फेरियो चाडपर्व मनाउने शैली

काठमाडौँ । नेपालीहरूको महान् पर्वका रूपमा रहेको दसैँ पर्वलाई हर्ष, उल्लास तथा विजयी पर्वको रूपमा लिने गरिन्छ । दसैँलाई बडा दसैँका साथै अन्य नाम: दशहरा, विजया दशमी, नवरात्र आयुध-पूजाका नामले पनि चिन्ने गरिन्छ ।

राष्ट्रिय चाड समेत मानिने दसैँ (नवरात्र) हिन्दु धर्मावलम्बीहरूले आश्विन महिनाको शुक्ल प्रतिपदाका दिनदेखि नवमी सम्म (नवरात्रभर) शक्तिको आराधना गरी दसौँ दिन अर्थात् दशमीका दिन आफूभन्दा ठूला मान्यजनहरूको हातबाट टीका-प्रसाद ग्रहण गरेर विशेषरूपमा पूर्णिमासम्म मनाउने गरिन्छ ।

आश्विन शुक्ल प्रतिपदा (घटस्थापना)मा जमरा राखी नवमीसम्म नवरात्र विधिले प्रत्येक दिन फरक देवीहरूको पूजा गरिन्छ । प्रतिपदा देखि क्रमशः शैलपुत्री, ब्रह्मचारिणी, चन्द्रघन्टा, कुष्माण्डा, स्कन्दमाता, कात्यायनी, कालरात्री, महागौरी, सिद्धिदात्री गरी नवदुर्गाको पूजा गर्दै सप्तशती (चण्डी) पाठ गरी नव दुर्गा र तृशक्ती महाकाली, महालक्ष्मी र महासरस्वोतिको विशेष पूजाआजा र आराधना गर्ने गरिन्छ ।

विजया दशमीको दिन भगवतीले दानवी शक्तिमाथि र रामले रावणमाथि विजय हासिल गरेको उपलक्ष्य र खुसीयालीमा नवदुर्गा भवानीको प्रसाद स्वरूप रातो टिका र जमरा लगाउने चलन रहेको छ । आफ्ना नाता कुटुम्ब ठूला बडा र मान्यजनबाट टिका तथा जमरा लगाउने र आशीर्वाद प्राप्त गर्ने नयाँ नयाँ कपडाहरू लगाउने, आफ्नो क्षमता अनुसार मिठो खाना खाने-ख्वाउने, घर आँगन, बाटोघाटो, गाउँ बस्ती सफासुग्गर राख्ने जस्ता काम यस चाडमा विशेष उत्साहका साथ गर्ने गरिन्छ ।

यस्ता चाडपर्वहरूले हामीलाई एउटा छुट्टै आनन्दको अनुभूति दिलाउँछ । हर्ष, उल्लासका साथ आउने र मनाउने चाडपर्वले बेग्लै रौनकता ल्याइदिन्छ । भिन्न खुसी र सुख प्रदान गर्दछ । बडादसैँमा  मालसिरी वा मालश्री धुन बजाएर र गीत गाएर रमाइलो पनि गरिन्छ । देशविदेश वा टाढा टाढा भएका आफ्ना साथीभाइ, आफन्तजनसँग भेटघाट हुने वातावरण यसै समयमा सिर्जना हुन्छ । दसैँमा दक्षिणा, टिका, जमरा र पिङको मज्जालाई छुट्टै खास अर्थ र महत्त्वका रूपमा लिइन्छ ।

यसरी विशेष महत्त्व बोकेको बडा दसैँ यस वर्ष पनि नेपालीहरूको घर आँगनमा भित्री सकेको छ । यतिबेला दसैँ तिहार मनाउन जिल्ला बाहिर तथा बिदेसिएकाहरू आ-आफ्नो गाउँघर फर्की सकेका छन् भने कोही फर्कने तरखरमा छन् । विगतमा दसैँ भन्नेबित्तिकै खानपिन, नयाँ लुगा, टीका, दक्षिणा, पिङ, आशीर्वाद आदिलाई बुझ्ने गरिएपनि पछिल्लो समय भने दसैँ मनाउने शैलीमा धेरै परिवर्तन आएको छ । नयाँ पुस्ता यतिबेला टीका, आशीर्वाद भन्दा पनि घुम्न, नयाँ काम सिकेर समय सदुपयोग गर्न चाहन्छन् ।

अर्कोतर्फ विजयादशमीमा शुभकामना आदान-प्रदान गर्ने शैलीमा समेत परिवर्तन हुँदै गएको छ । हातले लेखेर शुभकामना दिएका पुस्ताहरू समेत नयाँ सूचना प्रविधिको प्रयोग गर्न थालेका छन् । सूचना प्रविधिको बढ्दो प्रयोगले शुभकामना दिने शैलीमा परिवर्तन आएको छ । भेटेर शुभकामना दिने पोष्टकार्ड दिने र पुष्पगुच्छा साटासाट गर्ने चलन हराउँदै गएको छ । पोष्टकार्डसहितका शुभकामना कार्ड पठाउने परम्परा इमेल इन्टरनेटसँगै विस्थापित भएको छ ।

विभिन्न तथ्यांकहरुले समेत नेपालमा इमेल, इन्टरनेट प्रयोग कर्ताहरूको सङ्ख्या बढ्दै गएको देखिन्छ । जसका कारण पछिल्ला वर्षहरूमा सामाजिक सञ्जालबाटै शुभकामना आदान-प्रदान गर्ने पनि बढ्दै गएका छन् । आजभोलि हाम्रा चाडबाडको महत्त्व उस्तै छ तर मनाउने शैलीमा भने केही फरकपन छाएको छ । विगतमा जस्तो बजारमा पुगेर पोस्टकार्ड किन्ने चलन हराएको छ । भेटेर शुभकामना दिने र पुष्पगुच्छा साटासाट गर्ने चलन पनि करिब अन्त्य भइसकेको अवस्था छ । सामाजिक सञ्जाल फेसबुक, इमेल, इन्स्टाग्राम, टुईटर मार्फत शुभकामना आदान प्रदान भइरहेका छन् । सामाजिक सञ्जालको व्यापकताले सबैलाई सहज बनाएको छ ।

फेसबुक र ट्विटर लगायतका सामाजिक सञ्जालका भित्ताहरू यतिबेला शुभकामनाले भरिएका छन् । इमेल इन्टरनेटको प्रयोगसँगै शुभकामना आदान-प्रदानको शैली नै पूर्णतया डिजिटलमय भएको छ । चर्चित नायक-नायिका तथा मोडलहरूको तस्बिर ‘पोस्टकार्ड’ किनेर त्यसको पछाडि सायरी लेखेर शुभकामना पठाउने चलन बन्द नै भइसक्यो ।

अर्कोतर्फ भौतिक पूर्वाधारमा आएको विकासका कारण अब घर सिंगारपटार, लिपपोत गर्ने चलन पनि हराउँदै गएको छ । लिंगे पीङ, पिर्के पिङ गाउँघरमा देखिन छोडेका छन् भने युवा र बालबालिकाहरू मोबाइल, ल्यापटप लगायतका प्रविधिमा व्यस्त हुने गरेका छन् । यसरी पछिल्लो समय दसैँ मनाउने शैलीमा परिवर्तन आएपनि यसलाई हाम्रा संस्कृति, रीतिरिवाज, सभ्यता छ, मौलिकतालाई बिर्सन हुँदैन । आफ्नो परम्परा, मौलिकता, लोक संस्कृति, रीतिरिवाज, सभ्यता बिर्सँदै गयौँ भने हामी भविष्यमा खोक्रो-हुनेछौँ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *