क्यान इन्फोटेकमा घटे अवलोकनकर्ता

काठमाडौँ । कम्प्युटर एसोसिएन नेपाल महासंघ (क्यान महासंघ)ले आयोजना गरेको २८औँ संस्करणको बृहत् सूचना सञ्चार प्रविधि प्रदर्शनी ‘क्यान इन्फोटेक २०२३’मा यसवर्ष तुलनात्मक रूपमा कम अवलोकन आएका छन् । प्रदर्शनीमा सहभागी कम्पनीहरूका अनुसार विगतभन्दा यस पटकको प्रदर्शनीमा अवलोकनकर्ताहरू कम आएका हुन् ।

अघिल्लो क्यान इन्फोटेकको सूचना र सञ्चार प्रविधिको प्रदर्शनी मेला वैशाख महिनामा भएको थियो । करिब ९ महिनापछि भएको उक्त प्रदर्शनीमा अवलोकनकर्ताहरू एकदमै निम्न भएको मर्कनटाइल एसर कम्पनीका प्रतिनिधि बबिता तिमल्सिनाले बताइन् । उनका अनुसार पहिले एकदिनमा १५ देखि २० ओटा ल्यापटप बेच्थिन् ।

तर अहिले व्यापारमा मात्र नभएर अवलोकनकर्ताहरूमा नै कमी आएको छ । ‘पहिले पहिले एक दिनमा १५/२० ओटा ल्यापटप बेचिन्थ्यो । अहिले त्यो जमाना गयो ।,’ उनले भनिन्, ‘ग्राहक र अवलोकनकर्ताहरूको उपस्थिति एकदमै कम छ ।’ ग्राहकहरूको पर्खाइमा बस्दाबस्दै मेला नै सकिएको उनको भनाई छ ।

सिजी कम्पनीका प्रतिनिधि सुस्मिता मुस्याखुले पनि अवलोकनकर्ताको चाप एकदमै कम रहेको बताइन् । उनकाअनुसार मानिसहरूसँग समयको अभाव र अनलाइन सपिङ्ग गर्ने प्रचलनले पनि चाप कम भएको हुनसक्छ । ‘मानिसहरूसँग समय नभएर पनि होला चाप एकदमै कम छ, अनलाइनको कारणले पनि हुनसक्छ,’ उनले भनिन् ।

नेपालमा हुने गरेका अन्य मेला र सूचना, सञ्चार र प्रविधि मेलालाई तुलनात्मक रुपमा हेर्दा सूचना, प्रविधि मेलामा कम अवलोकनकर्ताहरू देख्न सकिन्थ्यो । अवलोकनकर्ताको कम उपस्थितिबारे क्यान महासंघका महासचिव चिरञ्जीवी अधिकारी भन्छन्, ‘नेपालमा अवलोकनकर्ताहरू एकदमै नजिकबाट बुझेर आउने प्रचलन छ । जबसम्म हामीलाई समस्या पर्दैन तब सम्म हामी धाउँदैनौ ।’

उनका अनुसार अवलोकनकर्ताहरूलाई सञ्चार प्रविधि प्रदर्शनीको महत्त्व थाहा नभएर नै उपस्थिति कम भएको हो । ‘हामीलाई त्यस्तो भिजिटर्सको दुःख छैन हामीले भिडभाड हुने अवलोकनकर्ता चाहेका होइनाैँ,’ उनले अगाडि भने, ‘सङ्ख्यात्मक भन्दापनि गुणात्मक अवलोकनकर्ता चाहेका हौँ ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *