बागमती प्रदेश वन तथा वातावरण मन्त्रालयको प्रगति ८२ प्रतिशत

काठमाडौं । बागमती प्रदेशको वन तथा वातावरण मन्त्रालयले एक वर्षे अवधिमा ८२ प्रतिशत उपलब्धि हासिल गरेको छ ।
मन्त्रालयका एक वर्षे कार्यकालका उपलब्धिबारे जानकारी दिन आज मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा प्रदेशका वन तथा वातावरणमन्त्री भरतबहादुर केसीले सो अवधिमा चालु खर्चतर्फ ७३ प्रतिशत र पुँजीगत खर्चमा ८६ प्रतिशत उपलब्धि हासिल भएको जानकारी दिए । यस अवधिमा प्रदेश वन ऐन र वातावरण संरक्षण संशोधन विधेयक तयार भई प्रदेशसभामा पुगेको उनले जानकारी दिए ।
मन्त्रालयबाट नवप्रवर्तन, अनुसन्धान तथा विशेषन अभियानअन्तर्गत हरेक जिल्लामा एक टिमुर बगैँचा, एक फलफूल वन अभियान, एक किसानः पाँच बोधिचित्त, पाँच रुद्राक्ष अभियानजस्ता कार्यक्रम अघि बढाइएको मन्त्री केसीले बताए । जलाधार, वातावरण संरक्षण तथा विपद् न्यूनीकरण कार्यक्रमअन्तर्गत प्रत्येक जिल्लामा एकीकृत जलाधार व्यवस्थापन कार्यक्रम सञ्चालन गरिएको उनले जानकारी दिए ।
हरित अर्थतन्त्र, उद्यम तथा रोजगारी कार्यक्रमअन्तर्गत राजमार्ग आसपास हरित उद्यम विकास, नेपालमा पहिलो सन्ध्याकालीन जङ्गल सफारी सञ्चालनमा सहयोगजस्ता कार्यक्रम सञ्चालन गरिएको मन्त्री केसीले बताए ।
यस अवधिमा स्थानीय तहसँग संस्थागत सहकार्य विस्तार, वन अपराध नियन्त्रण प्रणाली सुदृढ, हरित प्रदेश अभियान सञ्चालन आदि कार्यक्रम अघि बढाइएको उनले जानकारी दिए । नीति तथा कानुनी सुधारअन्तर्गत प्रदेशका ९३ प्रतिशत सामुदायिक वन कार्ययोजनायुक्त गरिएको उल्लेख गर्दै उनले सरकारी भवनमा स्वदेशी काठको प्रयोग प्रवर्द्धन गर्ने नीतिगत निर्णय गरिएको बताए ।








