सरकार विकासभन्दा विवादमा केन्द्रित भयो: सन्दीप राना

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सांसद सन्दीप रानाले वर्तमान सरकार विकास निर्माणका कामभन्दा बढी विवादमा अल्झिएको आरोप लगाएका छन् ।
मंगलबार बसेको प्रतिनिधि सभा बैठकमा विशेष समय लिएर बोल्दै सांसद रानाले सरकारको १०० दिने कार्यकालको समीक्षा गर्दै जनसरोकारका विषयमा सरकार उदासीन देखिएको बताए ।
उनले सरकारले १०० दिनमा १०० काम गर्ने प्रतिबद्धता जनाए पनि उक्त अवधि विकासका कामभन्दा बढी विवादमै बितेको दाबी गरे ।
सांसद रानाले स्वास्थ्य क्षेत्रको समस्याप्रति सरकारको ध्यानाकर्षण गराउँदै अस्पतालहरूमा रेबिज र क्यान्सरजस्ता गम्भीर रोगका औषधि अभाव रहेको बताए ।
उनले नेप्से परिसूचकमा गिरावट आएको, निजी क्षेत्र सशंकित बनेको तथा युवा पलायन नरोकिएको भन्दै सरकारको ध्यान जानुपर्ने बताए । कुपोषणको समस्या पनि तीव्र रूपमा बढिरहेको उनको भनाइ थियो ।
‘आज सुकुम्बासीहरू बिचल्लीमा छन्, किसानले मल पाएका छैनन् र वर्षातका कारण ग्रामीण सडकहरू हिलाम्मे हुँदा बालबालिकालाई विद्यालय जान कठिन भएको छ । तर यस्तो विपद्को समयमा पनि सम्बन्धित विभाग विगत तीन महिनादेखि नेतृत्वविहीन हुनु विडम्बनापूर्ण छ,’ उनले भने ।
सांसद रानाले कूटनीतिक नियुक्तिमा समेत सरकारले गम्भीरता नदेखाएको आरोप लगाए ।
उनले राजदूत नियुक्ति राष्ट्रहितसँग जोडिएको महत्वपूर्ण जिम्मेवारी भएकाले यसलाई सामान्य ‘जब भ्याकेन्सी’ का रूपमा लिन नहुने बताए ।
‘राजदूत नियुक्ति राष्ट्रहितका लागि काम गर्ने गहन दायित्व हो । यसलाई विज्ञापन खोलेर पदपूर्ति गर्ने साधारण काम जस्तो बनाइनु हुँदैन,’ उनले भने ।
सांसद रानाले सरकारले आफ्नो कमजोरी लुकाउन विगत ३५ वर्षमा केही नभएको भन्ने गलत भाष्य निर्माण गर्न खोजेको आरोप लगाए ।
उनले सरकारलाई जनसरोकारका विषयमा केन्द्रित भएर काम गर्न आग्रह गरे ।








