ईश्वर दाहालको उपन्यास ‘मध्याह्न, झुल्के घाम र गोधूली’ लोकार्पण

काठमाडौं । लेखक तथा पत्रकार ईश्वर दाहालको उपन्यास ‘‘मध्याह्न, झुल्के घाम र गोधूली’ सार्वजनिक भएको छ । आख्यानकार बुद्धिसागर, लेखक तथा पत्रकार वसन्त बस्नेत, समाजशास्त्री नारायणी देवकोटा र उपन्यासका लेखक ईश्वरले पुस्तकको संयुक्त रुपमा विमोचन गरेका हुन् । शुक्रबार राजधानीमा आयोजित एक् कार्यक्रममा उपन्यासमाथि अन्तर्क्रिया समेत गरिएको थियो ।

आख्यानकार बुद्धिसागरले उपन्यासमा लेखकले चली आएको शैलीबाट मुक्त भई नयाँ शैली प्रयोग गरेको बताए । ‘उपन्यास सुरु कसरी भएको छ, त्यसपछि म पूरा पढ्ने कि नपढ्ने निर्धारण गर्छु । नेपाली भाषाका उपन्यासमा प्राम्भमा खासै काम हुन्न‌। तर उहाँले सुरूवात प्रभावकारी ढङ्गले गर्नुभएको छ । पुस्तकको कथा भन्ने शैली राम्रो लाग्यो,’ बुद्धिसागरले भने ।

लेखक तथा पत्रकार वसन्त बस्नेतले ईश्वरको उपन्यासले पत्रकारको इतिहास लेख्न सकेको बताए ।‌ ‘इतिहासको ड्राफ्ट पत्रकारिताले कोर्ला । पत्रककारको इतिहास भने ईश्वर जीको उपन्यासले लेखेको छ,’ वसन्तले भने, ‘उहाँले पत्रकारिता जीवनमा आफू र आफूले भोगेको संघर्षलाई उपन्यासमा कथा बनाउनुभएको छ ।’

लेखक वसन्तले ईश्वरले उपन्यासमा पात्रहरूको परिवेश र अन्तरसंघर्षबारे मीठो शैलीमा प्रस्तुत गरेको बताए । ‘ईश्वर जी पहाडमा हुर्कनुभयो । तर उहाँको कथा तराईमा सरल बग्ने कोसीजस्तो छ,’ वसन्तले भने । विसं २०४६ सालयता नेपालमा भएका राजनीतिक परिवर्तनलाई आम मान्छेको आंखाबाट उपन्यास लेखिएको वसन्तले बताए ।

समाजशास्त्री नारायणी देवकोटाले देशको राजनीतिक परिवर्तनलाई रोचक ढङ्गले लेखकले उपन्यासमा प्रस्तुत गरेको बताइन् । ‘उहाँको उपन्यासले पात्रको जिन्दगीबाट इतिहास भन्छ । किनारामा बसेर साक्षीले भन्दा ऐतिहासिक कुरा आउँछु,’ नारायणीले भनिन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *