प्रचण्ड नेतृत्वको सरकारमा कर्णालीका सांसद अटेनन् 

सुर्खेत । मंगलबार राष्ट्रपति विद्यादेवी भण्डारीले १२ मन्त्री र ३ राज्यमन्त्री नियुक्त गरेसँगै प्रचण्ड नेतृत्वको सरकार २३ सदस्यीय बनेको छ । कर्णालीका सांसदहरू भने २३ सदस्यीय मन्त्रीमण्डलमा पर्न सकेनन् ।

कर्णाली प्रदेशबाट प्रत्यक्षमा १२ र समानुपातिकमा ८ गरी २० जना सांसदहरू रहेका छन् । जसमा नेपाली काँग्रेसका ७ सांसद, नेकपा माओवादी केन्द्रका ५ सांसद रहेका छन् । यस्तै नेकपा एकीकृत समाजवादीका ३ सांसद रहेका छन् । नेकपा एमालेका २ सांसद, राष्ट्रिय प्रजातन्त्र पार्टीका २ सांसद र राष्ट्रिय स्वतन्त्र पार्टीका १ जना सांसदले कर्णालीबाट प्रतिनिधि सभामा नेतृत्व गर्दछन् ।

जसमा सत्ता गठबन्धनका तर्फबाट १० सांसद रहेका छन् । यद्यपि केन्द्रीय मन्त्रालयको नेतृत्वमा भने कर्णालीका कुनै पनि सांसदहर अट्न सकेनन् । पुस ११ गते पहिलो पटक ८ सदस्यीय मन्त्रिमण्डल गठन गरेका प्रधानमन्त्री प्रचण्डले मंगलबार १२ मन्त्री र ३ राज्यमन्त्री थपे जसमा सत्ता साझेदार दलमा भएको भागबन्डाअनुसार एमालेले ८, माओवादी केन्द्रले प्रधानमन्त्रीसहित ५ मन्त्री, रास्वपा र राप्रपाले ३–३ मन्त्रालय र जनमतले एउटा मन्त्रालय लिएका छन् ।

यस्तै माओवादी, रास्वपा र राप्रपाले १–१ राज्यमन्त्री पनि पाएका छन् । कर्णालीबाट नेकपा एमालेका २ सांसद पार्टीले पाएको ८ मन्त्रालयमा अट्न सकेनन् । यता कर्णालीबाट ५ सांसद रहेको माओवादी केन्द्रले पाएका ५ मन्त्रालयमा पनि कर्णालीका सांसद अटेनन् । कर्णालीबाट २ सांसद रहेको राप्रपाले ३ मन्त्रालय र कर्णालीबाट १ सांसद रहेको रास्वपाले ३ मन्त्रालय पाउँदा समेत कर्णालीका सांसदहरू कुनै पनि दलबाट मन्त्री तथा राज्यमन्त्री समेत बन्न सकेनन् ।

याे पनि
प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *