‘राजनीति सफा गर्ने अभियान जरुरी छ’

काठमाडाैँ । हाम्रो पार्टी नेकपा (माओवादी केन्द्र) को यसअघि नै निर्णय भैसकेको अध्यक्ष, वरिष्ठ उपाध्यक्ष र उपाध्यक्षबाहेक महासचिवलगायत बाँकी पदाधिकारीहरूले पूर्णता पाएको छ । ८औं राष्ट्रिय महाधिवेशनले पारित गरेको विधानको व्यवस्था र पछिल्लो केन्द्रीय समितिको बैठकको निर्देशनअनुसार पदाधिकारीहरू चयन क्रममा जिम्मेवारी प्राप्त गर्नुभएका सबै कमरेडहरूलाई बधाई तथा सफल कार्यसम्पादनको निम्ति शुभकामना छ ।

तर यस, अवसरमा स्पष्ट हुनुपर्ने कुरा के हो भने हाम्रो सफलता वा असफलता हाम्रा सामु चुनौतीपूर्णरूपमा उपस्थित निम्न कार्यभारहरू पूरा गर्न सक्नेछौँ वा सक्नेछैनौँ भन्ने कुराले निर्धारित गर्नेछ ।

एक, राष्ट्रिय एकता सुदृढ गर्नु र नेपालको राष्ट्रिय सार्वभाैमिकता, भौगोलिक अखण्डता, स्वाधीनता ,स्वाभिमान र हितको रक्षा गर्नु र सबल पार्नु । नेपालको भू-राजनीतिक संवेदनशीलताको उपेक्षा, स्वतन्त्र एवम् असंलग्न परराष्ट्रनीतिबाट बिचल , शक्तिराष्टहरूको संलनता एवम् भूमिकामा बढोत्तरीसहित राष्ट्रिय स्वाधीनतामा संकट तथा जोखिमको खतराबाट मुलुकलाई बचाउनु छ ।

दुई, नेपालमा ठूलो बलिदानीपूर्ण संघर्षद्वारा स्थापित संघीय गणतन्त्रात्मक समाजवादउन्मुख समावेशी लोकतन्त्रका उपलब्धिहरूको रक्षा गर्नु, त्यसलाई व्यवहारमा कार्यान्वयन गर्नु, विस्तार एवम् विकास गर्नु । तर परम्परागत संसदीय गणतन्त्रभन्दा उन्नत तथा नयाँ जनवादभन्दा भिन्न हामो मौलिकतामा स्थापित आजको नयाँ प्रकारको लोकतन्त्रको रक्षा एवम् विकास गर्नुपर्नेमा व्यवहारमा प्रतिगमनलाई ब्यहोर्दै परम्परागत संसदीय गणतन्त्रको अभ्यासको दिशामा अघि बढिरहेको नकारात्मक राजनीतिक अवस्था लाई फेरेर अग्रगामी दिशामा लैजानु आवश्यक छ ।

तीन, राजनीतिक परिवर्तनलाई सामाजिक-आर्थिक क्षेत्रमा विस्तारित गरेर सामजिक न्यायसहितको समृद्धि हाँसिल गर्नु र जनजीविकाका आधारभूत समस्याहरू समाधान गर्दै समाजवादको आधार तयार पार्नु पर्दछ । तर राजनीतिक परिवर्तनबाट आर्थिक परिवर्तनको अपेक्षा पूरा हुन नसकेको र तात्कालिक आर्थिक संकट एवम् जोखिम समाधान भइनसकेको अवस्था छ । वैदेशिक सहयोग, भन्सार राजस्व र विप्रेषणबाट देश चलाउने प्रवृत्ति, पुँजीगत खर्च कार्यान्वयनको दयनीय अवस्था एवम् कहालिलाग्दो व्यापार घाटाको निरन्तरता, चरम् भ्रष्टाचार र नवउदारवादको पक्षपोषणबाट आर्थिक संकटको समाधान र न्यायपूर्ण विकास असम्भव छ भन्ने कुरा स्पष्ट छ । हामी ले यसलाई बदल्नै पर्नेछ ।

चार, समाजवाद निर्माणको रणनीतिक लक्ष्य हासिल गर्नु, समाजवादी क्रान्ति सम्पन्न गर्नु । हाम्रो समाजवाद एकातिर सारतत्त्वमा पुँजीवाद नै रहेको प्रजातान्त्रिक समाजवाद भन्दा बिलकुल भिन्न रहनेछ भने अर्कोतिर गतकालमा अभ्यास गरिएको ‘सोभियत मोडेल’ काे समाजवादका कमजोरीहरू सच्च्याइएको आजको २१औं शताब्दीअनुरूपकाे नयाँ मोडेलको उन्नत समाजवाद हुनेछ । यो वैज्ञानिक समाजवादको मूल मान्यतामा आधरित हुनेछ ।

उपरोक्त कार्यभार पूरा गर्नको निम्ति आमरूपमा नेपाली राजनीतिमा देखा परेको विकृति एवम् भ्रष्टीकरण-आदर्श, विचार, सिद्धान्त, देश तथा जनताको हितकेन्द्रित लक्ष्य, मूल्य, नैतिकताको डरलाग्दो ह्रासको बेगलाई रोक्न र फेर्न जरुरी छ । राजनीति सफा गर्ने आन्दोलनात्मक अभियानबिना यो सम्भव छैन । नेपाली देशभक्तिपूर्ण आन्दोलनको अग्रणी शक्ति र नेपाली समजको क्रान्तिकारी रूपान्तरणको नेतृत्वदायी शक्ति हुनुको नाताले नेपाली कम्युनिष्ट आन्दोलन र हाम्रो पार्टीको मुख्य समस्याका रूपमा रहेको वैचारिक-सांस्कृतिक समस्याको समाधान गर्नु आजको आवश्यकता हो ।

