विश्वकप क्रिकेट : बंगलादेशलाई हराउँदै पाकिस्तान सेमिफाइनलमा

काठमाडौँ । पाकिस्तान आईसीसी टि २० विश्वकप क्रिकेटको सेमिफाइनलमा प्रवेश गरेको छ । आइतबार भएको खेलमा बंगलादेशलाई विकेटले पराजित गर्दै अन्तिम चारमा स्थान बनाएको हो। हारसँगै बंगलादेश समूहचरणबाटै बाहिरिएको छ ।
टस जितेर पहिले ब्याटिङ गरेको बंगलादेशले पूरै ओभरमा ८ विकेट बनाउँदै १२७ रन बनाएको थियो। बंगलादेशका लागि ओपनर नाजमुल हुसेनले ५४ रन बनाए पनि अन्यको ब्याट चल्न सकेन। लिटोन दासले १० रन बनाउँदा सौम्या सरकार २० र अफिफ हुसेनले नटआउट २४ रन बनाए । पाकिस्तानका लागि सहिन साह अफ्रिदीले ४ विकेट लिए। सादव खान २ तथा हरिस राउफ र इफ्तिखर अहमिदले समान १ विकेट लिए ।
पाकिस्तानका लागि दुवै ओपनरले राम्रो सुरुवात गर्दै जितको बाटो देखाएका थिए। मोहमद रिजवानले ३२ र कप्तान बाबर आजमले २५ रन बनाए। मोहमद हारिसले ३१ रन जोड्दा शन मसुदले अविजित २२ रनको योगदान दिए ।
बंगलादेशका नसुम अहमेद, साकिव अल हसन, मुस्ताफिजुर रहमान र इवादत हुसेनले समान १÷१ विकेट हात पारे । पाकिस्तानको जितसँगै विश्वकप सेमिफाइनलको समीकरण पूरा भएको छ। समूह ए बाट न्युजिल्याण्ड र इङ्ल्याण्ड तथा समूह बी बाट भारत र पाकिस्तान अन्तिम चारमा प्रवेश गरेका छन् । तर भारतले एक खेल खेल्न बाँकी रहेकाले समूह बीको बिजेताको टुंगो लाग्न बाँकी छ ।
भारतले अन्तिम खेलमा आज जिम्बाबेलाई पराजित गरेको खण्डमा समूह बिजेता बन्दै न्युजिल्याण्डसँग फाइनल प्रवेशका लागि खेल्ने छ। पराजित भएमा समान ६ अंक भएपनि नेट रनरेटका आधारमा पछि पर्दै उपविजेताका रुपमा अन्तिम ४ मा प्रवेश गर्नेछ। फाइनल प्रवेशका लागि इङ्ल्याण्डसँग खेल्नु पर्नेछ ।








