एमालेसँग नजिकिँदै छन् नारायणकाजी ?

काठमाडौँ । असार ३२ मा काठमाडौँमा भएको विचार गोष्ठीमा एमाले अध्यक्ष केपी शर्मा ओलीले नेकपा माओवादी केन्द्रका वरिष्ठ नेता नारायणकाजी श्रेष्ठलाई हेर्दै भनेका थिए, ‘विचार मिल्दैन भने त्यो पार्टीमा किन बस्नुहुन्छ ? पार्टी त तपाईंहरू जहाँ अल्झिरहनुभएको छ, त्यो मात्र त छैन नि !’

नेपाल चीन हिमालयमैत्री समाजले गरेको त्यो गोष्ठीमा नारायणकाजी श्रेष्ठ पनि वक्ताका रूपमा थिए । अध्यक्ष ओलीको अभिव्यक्तिले घुमाउरो पारामा नेता श्रेष्ठलाई एमालेमा आउन आग्रह गरेको बुझिन्छ । सीधा अर्थमा ओलीको भनाइलाई लिने हो भने विचार नमिले तपाईं (नारायणकाजी श्रेष्ठ) माओवादी केन्द्रमा नबस्नूस् एमालेमा आउँदा भइहाल्छ नि भन्न खोजेको आभास हुन्छ ।

नारायणकाजीका पछिल्ला अभिव्यक्तिहरू सत्तारुढ दलसँग भन्दा पनि नेएमालेसँग मिल्दाजुल्दा देखिन्छन् । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ का अभिव्यक्ति र नेता श्रेष्ठको अभिव्यक्ति बाझिन थालेका छन् । अझ पछिल्लाे समय त सामाजिक सञ्जालमा नेता श्रेष्ठका अभिव्यक्तिहरू छताछुल्ल हुने गरेका छन्, जहाँ उनी सरकारप्रति कडारूपमा प्रस्तुत हुन्छन् ।

उनी निकट नेताहरूकाअनुसार नेता श्रेष्ठले पार्टी अध्यक्ष प्रचण्डसँग सरकारले ल्याएको नागरिकता विधेयकदेखि गत सालकाे फागुन १५ गते संसद्‌बाट पारित भएकाे एमसीसीलगायत कैयन् विषयमा मतभेद प्रकट गरिरहेका छन् । शेरबहादुर देउवा नेतृत्वको सरकारले ल्याएको नागरिकता विधेयकमा नेता श्रेष्ठले चर्काे आलोचना गरिरहेका छन्, जुन अध्यक्ष प्रचण्डलाई समेत निको लागिरहेकाे छैन, जसका कारण श्रेष्ठ र प्रचण्डको मनदेखि मतसम्ममा तिक्तता देखिएको छ ।

गत असार ८ गते प्रधानमन्त्री निवास बालुवटारमा बसेको गठबन्धनको बैठकमा पनि नेता श्रेष्ठले एमालेको भाषा बोल्दै नागरिकता विधेयकको चर्को विरोध गरेका थिए, तर अध्यक्ष प्रचण्डले नागरिकता विधेयक जायज भएको कुरा दह्रोसाथ राखे । उनले त्यसपछि सार्वजनिक फाेरमहरूमै भने, ‘माओवादी केन्द्रले आफ्नाे बाचा पूरा गरेकाे छ ।’ वैवाहिक अंगीकृत नागरिकताको प्रावधानमा प्रतिपक्ष दल एमालेको धारणाजस्तो अभिव्यक्ति नारायणकाजी श्रेष्ठबाट आइरहेको छ ।

एमालेका नेताहरू नागरिकता विधेयक राष्ट्रहितमा नभएको बताइरहँदा सत्तारुढ दलकै एक उच्च नेता श्रेष्ठले पनि एमालेको धारणाको सम्मान गर्दै विधेयकप्रति चर्को आलोचना गरिनुलाई उनी सत्तारुढ गठबन्धनबाट खुसी छैनन भन्ने प्रष्ट हुन्छ ।

