चोलेन्द्रसँग बयान लिँदै महाभियोग सिफारिस समिति, के-के साेध्दैछ प्रश्न ?

काठमाडाैँ । महाभियोग सिफारिस समितिले निलम्बित प्रधानन्यायाधीश चाेलेन्द्रशमशेर जबरासँग बयान लिँदैछ । विभिन्न सम्बन्धित निकाय तथा ठाउँहरूबाट प्राप्त प्रतिवेदन एवम् दस्तावेजहरूका आधारमा जबरासँग बयान लिइने समिति सदस्य एकवाल मियाँले मकालुखबरसँग बताए । ‘१०/११ ठाउँबाट प्रमाणहरू मागेका थियाैँ, आइसकेकाे छ । अब यसकै आधारमा हामीले उहाँसँग बयान लिने हाे,’ सदस्य मियाँले भनेका छन् ।

निक्षेपकर्ता हकहित संरक्षण समिति, पूर्वन्यायाधीश फोरम नेपाल, नेपाल बार एशोसिएनलगायत १० ठाउँबाट प्रमाणहरू संकलन गरिएकाे छ  । संकलित प्रमाणलाई एकत्रित गरेर समितिमा रहेका सदस्यहरुलाई वितरण गरिएको छ । अझै कसैले प्रमाण दिए त्यसलाई पनि समावेश गरेर अध्ययन गरिने सदस्य मियाँले बताएका छन् । ‘अरु ठाउँबाट प्रमाणहरू आउने सम्भावना छ,’ उनले भनेका छन्, ‘यदि आयाे भने त्याेसहित अध्ययन गरेर प्रश्नकाे रूपमा समावेश गर्छाैँ ।’

समितिकाअनुसार जबराविरुद्ध प्रमाणको ठूलो सूची तयार भएको छ । विभिन्न व्यक्ति र संस्थाले उपलब्ध गराएकाे र समिति आफैँले संकलन गरेकाे प्रमाणहरूमा मुख्यगरी जबराको आचरणमाथि प्रश्न उठाइएकाे छ । सोही आधारमा जबरालाई प्रश्नहरू साेधिनेछ ।

प्रधानन्यायाधीश जबरामाथि खासगरी कार्यक्षमताको अभाव देखिएको, न्यायाधीशहरूकाे बीचमा समन्वय नगरेको/गर्न नसकेको विषयमा प्रश्न तयार पारिएकाे छ । प्रश्नहरूबारे बताउँदै समितिका अर्का एक सदस्यले मकालुखबरसँग भनेका छन्, ‘उहाँको दायित्व हो, सबै न्यायाधीशहरूलाई मिलाएर न्यायलय चलाउने, सबैको राय लिएर संस्थाको काम गर्नुपर्ने हो । तर, त्यस्तो किन देखिएन । उहाँले यो गम्भीर प्रश्नको जवाफ दिनुपर्ने हुन्छ । यी विषयहरू पनि प्राप्त प्रमाणहरूमा छन् । यी नै विषयहरूलाई हामीले प्रश्नका रूपमा उहाँलाई राख्नेछाैँ । र, उहाँबाट जायज प्रश्नहरूकाे माग गर्नेछाैँ ।’

रञ्जन कोइरालाको मुद्दाको विषयमा गरेको फैसलालाई पनि समितिले प्रश्न बनाएकाे छ । न्यायमा विचलन, इमान्दारिताको अभाव, इमानदारीपूर्वक पदीय कर्तव्य निर्वाह नगरेकोलगायतका विषयहरू प्रमाणका रूपमा भएकाे हुँदा यी नै सन्दर्भहरू प्रश्नका रूपमा रहेकाे ती सदस्य बताउँछन् । उनी थप्छन्— ‘प्रश्नहरू कम्भीर प्रकृतिका बनेका छन् । यसकाे जवाफ उहाँले दिनुपर्छ ।’

मुद्दामा चलखेल गरेको, कार्यपालिकासँग साँठगाँठ गरेर अनुचित लाभ लिन खाेजेको, सरकारमा भाग खाेजेकाेगायतका विषयहरू पनि प्रश्न बनाइएकाे छ । क्रमश: उनलाई प्रश्नहरू गरिने र अन्तिममा उनैलाई ‘थप केही भन्नू छ ?’ भनेर साेधिने ती सदस्यले बताएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *