कतार विश्वकपमा महिला र पुरुष समर्थकले ‘बडी सो’ गर्न नपाउने

काठमाडाैँ । विश्वकपमा समर्थकहरूले आफ्ना खेलाडीलाई भरपूर समर्थन गर्न सक्छन् । तर, उनीहरूले रंगशाला तथा सडकमा आफूले चाहेकोजस्तो समर्थन गर्न सक्नेछैनन् । आयोजक कतारले सहभागी ३२ टोलीका समर्थक तथा अन्य व्यक्तिमाथि अंकुश लगाउँदै कडा नियम बनाएको छ । अझ पुरुषभन्दा महिला समर्थकको हक झनै कडा नियम छ । आयोजकका अनुसार महिला समर्थकले रंगशालाभित्र वा बाहिर शरीर दिने गरी एक्सपोज गर्न पाइनेछैन ।

महिलाले शरीरलाई एक्सपोज गर्ने किसिमको कुनै पनि पहिरन लगाउन नपाउने नियम बनाइएको छ । यदि नियमविपरीत यस्तो पहिरन लगाए ती महिला समर्थकलाई कतारको कानुनअनुसार कारबाही हुन सक्छ । विदेशबाट आउने महिला समर्थकले अनिवार्य रूपमा काँधदेखि घुँडासम्म छोप्ने लुगा लगाउनुपर्नेछ । कतार सरकारले विदेशी महिलालाई टाइट किसिमका कपडा नलगाउन निर्देशन दिएको छ ।

महिलालाई मात्र नभएर टाइट किसिमको पहिरन पुरुषले पनि लगाउन पाउनेछैनन् । कतार सरकारले विश्वकपमा आफ्नो मौलिक पहिचान तथा संस्कृतिमाथि कुनै असर नपरोस् भनी यस्तो नियम जारी गरेको जनाएको छ । ‘हामीले विश्वकप अवधिभरि लागू गरेको नियम कसैले तोडे, कतारको नियमअनुसार कारबाही हुनेछ,’ आयोजकले भनेको छ । रंगशालाभित्र विदेशी तथा स्वदेशी दर्शकको गतिविधि हेर्न उच्च प्रविधिको क्यामरा जडान गरिएको छ । यसले दर्शकका सबै गतिविधि रेकर्ड गर्छ । नियमविपरीत कुनै गतिविधि भए खेलपछि जाँचका लागि सो क्यामरालाई प्रयोग गरिनेछ । नियम उल्लंघन गरेका समर्थक कारबाहीमा पर्नेछन् ।

रंगशालाभित्र मदिरा प्रतिबन्ध
फुटबलको सर्वोच्च निकायले कतार विश्वकपमा प्रयोग हुने रंगशालाका निश्चित क्षेत्रमा समर्थकले ड्रिंक्स गर्न पाउने जनाएको थियो । फिफाको यस निर्णयले समर्थकहरू निकै खुसी भएका थिए । तर, शुक्रबार आयोजक कतारले रंगशालाभित्र मदिरा तथा अन्य ड्रिंक्स गर्न नपाउने जनाएको छ । ‘रंगशालाभित्र कुनै पनि प्रकारका मदिरा बिक्री तथा सेवन गर्न पाइनेछैन,’ जारी विज्ञप्तिमा भनिएको छ । २२औँ संस्करणको विश्वकप सुरु हुन एक दिनअघि कतारले यस्तो निर्णय लिँदा समर्थक निराश बनेका छन् ।

विशेष गरी विश्वकपमा युरोपियन तथा दक्षिण अमेरिकन समर्थक रंगशालाभित्र मदिरा तथा बियर प्रयोग गर्न रुचाउँछन् । रसिया विश्वकपमा रंगशालाभित्र अत्यधिक मात्रामा बियर बिक्री भएको थियो । इस्लामी नियमअनुसार सार्वजनिक रूपमा मदिरा सेवन गर्न अनुमति नदिएको कतारले जनाएको छ । फिफाले आयोजक कतारका पदाधिकारीसँग रंगशालाभित्र बियर तथा मदिरा सेवन गर्न पाउनुपर्ने भनी छलफल गरेको जनाएको छ । तर, छलफलमा कतारले देशको नियमअनुसार अनुमति दिन नसकिने बताएको फिफाले जनाएको छ ।

‘आयोजकका पदाधिकारी र फिफाका केही सदस्यबीच छलफल गरेका थियौँ, लाखौँ दर्शकले रंगशालाभित्र विश्वकपलाई उत्सवका रूपमा लिनेछन्, उनीहरूले बियर र मदिराको चुस्की लिँदै मनोरञ्जनसमेत गर्नेछन्, समर्थकलाई स्वतन्त्रता प्रदान गर्न मदिरा र बियर प्रयोग गर्न पाउनुपर्छ भनी प्रस्ताव राखेका थियौँ,’ फिफाले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘तर, उनीहरू हाम्रो प्रस्ताव मान्न तयार भएनन् ।’ आयोजक कतारले समर्थकलाई ‘ननअल्कोहल’ भएको बियरमाथि प्रतिबन्ध लगाएको छैन । कतारले विश्वकपभरि मदिरा बिक्री–वितरणमा कडा बनाएको छ । लाइसेन्सप्राप्तले मात्र यो प्रयोग गर्न सक्छन् । यद्यपि, सार्वजनिक क्षेत्रमा विदेशी तथा स्वदेशी मदिराका साथ देखिँदा कारबाही हुन सक्छन् । –नयाँ पत्रिकाबाट

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *