डेङ्गु लागिहाले के गर्ने ?

काठमाडाैँ । डेङ्गुकाे प्रकाेप बढेकाे छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअुनसार झन्डै डेढ दर्जनकाे डेङ्गु संक्रमणकै कारण मृत्यु भइसकेकाे छ भने हजाराैँ संक्रमित छन् ।

खासगरी काठमाडाैँ उपत्यका साथै मधेश क्षेत्रमा फैलिएकाे डेङ्गुले एक हप्तादेखि एक महिनासम्म गाह्राे बनाउने र तङ्ग्रिन पनि समय लाग्ने जानकारहरूले बताएका छन् । डेङ्गु हुन नदिने एउटा उपाय लामखुट्टेकाे टाेकाइबाट बच्ने चिकित्सकहरूले बताएका छन् ।

उसाे त यदि जाेगिँदा-जाेगिँदै पनि डेङ्गु भइहाले के गर्ने ? यसबारे यहाँ डा. रवीन्द्र पाण्डेकाे टिप्स प्रस्तुत गरेका छाैँ ।

डेङ्गु भइहाले के गर्ने ?
१. ज्वरो तथा दुखाइको लागि फ्लेक्सन, ब्रुसेट, निम्सलगायत पेनकिलर नखानुहोला । यी औषधिले अल्सर गराउने तथा रक्तश्राब गराएर खतरा हुनसक्छ । ज्वरो र दुखाइको लागि पारासिटामोल मात्र सेवन गर्नुहोला ।
२. बान्ता भएमा बान्ता रोक्ने औषधि खानुपर्दछ ।
३. अधिकांश संक्रमितलाई बान्ता हुने, वाकवाकी हुने हुन्छ । धेरै संक्रमितले बान्ता हुने डरले खाना तथा पानी नखाने गर्दछन । यो निकै घातक हुन्छ, जति धेरै झोलिलो तथा पोषिलो खायो, त्यति नै छिटो निको हुन्छ । मुखबाट खान नसकेमा अस्पताल गएर सलाइन दिनुपर्ने हुन्छ ।
४. द्वितीय संक्रमण नभएको अवस्थामा एन्टिबायोटिक सेवन गर्नु पर्दैन ।
५. मेवाको पात जथाभावी नखानुहोला, यसले डेङ्गु निको गर्दैन । प्लेट्लेट्स कमी भएमा चिकित्सकको सल्लाहअनुसार बढीमा ३० मिलि प्रशोधित मेवाको पातको रस खान सकिन्छ, प्लेट्लेट्स बढाउन यसका ट्याब्लेट पनि पाइन्छ ।
६. दाल, जाउलो, गेडागुडीको रस, दुध, नरम खाना, फलफूल (मेवा, किवी, अनार, जुनार, स्याउ, नरिबलको पानी, माल्बोक केरा, काँक्रो), हरियो सागसब्जी, पाकेको फर्सी, चुकन्दर, पालुंगो र मेथीको साग पर्याप्त खानुपर्दछ ।
७. शरीरमा पानीको कमी नहोस् भनेर सचेत हुनुपर्दछ ।  सादा पानी, जीवनजल, कागती पानी पटकपटक खानुपर्दछ ।
८. १ दिन बिराएर प्लेट्लेट्स चेक गर्नुपर्दछ ।
९. नाक, मुख, गिंजा, छाला, मलद्वार, मुत्रद्वारआदिबाट रगत आएमा, बान्तामा रगत देखिएमा, झोलिलो खाना खान नसकेमा, ज्वरो नियन्त्रण नभएमा तुरुन्त नजिकको अस्पतालमा जानुपर्दछ ।
१०. बान्ता, पखाला, एलर्जी आदिको लागि चिकित्सकको सल्लाहअनुसार औषधि सेवन गर्नुपर्दछ ।
११. खाना र पानी प्रशस्त पेलेमा डेङ्गुलाई सजिलै जित्न सकिन्छ, यसको मृत्युदर निकै कम भएकोले आत्तिनुपर्दैन ।
१२. डेङ्गुमा धेरै मुख बार्नु पर्दैन, पच्ने खाना खान सकिन्छ। पिरो, मसलादार खाना, घ्यू, बोंसो, अल्कोहल नखानुहोला, धेरै गुलियो नखानुहोला ।
१३. डेङ्गुको ज्वरोमा मनतातो पानी पट्टी लगाउने, ज्वरो १०० डिग्री आएमा पारासिटामोल खाने, झोलिलो खाना खाने गरेर ज्वरोलाई नियन्त्रणमा राख्नुपर्दछ, १०१ भन्दामाथि तापक्रम पुर्याउनु हुँदैन ।
१४. ज्वरो आउने, शरीर दुख्ने, वाकवाकी लाग्ने, बिमिरा आउने केहि दिन रहन्छ, नआत्तिनुहोला, औषधि र खानपिनले निको हुन्छ ।
१५. आराम गर्नुहोला, शारीरिक तथा मानसिक धपेडी नगर्नुहोला ।
१६. दाँत ब्रस नगर्नुहोला, मञ्जन औंलामा राखेर दांत सफा गर्नुहोला, ताकी घाउ नहोस् ।
१७. डेङ्गु सँगै बसेर सर्दैन, तपाईंलाई टोकेको लामखुट्टेले परिवारजनलाई टोकेमा डेङ्गु सर्दछ। तसर्थ राति तथा दिउँसो पनि झुलभित्र सुत्नुहोला ।
१८. चिकित्सकको सिफारिसबिना पारासिटामोलबाहेक कुनैपनि औषधि नखानुहोला ।
१९. लाम्बाहुले कपडा तथा मोजा लगाउनुहोला । ओडोमसलगायत लामखुट्टे भगाउने क्रिम लगाउनुहोला ।
२० . खोज र नष्ट गर अभियानको लागि लामखुट्टे हुर्किने/प्रजनन हुने ठाउँ अर्थात् पानी हटाउने, औषधि छर्किने गर्नुहोला ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *