नजिकिँदै तीज

‘तीज र रत्याैलीका गीतबिच फरक देखिँदैन’

तीजको बेलामा सबै जान्छन् मेलामा,
म छोरीको आँसु खस्यो दैला ठेलामा ।
तीजको लहर, आयो बरीलै !

केही वर्ष अघिसम्म नेपाली हिन्दू महिलाले मनाउने धार्मिक एवम् सांस्कृतिक महत्त्व बोकेको पर्व हरितालिका तीज नजिकिँदै गर्दा गाउँ, सहर, गल्ली चोक, घर-घरमा यस्तै गीतहरू गुञ्जन्थे । तीजका यस्ता गीतले महिलाले सासु/ससुरा र श्रीमान्‌काे खटनले मन लागेको बेलामा माइत जान नपाएका, माइतीबाट बुबा, दाजुभाइ लिन नआएका पीडा अभिव्यक्त गरेका हुन्थे । तर, अब त्यो समय रहेन । नेपाली नारीहरूको महान् चाड तीजको ऐतिहासिक मौलिकपन दैनन्दिन खस्किँदै जान थालेको छ । पछिल्लो समय तीज पर्व मनाउने शैलीमा तडकभडक र विकृति बढ्दै गएको गुनासो व्यापक बन्दै जान थालेको छ ।

म्याग्दीको बेनी नगरपालिका–२ की ७१ वर्षीया गोमादेवी उपाध्यायले विगतका दिनमा आफूले तीज पर्वलाई नेपाली संस्कृति र आफ्नै मौलिकपनमा मनाउने गरेको सम्झँदै भने, ‘म सानो छँदा गाउँघरमा मादलको तालमा सुखदुःख समेटिएका गीत गाउँदै छमछमी नाचेर तीज मनाएको आज पनि झल्झली सम्झन्छु तर, आजभोलि तीजका गीत सुन्दा तीजका हुन् कि रत्यौलीका छुट्याउनै गाह्रो हुन्छ ।’

विगतका दिनमा गाउँघरमा साथी सहेली, फुपू अमजू, ठूलीआमा, सानीआमा सबै महिला दिदीबहिनी एकै ठाउँमा जम्मा भइ दुःखसुखका गीत गाएर, नाचेर वर्षभरिका पीडा भुल्ने गरेको उनको भनाइ छ । सानो छँदा तीज पर्व मनाउन आफूले मादलको तालमा छमछमी नाचेको सम्झँदै भने, ‘आजभोलि त हामीले मनाउने तीज, तीजजस्तो लाग्दैन, उच्छृङ्खल, तडकभडक र देखासिखीको चाडजस्तो लाग्छ ।’

दिन प्रतिदिन परम्परागत संस्कार र संस्कृतिअनुसारको नेपाली मौलिकपन नहुँदा गोमादेवी मात्रै होइन, पुरानो पुस्ताका प्रायः सबै महिलाका साथै नयाँ पिँढीका सामान्य महिला पनि चिन्तित छन् । बेनी मङ्गलाघाटकी अमृतदेवी बानियाँ पनि चाडपर्वको नाममा पछिल्लो समय पश्चिमी संस्कार हाबी भएको दाबी गर्छन् । महिला अधिकारकर्मीसमेत रहेकी बनियाँ भन्छन, ‘तीज वर्षभरिको दुःखसुख साटासाट गर्ने पर्व भएपनि अहिले पश्चिमी संस्कारले विकृति ल्याएको छ ।’

अर्की महिला अधिकारकर्मी तथा सामाजिक अभियन्ता जमुना आचार्य पनि तीज पर्व मनाउने नाममा महिला दिदीबहिनीको भावनालाई ठेस पुर्‍याउने खालका उच्छृखङ्ल गीतको नियन्त्रण गर्नुपर्ने बताउँछिन् । चाडपर्व, संस्कृति र पहिचानलाई बचाइराख्न नेपालीपनको भावना, आस्था र विश्वासको खाँचो रहेकाे भन्दै उनले भनेकी छन्, ‘हिजाेआजकाे तीज तीजजस्ताे छैन । पछिल्लाे समय देखिँदै आएकाे समस्यालाई नियन्त्रण गर्नुपर्ने बेला आएकाे छ ।’

परम्परादेखि नेपाली नारीले तीज पर्वलाई रमाइलो गरी मनाउँदै आएकाले यो पर्व नेपाली दिदीबहिनीको लागि महत्त्वपूर्ण मानिन्छ । मालिका–७ देविस्थानकी इन्द्रमती फगामी पनि तीज पर्व महिला दिदीबहिनीका लागि दुःख बिसाउने पर्व भएको बताउँछन् । उहाँकाअनुसार विगतमाझैँ तीज पर्व मनाउने चलन गाउँघरतिर पनि विस्तारै हराउँदै गइरहेको छ ।

फगामी भन्छिन्, ‘तीज आउनु एक महिना अघिदेखि गाउँघरतिर एकैठाउँमा जम्मा भएर मादलको तालमा नाचगान गर्ने चलन थियो, आज एउटाको घर त भोलि अर्को घरमा तीजको नाचगान गरेर मनाउँथे । अहिले तीजको मौलिकपन हराउँदै गइरहेको छ । तीजमा रमाइलो गरी मनाइने आफ्नै संस्कृति र परम्पराभन्दा टिभीमा आउने गीत र सिरियलप्रति आकर्षित भएका छन् ।’

त्यसैगरी डम्मराकी प्रिया कार्की पनि नेपाली नारीहरूको लागि तीज पर्वको महत्त्व रहेको बताउँछन् । तीज मनाउन महिलाले अरुको देखासिकी, तडकभडकभन्दा संस्कृति बचाउन अघि बढ्नुपर्ने उहाँको तर्क छ । महिलाले तीज मनाउँदा पश्चिमा संस्कृति छोड्नुपर्ने प्रियाको धारणा रहेको छ । उनले भनिन्, ‘आजभोलि तीजमा राम्रो देखिन महिला फजुल खर्च गरेर पश्चिमी संस्कृतितिर आकर्षित भइरहेका छन् । विगतमा महिलाले भोग्नुपरेका समस्यालाई गीतको माध्यमबाट भन्ने गर्दथे । पछिल्लो समयमा नेपाली संस्कृतिका कारण नेपाली मौलिकता र पहिचान नै हराउने अवस्थामा पुगेको छ ।’

तीजमा विवाहित महिला राता साडी र रातै चुरामा सजिएर आफ्ना श्रीमान्‌काे दीर्घायुको कामना गर्दै त्यस दिन पानीसमेत नखाइ ब्रत बस्ने गर्दछन् भने अविवाहित महिला राम्रो श्रीमान् पाउने आशमा यो पर्व मनाउने गरेको धार्मिक विश्वास रहँदै आएको बताउँछन् ज्यामरुककोट बगरफाँटकी अम्बिका शर्मा । उनी भन्छिन्, ‘आजभोलिका गीतमा हाँसो ठट्यौली र रत्याैली खेलेजस्तो लाग्छ । तीजमा महिला आफूलाई अरुको सामु राम्रो देखाउन चाहिनेभन्दा धेरै खर्च गर्ने गर्छन् । तीजलाई संस्कृतिसँग जोड्न अरुको देखासिखी गर्नु हुँदैन ।’

पवित्राले परम्परादेखि मनाउँदै आइरहेको तीजको अस्तित्व जोगाउन सबैले आफ्नो भाषा, संस्कृति र संस्कारको जगेर्ना गर्न लाग्नुपर्ने उनको भनाइ छ ।

तीजका गीतमा वर्गीय प्रभाव

रातो सारी पहिरिएर सुखदुःखका भाका गाउँदै माइतीको आँगनमा छमछमी नाच्ने पर्वका रूपमा तीजलाई लिइन्छ । आफ्ना साथीसङ्गीसित नाचगान गर्दै सुखदुःख साटासाट गर्दा महिलाले वर्ष दिनभर भोगेको आफ्नो व्यथा हलुङ्गो भएको महसुस गर्छन् भन्ने मान्यतासमेत राखिन्छ ।

त्यसो त केही वर्षयता तीज मनाउने परम्परागत शैलीमा व्यापक परिवर्तन आएको छ । नाचगान, गीत, पहिरनका क्षेत्रमा आएको परिवर्तनले तीजको मौलिक स्वरूप पूरै हराउने अवस्था देखिएको छ । गायिकासित नारिएर गायक पनि तीज गीत गाउँदै रमाउन थालेका छन् भने परम्परागत लोकलय र वाद्यवादन शैली पनि पूरै विस्थापित हुने हो कि भन्ने खतरा छ ।

तीजको सांस्कृतिक पक्षभन्दा बढी व्यापारिक भएर विकृत हुने खतरा बढेकाे छ । यस्तै तीज नजिकिँदै जाँदा तीज गीत सार्वजनिक हुने क्रम बढेको छ । गाउँदेखि सहरसम्म तीजका नयाँ पुराना भाका घन्किन थालेका छन् । सञ्चारमाध्यम र सोसल मिडियामा झपक्कै गरगहना र महँगा साडी लगाएर पाश्चात्य शैलीका गीतमा नाच्दै रमाइरहेका महिलालाई देख्दा ग्रामीण भेगका वनजङ्गल र मेलापात गर्नुपर्ने विपन्न महिलालाई हीनताबोधसमेत हुने गरेको पाइन्छ ।

धार्मिक आस्था र सामाजिक सद्भाव झल्कनुपर्ने तीज पर्वलाई हुँदा खाने र हुने खाने वर्गको वर्गीय पहिचान हुने चाँड बनाइँदै लगिएको म्याग्दीका पुराना गायक तथा राजनीतिककर्मी नेत्रबहादुर महत बताउँछन् । उनले भनेका छन्, ‘धार्मिक आस्था र पारस्पारिक मिलनको रूपमा लिइनुपर्ने तीज पर्वलाई गहना र फेसन प्रदर्शन गर्दै मासु र मदिरासहित उछृङ्खल गतिविधि प्रदर्शन गर्ने अवसरका रूपमा लिइयो । यसले संस्कृतिको संरक्षण हुने होइन, नराम्रो विकृति निम्तनुका साथै पर्वको मौलिकता नै हराउँदै जान्छ ।’

‘तीजमा अरुलाई देखाउनै लागि महँगा साडी, महँगा मोबाइललगायतका चिजहरू किनिन्छन् । हुने र सक्नेले यसलाई वैयक्तिक स्वतन्त्रताको नाम दिन्छन् तर नहुने र देखासिकी गर्ने महिलाका लागि तीज चाड होइन, कहर बन्न पुग्छ’, महत भन्छन् ‘उछृङ्खलता स्वतन्त्रता हुन सक्दैन र सामाजिक र धार्मिक चाडपर्व मनाउने नाममा वर्गीय भिन्नता देखिने सार्वजनिक कार्यक्रमहरू गर्न दिइनु हुँदैन ।’

महतका अनुसार कुनै तीज गीत परिवारसँगै बसेर हेर्न र सुन्न नसकिने खालका छन् । उत्ताउलो पहिरन, पश्चिमी शैलीको नृत्य, म्युजिक भिडियोमा गरिने अभिनय त्यति नै अराजक हुँदा तीज गीत नै हो भन्न सकिने अवस्था छैन । यसले तीजको संस्कृतिलाई विकृत बनाइरहेको छ ।

सुनिदैन विरह देखिन्छ मनोरञ्जन
‘पैतालुको खाला गयो बिझाउने बाटोले
हृदयको खाला गयो बासी आँटोले ।’

बदलिँदो समय, फेरिदो आर्थिक अवस्था र आधुनिक जीवनशैलीप्रति बढ्दो आकर्षणका कारण विरह र बेदना समेटिएका गीतहरू हिजोआज सुनिदैनन् । तीज पर्व महिलाले वर्षभरि भोग्नुपरेका दुःख, पीडा र व्यथा बाहिर ल्याउने पर्व हो । लोक संस्कृति झल्काउने खालका गीत गाउँथे तर अहिले यस्ता गीतहरू लोप हुने अवस्थामा पुगेको समाजका अगुवा महिला अधिकारकर्मी बताउँछन् । महिलाले सासू–ससुरा र पतिको अन्यायका विरुद्ध आवाज उठाउने संस्कृतिमा रुपमा गाउने भाका अहिले फेसनका रुपमा भित्रिन थालेको छ ।

पहिलापहिला तीजका गीतमा दुःख, वेदनाका भाव झल्कन्थे । माइतबाट कोही लिन नआएको, घाँस, दाउरा बोकेर बसेको, माइती लिन आउलान् भन्दै बाटो हेरेकोेजस्ता कुरा तीज गीतमा हुन्थे, अहिले संस्कृतिभन्दा मनोरञ्जन र तामसी भावका गीत बढी छन् ।

आजभोलि तीजका गीतमा हरिदेवी कोइराला, वीमाकुमारी दुरा, देवी घर्तीलगायत लोकप्रिय र संस्कृतिप्रेमी गायिका सुनिँदैनन् । न लक्ष्मी न्यौपाने, शर्मिला गुरुङलगायतले गाएका सांस्कृतिक गीतहरू नै सुन्न पाइन्छ । अहिले बजार र गाउँघरमा समेत तामसी प्रवृत्तिका गीतहरू बर्गेल्ती सुनिन्छन् । ती गीतमा हुँदैनन् महिलाका बेदना र विरह । मात्र त्यहाँ देखिन्छ, मनोरञ्जन र छाडापना । म्याग्दीका साहित्यकार अजयमिलन श्रेष्ठका अनुसार तीजका गीतमा बिरह सुनिदैन, मनोरञ्जन मात्रै देखिन्छ ।

ओझेल पर्दै धार्मिक पक्ष

तीज पर्व भगवान शिव र पार्वतीसँग जोडेर मनाउने पर्व हो । यस पर्वमा महिलाहरू अघिल्लो दिन दर खाएर भोलिपल्टअर्थात् हरितालिकाको दिन निरहार पानी पनि नखाई व्रत बसी भगवान शिवको पूजा गर्दछन् । विवाहित महिलाले आफ्नो पतिको दीर्घायुको कामना गर्दै र अविवाहित महिलाले भगवान शिवजस्तो असल, गुणी, राम्रो पति पाऊँ भन्दै व्रत बस्ने प्रचलन रही आएको छ ।


हिन्दू धर्म ग्रन्थमा भगवान शिवलाई पति पाउँ भनेर देवी पार्वतीले गरेको व्रतको प्रभावले शिव नै स्वामी पाएको भन्ने धार्मिक जनविश्वास रहँदै आएको छ तर हिजोआज तीज पर्वको धार्मिक पक्ष नै ओझेलमा पर्दै गएको छ । म्याग्दीका पण्डित नीलकण्ठ आचार्यका अनुसार तीज व्रत देखाउनैका लागि मात्र बसिएको हो कि जस्तो लाग्न थालेको छ । एक डेढ महिनासम्म ‘दरखाने’ नाउँमा नानाथरिका परिकारहरू खाने, रमाउने र एकदिन फलफूल र बजारमा पाइने पेय पदार्थ पिएर ब्रत बसें भन्नुको कुनै अर्थ रहँदैन ।

नेपाली महिलाले पनि निरहार दिनभरि व्रत बसेर राति पतिलाई टीका लगाई खुट्टाको पानी खाने प्रचलन छ तर अहिले संस्कृतिमा खुट्टाको पानी खानु स्वास्थ्यका लागि राम्रो होइन भनेर धरै महिलाले त्यसो गर्न छाडिसकेका छन् । निरहार व्रत बस्ने चलन पनि हट्दै गएको छ । बिरामी, अशक्त मात्र नभई अन्य महिलाले पानी, फलफूल, जुस खाएर व्रत बस्ने गरेका छन् । व्रत बस्दा स्वास्थ्यलाई ध्यान दिएर बस्नु राम्रो हुन्छ, निरहार व्रत बस्नुपर्छ भन्ने कुनै शास्त्रमा उल्लेख नभएको पं आचार्यको भनाइ छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen − seventeen =