मुख्यमन्त्री शाहीले गरे नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको ट्रफ्री अनावरण

सुर्खेत । गण्डकी प्रदेशको पोखरामा यही असोज २८ देखि कात्तिक ३ गतेसम्म संचालन हुने नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता २०७९ को ट्रफ्री मंगलबार कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले राजधानी वीरेन्द्रनगरमा अनावरण गरेका छन् । राष्ट्रिय खेलकुद परिषद्ले नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता २०७९ को ट्रफ्री असोज १ गतेबाट ओलम्पीयन दीपक विष्टको संयोजकत्वमा सात प्रदेश र तीन विभागीय टिममा ट्रफ्रीलाई टूरको रूपमा लिने निर्णय गरेको थियो ।

ट्रफ्री अनावरण गर्दै कर्णाली प्रदेशका मुख्यमन्त्री शाहीले हिजोका दिनमा कर्णालीलाई हरेक क्षेत्रमा विकट भनी प्रचार गरियता पनि खेल क्षेत्रमा कर्णाली अगाडि रहेको बताए । उनले कर्णालीले खेल क्षेत्रमा धेरै सम्भावना बोकेका कारण कर्णाली प्रदेश सरकारले पनि खेल क्षेत्रमा ठूलो लगानी गरेको भन्दै आज कर्णाली प्रदेशको आँगनमा पुगेको ९‍‍औँ राष्ट्रिय खेलकुद प्रतियोगिता २०७९ को ट्रफ्री कर्णालीमा भित्र्याउने गरी खेलाडीहरूलाई तयारी गर्न उनले निर्देशन दिए । ‘अन्त खेलाडीहरूले खेल जितिसके पछि मात्रै पुरस्कार दिने गरेका छन् । कर्णालीमा हामीले खेल जित्नुभन्दा अगाडि नै पुरस्कारको घोषणा गरेका छाैँ,’ मुख्यमन्त्री शाहीले भने, ‘खेलाडीहरूको लागि कर्णाली प्रदेश सरकारसँगै छ तपाईंहरू यो आज आँगनमा आएको ट्रफ्री कर्णालीमा फिर्ता ल्याउने गरी तयारी थाल्नुहोस् ।’

ट्रफ्री टूरका संयोजक ओलम्पीयन विष्टले अन्य प्रदेशभन्दा कर्णाली प्रदेश सरकारले खेल क्षेत्रलाई महत्त्व दिएको भन्दै कर्णालीको खेल क्षेत्रमा ठूलो सम्भावना रहेको बताए । कर्णाली प्रदेश खेलकुद विकास परिषद्का सदस्य सचिव विश्वामित्र संज्यालले कर्णाली प्रदेशमा पुगेको नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको ट्रफ्री चुम्नको लागि कर्णाली प्रदेशका खेलाडीहरू तयारी अवस्थामा रहेको भन्दै आज कर्णाली प्रदेशमा आइपुगेका ट्रफ्री कर्णालीमा नै फिर्ता आउनेमा आफू विश्वस्त रहेको बताए ।

कर्णाली प्रदेश सरकार खेल क्षेत्रका समस्या समाधान गर्नको लागि जहिले तयार रहेको भन्दै सदस्य सचिव संज्यालले खेलाडीहरुलाई कुनै पनि चिजको कमी हुन नदिने गरी कर्णाली प्रदेश खेलकुद विकास परिषद् लागिरहेको बताए ।

राष्ट्रिय खेलकुद प्रतियोगिता २०७९ को रनिङ ट्रफी टुरका संयोजक दीपक विष्टसहित अन्तर्राष्ट्रिय खेलाडी संघका अध्यक्षसमेत रहेका सागका दोहोरो स्वर्ण पदक विजेता दीपक श्रेष्ठ, महिला भलिबल टोलीकी कप्तान अरुणा शाही र अल्ट्रा म्याराथन धावक मीरा राई सहभागी भएका थिए पूर्व क्रिकेट कप्तान पारस खड्का भने कर्णालीमा उपस्थित भएनन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *