सुदूरपश्चिमका मुख्यमन्त्री सोडारीले जेठ ३ गते विश्वासको मत लिने

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले आगामी जेठ ३ गते विश्वासको मत लिने भएका छन्। सोडारीले विश्वासको मत लिनका लागि जेठ ३ गते बिहान १०:३० बजे प्रदेश सभाको बैठक आह्वान गरिएको प्रदेश सभा सचिवालयका सूचना अधिकारी युवराज जैशीले जानकारी दिए।

यसअघि यही वैशाख २१ र २२ गते मुख्यमन्त्रीले विश्वासको मत लिन बोलाइएको बैठक स्थगन गरिएको थियो। सत्ता साझेदार नेकपा (एमाले)ले आफूहरुको तयारी नपुगेको र थप छलफल गर्नुपर्ने अडान राखेपछि बैठक स्थगित गरिएको थियो।

नेकपा (एमाले) संसदीय दलका नेता राजेन्द्रसिंह रावलले जेठ ३ गतेको बैठकमा मुख्यमन्त्री सोडारीलाई विश्वासको मत दिने/नदिनेमा एमाले अझै टुङ्गोमा पुग्न नसकेको बताए।

नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), नागरिक उन्मुक्ति पार्टीका दुई सदस्य, स्वतन्त्र सदस्य डा तारा जोशीको समर्थनमा नेकपा (एकीकृत समाजवादी) संसदीय दलका नेता सोडारी सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भएका थिए।

५३ सदस्यीय प्रदेश सभामा नेपाली कांग्रेसका १८, नेकपा (माओवादी केन्द्र)का सभामुख बाहेक १०, नेकपा (एमाले) को ११, नागरिक उन्मुक्ति पार्टीको सात, नेकपा (एकीकृत समाजवादी) पार्टीका चार, राप्रपाको एक र एक स्वतन्त्र सदस्य छन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *