चितवन क्षेत्र नं. ३ : प्रचण्डलाई जित्न कति सहज, कति असहज ?

चितवन । ‘म चितवनबाटै लड्छु । मैले एकदम प्रस्टसँग ४/५ महिना अगाडिदेखि भनेको छु । म अन्तबाट होइन । अहिले चितवनबाटै चुनाव लड्छु । चितवनको पनि क्षेत्र नम्बर ३ बाट नै चुनाव लड्छु क्लियर हुनुहोला । बरु तपाईंहरू जापानमा बस्ने साथीभाइहरूले पनि सहयोग गर्नुहोला भन्ने अपेक्षा छ’ एक साताअघि जापानमा पत्रकारहरूसँग नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले यस्तो अभिव्यक्ति दिएपछि चितवनमा चुनावी सरगर्मी दिनानुदिन बढ्दै गइरहेको छ ।

चितवन प्रचण्डको गृह जिल्ला हो । २०७४ सालको चुनावमा उनी चितवन क्षेत्र नं ३ बाट निर्वाचित भएका थिए । त्यतिबेला तत्कालीन नेकपाबाट विजयी भएका छन् । २०७४ मा राप्रपाका नेता विक्रम पाण्डेलाई ९ हजारभन्दा बढी मतान्तरले प्रचण्डलाई पक्राउ गरेको हो ।

प्रचण्ड वाम गठबन्धनका तर्फबाट उम्मेदवार हुन् भने पाण्डे लोकतान्त्रिक गठबन्धनबाट उम्मेदवार हुन् । प्रचण्डले ४६ हजार २६९ मत ल्याए भने वर्तमान वन तथा भूसंरक्षण मन्त्री समेत रहेका पाण्डेले ३८ हजार ९४२ मत ल्याएका थिए ।

मङ्सिर ४ गते हुने चुनावमा प्रचण्ड सत्तारुढ गठबन्धनबाट चितवन क्षेत्र नम्बर ३ बाट उठ्ने पक्का भइसकेको चितवन माओवादी केन्द्रले जनाएको छ ।

देशकै केन्द्रमा रहेको चितवन हरेक निर्वाचनमा चर्चामा रहन्छ । प्रचण्डको गृह जिल्ला
भएका कारण पनि यस क्षेत्र बढी चर्चामा छ । प्रचण्ड पुत्री रेनु दाहाल प्रचण्डकै क्षेत्र पर्ने भरतपुर महानगरपालिका प्रमुख छिन् ।

आगामी मङ्सिर ४ गते निर्वाचनको मिति तय भएसँगै चितवनमा चुनावी सरगर्मी तातेको छ । चितवनको निर्वाचन क्षेत्र नम्बर–३ लाई विशेष चासोका साथ हेरिएको छ । यो क्षेत्र प्रचण्डको क्षेत्र हो, तर यस क्षेत्रमा नेपाली कांग्रेसका होनहार नेताहरू पनि छन्, यस क्षेत्रका कांग्रेसका नेताहरूले रुखमै भोट हाल्न पाउने माग लिएर भेलाहरू गरिरहेका छन् । स्थानीय तहमा मेयरमा भूइँकटहर चुनाव चिन्ह लिएर उठेका जगन्नाथ पौडेलको समूह आगामी निर्वाचनमा रुखबाहेक अन्त भोट नहाल्ने बताइरहेका छन् ।

प्रचण्डको निर्वाचन क्षेत्र चितवन–३ मा माडी नगरपालिका र भरतपुर महानगरपालिकाको वडाहरू ८, ९, १३ देखि २८ सम्मका वडाहरू पर्छन् । सो क्षेत्रमा माडीका ९ वडा सिङ्गो पर्छ । नेपाली कांग्रेसका एक नेताका अनुसार कांग्रेसको एक समूहले प्रचण्डलाई भोट नदिए जित्न मुस्किल पर्छ । ती नेता भन्छन्, ‘कांग्रेसभित्रै कै एक समूह प्रचण्डलाई रुचाएका छैनन्, सकेसम्म गठबन्धन भए पनि कांग्रेसकै उम्मेदवार उठाउन खोजिरहेका छन् ।’

सो क्षेत्रमा काँग्रेस नेता टेकप्रसाद गुरुङ अग्रज नेता मानिन्छन् । वर्तमान मन्त्री उमेश श्रेष्ठ, नेपाली काँग्रेसका केन्द्रीय सदस्य दिनेश कोइराला, अन्जनी श्रेष्ठको पनि प्रचण्डको क्षेत्रका हुन् ।

प्रचण्डले जित हासिल गर्न ती नेताहरूलाई मनाउन सक्नुपर्ने कांग्रेसका एक नेताले बताए ।चितवन–२ निर्वाचन क्षेत्र भएकी महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री उमा रेग्मीको प्रभाव क्षेत्र पनि चितवन–३ नै हो । कांग्रेसको सबैभन्दा बढी सदस्य भएको क्षेत्र पर्छ चितवन ३ ।

आगामी निर्वाचनमा गठबन्धनभित्रको भागबन्डामा कांग्रेसले सो क्षेत्रमा दाबी गर्ने कांग्रेसका नेताहरू बताउँछन् । यदि गठबन्धनको भागवण्डामा माओवादी केन्द्रले पाएमा प्रचण्ड उम्मेदवार बन्नेछन् । एकीकृत समाजवादीका खासै प्रभावशाली नेता आकाङ्क्षी नदेखिएका हुनाले लगभग प्रचण्ड उम्मेदवार बन्ने पक्कापक्की जस्तै छ ।

