राष्ट्रिय खेलकुद : तयारी खेलकै आधारमा आर्मी र गण्डकीले बाँडेर लिए स्वर्ण पदक, मृतक निसिमलाई मानार्थ पदक

पोखरा । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत खेलकै क्रममा खेलाडीको मृत्यु भएपछि बन्द भएको प्याराग्लाइडिङ खेलका स्वर्ण दुई टीमले बाँडेर लिएका छन् । तयारी खेलका क्रममा प्राप्त उपलब्धीका आधारमा नेपाल आर्मी र गण्डकीले समान स्वर्ण बाँडेका हुन् । असोज २८ गते गरिएको तयारी उडानको नतिजालाई आधार मानेर पदक वितरण गरिएको नेपाल प्याराग्लाइडिङ तथा ह्यांग्लाइडिङ संघका महासचिव शैलेन्द्र रावतले जानकारी दिए ।
टिम तथा एकलतर्फ गण्डकी र विभागीय टिम नेपाल आर्मीले समान ३÷३ स्वर्ण जितेका छन् । क्रसकन्ट्रीमा गण्डकीका विजय गौतम, सुशील गुरुङ, शेरबहादुर गुरुङ र युकेश गुरुङ सम्मिलित टीमले स्वर्ण जितेको हो । यसमा आर्मीका सुरज थापा, विजय दाहाल, निसिम थापा र विशाल जलारी सम्मिलित टीमले रजत पाएको छ । सोही प्रतियोगितामा असोज ३० गते निसिमको मृत्यु भएको थियो । बागमती प्रदेशले क्रसकन्ट्रीमा कास्य पदक हात पारेको छ । मृत्यु भएका निसिमलाई मानार्थ स्वर्ण पदक दिइएको छ ।
व्यक्तिगत प्रतियोगितामा पुरुषतर्फ आर्मीका सुरज थापाले स्वर्ण जितेका छन् भने गण्डकीका विजय गौतमले रजत जिते । बागमतीका कृष्णबहादुर सुनुवारले कास्य प्राप्त गरेका छन् । प्याराग्लाइडिङ एक्युरेसी पुरुषतर्फ गण्डकीले स्वर्ण जित्दा एपिएफले रजत तथा प्रदेश १ ले कास्य जित्यो । अक्युरेसी व्यक्तिगत पुरुष विधातर्फ गण्डकी नै पहिलो भयो । एपिएफ दोश्रो र आर्मीका खेलाडी तेश्रो भएका छन् । आर्मीले यसबाहेक महिला टिम अक्युरेसी, महिला एक्युरेसी व्यक्तिगतमा पनि स्वर्ण जितेको छ ।








