गठबन्धनले देशलाई ओरालोतिर लग्यो : ओली

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सत्ता गठबन्धनले देशलाई ओरालोतर्फ धकेलिरहेको बताएका छन् । शनिबार संविधान दिवसका अवसरमा एमालेले निकालेको पदयात्रापछि सम्बोधन गर्दै अध्यक्ष ओलीले यस्तो बताएका हुन् ।
देशलाई अप्ठेरो अवस्थाबाट अगाडि लैजानुपर्ने उनको भनाई छ । ‘देशलाई गठबन्धनले ओरालोतिर लगिराखेको छ । यस ओरालो गतिलाई रोकेर देशलाई अगाडि लैजानुपर्छ । त्यसो हुँदा मात्र लोकतन्त्रको अभ्यासका हिसाबले, संविधान कार्यान्वयनका हिसाबले, शान्ति सुरक्षाका हिसाबले, भ्रष्टाचार नियन्त्रणका हिसाबले सशक्त ढंगले अगाडि बढ्नेछौँ,’ उनले भने, ‘यतिबेला देशलाई हार्न दिन हुँदैन, जनतालाई हार्न दिन हुँदैन । संविधानलाई हार्न दिन हुँदैन । संविधान दिवस र राष्ट्रियता दिवसलाई राष्ट्रिय पर्वका रूपमा मनाइरहेका छौँ ।’
अध्यक्ष ओलीले लोकतन्त्र नेपाली जनताको शासन भएकाले बाह्य हस्तक्षेप स्वीकार्य नहुने बताए । ‘नेपाल नेपालीको हो । नेपाल अरु कसैले चलाउने होइन । लोकतन्त्र नेपालको शासन हो । नेपाली जनताको शासन हो । नेपाली जनता, लोकतन्त्र हार्न हुँदैन, विकास हार्न हुँदैन, सुशासनको प्रयास हार्न हुँदैन,’ उनले भने ।
संविधान दिवसलाई राष्ट्रिय दिवसका रूपमा मनाउन नेकपा एमालेले काठमाडौंमा पदयात्रा सुरु गरेको हो । पदयात्रा बिहान ७ बजेबाट उपत्यकाका बानेश्वर, मैतिदेवी, लैनचौर, कालिमाटी र ललितपुरको कुपण्डोलबाट शुरू भएको थियो । पदयात्रा कार्यक्रममा अध्यक्ष ओलीकी धर्मपत्नी राधिका शाक्य, महासचिव शंकर पोखरेल, उपाध्यक्ष एवं संविधान सभा अध्यक्ष सुवासचन्द्र नेम्वाङ, उपाध्यक्ष अष्टलक्ष्मी शाक्यलगायतका नेताहरुको उपस्थिति रहेको थियो ।








