राष्ट्रपतिको राजीनामा : एमाले भन्छ, प्रधानमन्त्री कार्यालयले अफवाह उडायो

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले प्रधानमन्त्री कार्यालयबाट राष्ट्रपतिले राजीनामा दिने लागेको भन्दै अफवाह उडाइएको बताएको छ । एमालेले सत्ता गठबन्धनसँग राजनीतिका लागि अरू मुद्दा नभएको भन्दै अनावश्यक रूपमा राष्ट्रपतिलाई विवादमा तान्ने प्रयास भइरहेको बताएको हो ।

एमालेका एक जना प्रभावशाली युवा नेताले मकालुखबरसँग भने, ‘चुनावको बेलामा यस्ता अनेक अफवाह फैलाइन्छन् । राष्ट्रपतिज्यूले त्यस्तो कुनै तयारी गर्नुभएको छैन । पार्टीभित्र पनि त्यस्तो छलफल भएको छैन ।’

प्रधानमन्त्रीको सचिवालयले सञ्चारमाध्यमलाई उक्त अफवाह फैलाउन लगाएको भन्दै उनले यसप्रकारका खबरमा विश्वास नगर्नसमेत आग्रह गरे । उता बालुवाटारमा भने राष्ट्रपतिले राजीनामा दिन लागेको भन्दै छलफल तथा परामर्श अघि बढेको छ ।

बालुवाटार स्रोतका अनुसार राष्ट्रपति विद्यादेवी भण्डारीले राजीनामा दिइहालेमा राजनीतिक कार्यदिशा के-कसरी अगाडि बढ्छ भन्नेतिर मात्रै बालुवाटारले परामर्श थालेको बताइएकध छ । कांग्रेसभित्र समेत आन्तरिक रूपमा त्यसबारेमा छलफल भएको स्रोतले जनाएको छ ।

यता, बुधवार साँझ राष्ट्रपति भण्डारीले आफ्ना पूर्व तथा वर्तमान सुरक्षाकर्मीहरूलाई शीतल निवास बोलाएर धन्यवाद दिएको समाचार सार्वजनिक भएपछि उनले राजीनामा दिन लागेको अड्कल भने आम भएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

13 + two =