नेपाली पुरुषसँग विवाह गर्ने विदेशी महिलााई सात वर्षपछि मात्र वैवाहिक अंगीकृत नागरिकता दिने प्रावधानलाई कायम राख्नुपर्नेमा नेता श्रेष्ठको अडान छ, तर उनको पाटी भने यस प्रावधानलाई हटाउन तयार भइसकेको छ । श्रेष्ठका अभिव्यक्ति आफ्नो पार्टीको धारणाभन्दा पनि प्रतिपक्षका धारणासँग मेल खाइरहेका कारण उनी पछिल्लो समय एमालेसँग नजिकिएका हुन् भन्ने आशंका जन्माएको छ ।

अमेरिकी सहयोग परियोजना (एमसीसी) पास गर्ने क्रममा भएको १२ बुँदे व्याख्यात्मक घोषणा, अमेरिकी स्टेट पार्टनरसीप प्रोग्राम जस्ता मुद्दामा पनि माओवादी नेता श्रेष्ठले फरक धारणा राखेका छन् । यस विषयमा पनि उनका अभिव्यक्ति सरकारसँग होइन, प्रतिपक्ष एमालेसँग मेल खाइरहेका छन् । नेता श्रेष्ठले सरकारको विदेश नीतिबारे पनि निरन्तर प्रश्न उठाइरहेका छन् यस मामलामा पनि नेता श्रेष्ठको अभिव्यक्ति एमालेसँग मिलिरहेको छ । सत्तारुढ दलभित्रै प्रतिपक्षजस्तो बनेका नेता श्रेष्ठ पछिल्लो समय प्रधानमन्त्री शेरबहादुर देउवाको थप आलोचक बनिरहेका छन् ।

यतिबेला संघीय संसद्को चुनावको चर्चा पनि छ, सरकारलाई निर्वाचन आयोगले मंसिरमा चुनाव गर्न सकिने गरी प्रस्ताव गरिसकेको छ । चुनावमा दलीय गठबन्धनको पनि चर्चा-परिचर्चा हुन थालेको छ । माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड नेपाली कांग्रेससँग नै गठबन्धन गरेर चुनावमा जाने बताइरहेका छन् । नेता श्रेष्ठले यस विषयमा पनि पार्टी अध्यक्ष प्रचण्डसँग फरक मत राखिरहेका उनी निकट एक नेता बताउँछन् ।

ती नेता भन्छन्, ‘नेता श्रेष्ठले वामपन्थी दलबीच गठबन्धन गरेर चुनाव जानुपर्ने धारणा राख्नुभएको छ, तर यस विषयले पार्टीमा प्रवेश पाएको छैन ।’ उनका अनुसार पछिल्लो समय नेता नारायणकाजी श्रेष्ठले सरकारले चालेको कदममा फरक मत राखिरहेका छन् । केही दिनअघि नेता श्रेष्ठले सामाजिक सञ्जालमा भनेका थिए, ‘हाम्रो पार्टीले गठबन्धन सरकारको नाममा सबै राष्ट्रिय मुद्दामा सम्झौता गर्न सक्तैन । गठबन्धन सरकार र भोट हाम्रो साध्य होइन ।’

यसबाट पनि राष्ट्रिय मुद्दामा नेता श्रेष्ठ सरकारसँग खुसी नभएको प्रष्ट हुन्छ । उनी निकट एक नेताकाअनुसार नेता श्रेष्ठको बाम तालमेल गरेर अघि बढ्नमा विशेष जोड भएको देखिन्छ । ती नेता भन्छन्, ‘जहाँसम्म मलाई लाग्छ, एमाले पार्टीसँग नै श्रेष्ठ नजिकिएका होइनन्, तर राष्ट्रियतालगायत केही मुद्दामा एमालेसँग केही कुरा मिल्न आएका होलान् ।’

ती नेताका अनुसार वामपन्थी नेताहरूबीच केही अभिव्यक्ति मिल्नु स्वभाविक नै हो, पार्टीमा फरक मत राख्नु यो पनि स्वभाविक हो, केही अभिव्यक्ति कोही व्यक्तिसँग, पार्टीसँग मिल्नु यो पनि स्वाभाविक हो, यस्तो हुँदैमा कुनै पार्टीसँग नजिकिनुभयो, अब त्यतैतर्फ ढल्कनुहुन्छ, त्यतै जानुहुन्छ भन्ने त हुँदैन कि !

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *