क्यान इन्फोटेक एक्सपोमा ‘युवालक्षित प्रडक्ट’ दिँदै कम्पनी

काठमाडौँ । भृकुटीमण्डपमा मंगलबारदेखि सुरु भएको क्यान इन्फोटेक एक्सपोमा धेरैजसो कम्पनीले युवा वर्गलाई लक्षित गर्दै वस्तु तथा सेवाका विभिन्न ‘प्रडक्ट’ सार्वजनिक गरेका छन् ।

कम्प्युटर एसोसिएसन नेपाल(क्यान) महासंघले आयोजना गरेको उक्त मेलामा युवा वर्गको आकर्षण पनि उत्तिकै देखिएको छ । खास गरी पछिल्लो पुस्ता नै पछिल्ला र परिमार्जित प्रविधिबारे जानकार हुने र प्रयोग गर्न सक्षम भएकाले पनि कम्पनीहरुले युवा लक्षित उत्पादन ज्यादा ल्याएको देखिन्छ ।

क्यान इन्फोटेक एक्सपोमा सहभागी कम्पनी मध्येकै एक कुमारी बैंकले पनि विशेष रुपमा युवालाई लक्षित गर्दै विभिन्न ‘प्रडक्ट’ ल्याएको जनाएको छ ।

‘बैंक वित्तीय विशेष कार्यक्रम’हरुमा युवावर्गको सहभागीता कम हुने र क्यान एक्सपोमा युवा सहभागिता ज्यादा हुने भएकोले क्यान इन्फोटेक एक्सपोमार्फत युवालाई वित्तीय साक्षरता प्रवर्द्धन गर्न खोजिएको कुमारी बैंकका प्रतिनिधिले बताएका छन् ।

उनले भने, ‘ बैंक स्पेशल भनेर यस्ता कार्यक्रम गर्दा कुनै वर्गलाई भन्ने सन्देश जान सक्छ । भर्खरका युवा बैकिङ कारोबारमा छिरिसकेका हुँदैनन् । क्यान इन्फोटेक मेलामा मोबाइल, कम्प्युटरका लागि युवाहरू उपस्थित हुनेहुँदा हामी प्रदर्शनीमा सहभागी भएका हौँ ।’

यो एक्सपोमा स्टल राखेर कुमारी बैंकले युवालाई २० रुपैँयामा खाता खोल्न सकिने सेवा दिइरहेको छ । त्यस्तै, यही एक्सपोमार्फत खाता खोल्दा मोबाइल बैंकिङ र डेबिट कार्ड निःशूल्क उपलब्ध गराउने व्यवस्था पनि गरेको छ ।

एक्सपोमार्फत र अन्य समयमा पनि यस बैंकमा खाता खोलेका युवाले ‘शैक्षिक ऋण’ लिएर विदेशमा पढ्न जान सक्ने बैंकले जनाएको छ ।

त्यस्तै मेलामा स्टल सञ्चालन गरिरहेका ‘मर्कन्टाइल’, ‘एसर’ जस्ता सूचना सामग्री र प्रविधिसँग सम्बन्धीत कम्पनीहरुले पनि युवालाई लक्षित गर्दै विभिन्न उत्पादन तथा सेवाको प्रदर्शनी गरिरहेका छन् ।

कम्पयुटर तथा ल्यापटप उत्पादक कम्पनी एसरकी प्रतिनिधि बबिता तिमल्सिनाले खासगरी युवा विद्यार्थीले नै ल्यापटपलगायत सूचना सामग्रीका उत्पादनहरु बुकिङ गरिरहेको बताइन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *