामीलाई कीर्तिपुरमा निःशुल्क र छिटो रिफर गर्ने राष्ट्रिय संयन्त्र निर्माण गर्न पनि माग गरिन् ।

कीर्तिपुर बर्न अस्पतालका लागि विनियोजित ८ करोड रुपैयाँ अघिल्लो सरकारको समयदेखि नै रोक्का रहेको भन्दै उनले उक्त रकम तत्काल उपलब्ध गराउन आग्रह गरिन् ।

‘नेपालका १८ वटा अस्पतालमा बर्न वार्ड त छन्, तर भवन र शय्या हुनु मात्रै उपचारको सुनिश्चितता होइन । दक्ष जनशक्ति, प्लास्टिक सर्जन, प्रशिक्षित नर्स र आवश्यक उपकरणबिनाको बर्न वार्डले बिरामीको ज्यान जोगाउन सक्दैन,’ उनले भनिन् ।

कीर्तिपुर बर्न अस्पतालको स्थलगत अवलोकन र सरोकारवालासँगको छलफललाई उद्धृत गर्दै सांसद ओलीले नेपालमा वार्ड मात्र नभई समग्र ‘बर्न उपचार प्रणाली’ मै सुधार आवश्यक रहेको बताइन् ।

उनले जलन उपचारलाई प्रभावकारी बनाउन पूर्वाधारसँगै दक्ष जनशक्ति, उपकरण र व्यवस्थापन प्रणालीमा समेत सुधार गर्नुपर्नेमा जोड दिइन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

12 + 2 =