एमालेले सो क्षेत्रमा कसलाई उठाउने भन्ने विषयमा खासै मुख खोलेको छैन । हुन त सो क्षेत्रमा नेकपा एमालेका जिल्ला इन्चार्ज देवी ज्ञवाली, बागमती प्रदेशसभा सदस्य कृष्णप्रसाद भुर्तेल र एमाले चितवनका अध्यक्ष राम न्यौपानेलगायतका नेता रहेका छन् । तर उम्मेदवार कसलाई बनाउने भन्ने चर्चा भने एमाले वृत्तमा आइसकेको छैन ।

नेकपा एमालेको चितवन जिल्ला इन्चार्ज देवी ज्ञवाली चितवन क्षेत्र नम्बर ३ मा प्रचण्डसँग आफू पनि भिड्न सक्ने दाबी गर्छन् । उनी भन्छन्, ‘पार्टीले मलाई चितवन क्षेत्र नम्बर ३ बाट उठ्न निर्देशन दियो भने त पछि हट्ने कुरा त आउँदैन ।’

राप्रपासँग एमालेको गठबन्धन भएको खण्डमा चितवन क्षेत्र नम्बर ३ बाट राप्रपाका वरिष्ठ उपाध्यक्ष विक्रम पाण्डे उठ्ने लगभग पक्काजस्तै हो । राप्रपाका एक नेताका अनुसार चितवन क्षेत्र नम्बर ३ बाट विक्रम पाण्डे नै उम्मेदवार बन्ने बताउँछन् । ती नेता भन्छन्, ‘चितवन ३ मा विक्रम पाण्डे २० वर्षदेखि लगातार उठिरहनुभएको छ, कहिले जित्नुभएको छ, कहिले हार्नुभएको छ, अहिले पनि उहाँको दाबी चितवन क्षेत्र नम्बर ३ मा रहन्छ ।’

यसअघि माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड २०७४ को निर्वाचनमा एमाले–माओवादी केन्द्रको गठबन्धनबाट उम्मेदवार भएर जितेका थिए । अहिले उहाँले जित्ने सम्भावना नरहेको राप्रपाका अर्का नेता दाबी गर्छन् । ‘प्रचण्डले २०७४ मा नेकपाबाट काँग्रेस र राप्रपाको गठबन्धनका उम्मेदवार बनेका विक्रम पाण्डेलाई पराजित गरेका थिए, अहिले बाम गठबन्धन छैन’ राप्रपाका ती नेता भन्छन्, ‘राप्रपा र एमाले एकै ठाउँमा आएर देवी ज्ञवाली र विक्रम पाण्डे सँगसँगै भए भने प्रचण्डलाई त ठूलो चुनौती हुन्छ ।’ एमाले प्रचण्डको प्रतिस्पर्धी उम्मेदवारको खोजीमा विक्रम पाण्डेलाई अघि सार्ने सम्भावना बलियो बनेको छ । यस क्षेत्रमा राप्रपाको पनि राम्रो प्रभाव छ । माडी नगरपालिका राप्रपाको राम्रो प्रभाव भएको क्षेत्र मानिन्छ ।

यता, माओवादी केन्द्रका एक नेताका अनुसार प्रचण्डको जित सुनिश्चित भएको बताउँछन् । ती नेताले भने, ‘प्रचण्डसँग तुलना गर्ने एमालेका ‘हेभी वेट’ उम्मेदवार छैनन्, प्रधानमन्त्री हुन सक्ने नेतालाई जनताले जिताउँछन्, पाँच दलीय गठबन्धनबाट प्रचण्ड उम्मेदवार बन्नुहुन्छ, जित सुनिश्चित छ । स्थानीय तहको मतलाई विश्लेषण गर्दा पनि उहाँको जित सुनिश्चित देखिन्छ ।’

माडी नगरपालिकामा प्रचण्डलाई थप चुनौती छ । यहाँ मेयर नेकपा एमालेकी तारा काजी महतो छिन् । वडाहरूमा राप्रपा, कांग्रेसले जित हासिल गरेको छ । गठबन्धन भए पनि माडीमा प्रचण्डको मत यसपटक सोचजति नआउने विश्लेषण गरिएको छ भने, भरतपुरमा रेनु दाहाल भएका कारण प्रचण्डलाई भरतपुरबाट बढी भोट आउने आंकलन गरिएको छ ।

गत स्थानीय तहको निर्वाचनमा भरतपुरमा एमालेका विजय सुवेदीलाई हराउँदै प्रचण्ड पुत्री रेणु दाहालले १२ हजार ४४९ मतले चुनाव जितेकी थिइन्, जसका कारण प्रचण्डलाई जित निकाल्न थोरै सहज पनि भएको देखिन्छ ।

माओवादी केन्द्रले भरतपुरको मेयर जिते पनि वडास्तरमा भने कमजोर उपस्थिति रह्यो । चितवन क्षेत्र–३ मा महानगरका १९ वटा वडा पर्दछन् । निर्वाचन क्षेत्र–३ अन्तर्गत पर्ने १९ वडामध्ये काँग्रेसले एक्लैले १० वडा जितेको छ । जहाँ माओवादी केन्द्र र एमालेले ३/३ वटा वडा, एकीकृत समाजवादीले २ वटा वडा र एक वटा वडामा स्वतन्त्र उम्मेदवारले चुनाव जितेका छन् ।

वडा स्तरको मतको हिसाबले महानगरपालिकामा काँग्रेस अन्य दलभन्दा निकै बलियो देखिन्छ । दोस्रोमा एमाले आउँछ । माओवादी केन्द्रले माडीको ९ वडामध्ये ४ वटा वडा जितेको छ । जहाँ राप्रपाले २, एकीकृत समाजवादीले २ र एमालेले १ वडा जितेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *