पशुपतिमा साउने सोमबारको तयारी, सफाइ अभियान सुरु

काठमाडौं । साउन महिनामा आराध्यदेव भगवान् पशुपतिनाथको पूजा आराधना एवं दर्शनका लागि आउने भक्तजनको सहजताका लागि पशुपति क्षेत्रमा सफाइ अभियान सुरु गरिएको छ ।

साउन महिना र सोमबार आशुतोष भगवान् शिवको महिना र बार मानिने भएकाले एकैदिन लाखौँ भक्तजन पशुपतिनाथको पूजा आराधना एवं दर्शनका लागि आउने गर्दछन् । भक्तजनलाई सहज रूपमा सेवा दिने उद्देश्यले पशुपति क्षेत्र विकास कोषले आजदेखि सफाइ अभियान सुरु गरेको कार्यवाहक सदस्य सचिव एवं कोषाध्यक्ष मीनाकुमारी श्रेष्ठले जानकारी दिइन् ।

पहिलो दिन आज पशुपतिनाथ मूल मन्दिर क्षेत्रबाट सूर्य घाटसम्म सफाइ गरिएको छ । यस अभियानलाई आइतबार अपराह्नपछि पनि निरन्तरता दिइने उनले बताइन् ।

आइतबार मूल मन्दिर बन्द भएपछि सूक्ष्म रूपमा सफाइ गर्न लागिएको जनाउँदै यसमा सुरक्षा निकायलाई पनि सहभागी गराइने उनले उल्लेख गरिन् । पहिलो दिनको पशुपति क्षेत्रको सफाइमा दर्जन बढी सङ्घसंस्थाको सहभागिता थियो ।

कोषले आजदेखि सुरु गरेको सफाइ अभियानलाई प्रत्येक हप्ताको शनिबार पनि निरन्तरता दिने तयारी गरिएको कोषाध्यक्ष श्रेष्ठले बताइन् । उनका अनुसार साउनका लागि भने आइतबार र अन्य दिनमा पनि आवश्यकताअनुसार विशेष सफाइ अभियान सञ्चालन गरिने छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 + ten =