‘फर्काएको नागरिकता विधेयक स्वीकार गर्ने र जस्ताको तस्तै राष्ट्रपतिकहाँ पुर्याउने अधिकार हामीसँग संसदमा छ’

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको अधिकार अनुसार नागरिकता विधेयक प्रतिनिधिसभामा फिर्ता पठाएको बताएका छन्।
सञ्चारकर्मीसँग कुरा गर्दै थापाले राष्ट्रपतिले विधेयक प्रतिनिधिसभामा फर्काउनै हुँदैन थियो भन्ने आफूलाई लागेको बताए।
‘प्रथम दृष्टिमा मलाई के लाग्छ भने राष्ट्रपतिले फिर्ता पठाउन पाउने संविधानमा ब्यवस्था गरेकै हो त,’ थापाले भने, सोही व्यवस्थाको आधारमा फर्काउनै हुँदैनथ्यो भन्नेमलाई लाग्दैन।’
सोही विधेयक जस्ताको तस्तै राष्ट्रपति कार्यालयमा पठाउने अधिकार संसदलाई भएको भन्दै अहिले टिप्पणी गर्नुपर्ने आधार नभएको उनले बताए। ‘त्यो फर्काएको कुरालाई स्वीकार गर्ने र जस्ताको तस्तै राष्ट्रपतिकहाँ पुर्याउने अधिकार हामीसँग संसदमा छ,। अहिले त्यसमा टिप्पणी वा आलोचना गर्नैपर्छ भन्ने कुरा छैन्।’ थापाले भने।
संविधानले राष्ट्रपतिलाई केही प्रमाणीकरण र केही पुनर्विचार गर्न संसदमा पठाउन पाउने अधिकार दिएको भन्दै सोही अधिकार प्रयोग गरेको उनले बताए।
‘त्यो विधेयकका बारेमा उहाँले पठाएको जुन सूचना र टिप्पणी छन त्यसलाई राखेर हामी पार्टीभित्र छलफल गर्छौं। गठबन्धनका दलहरुबीचमा पनि केही न केही छलफल त हुन्छ नै,’ थापाले भने, ‘राष्ट्रपतिले विधेयकमाथि टिप्पणी गरेपछि हामी छलफल गरेर आफ्नो धारणा बनाउँछौं।’
राष्ट्रपति विद्यादेवी भण्डारीले १५ दिन शीतल निवासमा रोकेर राखेको नागरिकता विधेयक आइतबार २९ साउन मा संसदमै फिर्ता गरिदिएकी छन्।