अर्थात् वैचारिक-सांस्कृतिक रूपान्तरणको ठूलो अभियानद्वारा पार्टी र कम्युनिष्ट आन्दोलनको क्रान्तिकारी रूपान्तरण र पुनर्गठन यतिबेलाको ऐतिहासिक आवश्यकता हो । इतिहासले सुम्पिएको यो जिम्मेवारीलाई गम्भीरतापूर्वक आत्मसात गर्दै यसलाई पुरा गर्ने दिशामा दृढतापूर्वक अघि बढ्नु हाम्रो कर्तव्य हो । तात्कालिनरूपमा आसन्न चुनावी मोर्चाको संघर्षलाई त्यसअन्तर्गतकै कामको रुपमा बुझिनु पर्दछ । त्यसैले अध्यक्ष कमरेडको नेतृत्वमा रहेको वर्तमान पदाधिकारी टिमले यस ऐतिहासिक कार्यभार पूरा गर्ने दिशामा ठोस गुणात्मक कार्य गर्ने जिम्मेवारी प्राप्त नेतृत्व टिमको रूपमा आफूलाई बुझ्नुपर्दछ र त्यसैअनुसार एकता एवम् समर्पनका साथ क्रियाशील हुनुपर्दछ ।

अन्यथा हाम्रो पदको कुनै तात्त्विक अर्थ रहने छैन । आफ्नो तर्फबाट यस निम्ति प्रतिबद्धता व्यक्त गर्दै सम्पूर्ण पदाधिकारी कमरेडहरूलाई समेत हार्दिक एवम् गम्भीर अपील गर्दछु । हाम्रो सफलता, असफलताको कसी यही हुनेछ ।

उपरोक्त चार कार्यभारहरू पूरा गर्न र त्यसका लागि हाम्रो पार्टी र समग्र कम्युनिष्ट आन्दोलनको रूपान्तरण एवम् पुनर्गठन गर्न अघि बढ्दा सर्वप्रथम हाम्रो सकारात्मक पक्षहरूको बारेमा स्पष्ट हुँदै त्यसलाई आत्मसात गर्नु जरुरी छ । एक, हाम्रो पार्टी अहिलेकै अवस्थामा पनि नेपालका प्रमुख राजनीतिक पार्टीहरूमध्ये सबैभन्दा राम्रो परिवर्तनकारी पार्टी हो । दुई , सामाजिक न्यायसहितको समृद्धिकाे तात्कालिक कार्यनीतिक कार्यभार र वैज्ञानिक समाजवादको मूल्य मान्यतामा आधारित समाजवाद निर्माणको रणनीतिक कार्यभार पूरा गर्न सक्षम क्रान्तिकारी पार्टीका रूपमा रूपान्तरण एवम् विकासको सम्भावना पनि हाम्रो पार्टीमा नै छ । निम्न तथ्यहरूले हाम्रो पार्टीमा नै त्यो सम्भावनाकाे आधार रहेको स्पष्ट गर्दछ; एक, आजको परिवर्तन र उपलब्धीको मुख्य बाहक शक्ति हाम्रो पार्टी हो, जुन कुरामा हामी गर्व गर्न सक्छाैँ ।

दुई, ऐतिहासिक परिवर्तनलाई संस्थागत गरिएको वर्तमान संविधानमाथि प्रतिगामी प्रहार हुँदा प्रतिगामी कदमविरुद्ध व्यापक संघर्षको अगुवाइ गरेर तात्कालिक प्रतिगमनलाई असफल पार्न मुख्य भूमिका खेल्ने शक्ति पनि हाम्रो पार्टी नै हो । तीन, हाम्रो पार्टी आफ्नो मूल नेतृत्वदायी भूमिकामा हाँसिल गरिएको परिवर्तनलाई ऐतिहासिक महत्त्वको परिवर्तन ठान्दछ र यसका उपलब्धीहरूको रक्षाको पक्षमा पनि दृढ छ । तर हाम्रो पार्टी अहिलेको यो परिवर्तनलाई पूर्ण र अन्तिम ठान्दैन, बरु समाजवादी व्यवस्थाकाे स्थापना गर्न दृढ छ । चार, हाम्रो पार्टी नै त्यो पार्टी हो जसले आफ्नो कमजोरी र रोगको स्पष्ट पहिचान एवम् सार्वजनिक स्विकारोक्तिका साथ त्यसलाई सच्च्याउने वा उपचार गर्ने प्रतिबद्धता व्यक्त गरेको छ ।

तसर्थ, हाम्रो पार्टीको रूपान्तरणको सम्भावना छ किनकि यो सम्भावना आधार हामीभित्र छ । तर त्यसको शर्त हो, हामी आफैँ आफ्नो निष्कर्षप्रति इमान्दार भएर रूपान्तरित हुन तयार हुनुपर्छ । सही नयाँ निष्कर्ष तर पुरानै यथास्थितिवादी व्यवहारकाे निरन्तरता, आजको हाम्रो मुख्य समस्या र चुनौती हो । यसको सकारात्मक समाधान गर्ने साहस हामीले देखाउनैपर्छ । पार्टीले हामीलाई महत्त्वपूर्ण जिम्मेवारी सुम्पिएको यस अवसरमा आउनुहोस् एकताबद्ध भएर पूर्ण समर्पणका साथ यस दिशामा अघि बढ्ने संकल्प गराैँ ।

–कुराकानीमा आधारित

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *