जुम्लाका ७० वर्षीय काजीबहादुर : जो काठमाडौँमा जडिबुटी बेचेर परिवार धान्छन् (भिडिओसहित)

काठमाडौँ । काजीबहादुर राउत ७० वर्ष पुगे । जुम्लाको कालिका नगरपालिका ९ खेप्चुका उनी काठमाडौँमा जडिबुटी बेच्छन् । उनले जडिबुटी बेचेरै ५ जनाको परिवार मज्जाले पालेका छन् । महिनामा २५ देखि ३० हजारसम्म कमाउने बताउने काजीबहादुर भन्छन्, ‘यही पैसाले गुजारा चलिरहेको छ । धेरै कमाउनु पनि छैन ।’ उनको घर-परिवारमा उनीसँगै श्रीमती, छोरा–बुहारी र नाती गरी ५ जना छन् । ‘मैले कमाएकै पैसाले घरधन्दा चल्छ,’ काजीबहादुर भन्छन्, ‘गाह्रो हुँदैन । घरधन्दाचाहिँ मज्जैले चल्छ ।’

आजभन्दा करिब १५ वर्षपहिले काठमाडौँ आएका उनले त्यसअघि भने गाउँमै भेडा–बाख्रा पाल्थे र त्यहीँबाट घरधन्दा धान्थे । उनी विगत सम्झन्छन्, ‘साथीहरूसँग मिलेर जडिबुटी बेच्नेगरी काठमाडाैँ आएको हुँ म । अहिले पनि साथीहरूसँग सँगै बस्छु । यता आउनुभन्दा अगाडि गाउँमै वस्तुभाउ पाल्थेँ । त्यहीँबाट भएको आम्दानीले घर चलाउँथेँ । छोरा सानै थियो । अहिले धेरै सहज छ । छाेराले पनि बिहे गरेर पनि नाती जन्मिसक्याे ।’

काठमाडौँ आएदेखि कोटेश्वरमा बस्दै आएका उनी जडिबुटी बेच्न भनी लगनखेल, कोटेश्वरदेखि काठमाडौँका विभिन्न ठाउँ पुग्छन् । उनले बेच्ने जुडिबुटीहरूमा पाँचऔँले, यार्सागुम्बा, घुर्चीच्याउ, फिटकिरी, लालगेडी, पदमचाललगायत छन् । सबै जडिबुटी काठमाडौँमै पाइने र केही भने गाउँबाटै पनि ल्याउने उनी बताउँछन् । उनले भनेका छन्, ‘प्रायः यहीँ पनि पाइन्छ । यदि सहज भयो भनेर गाउँ पुगियो भने सङ्कलन गर्ने र ल्याउने गर्छु । नत्र त यतै सबै पाइन्छ । यतै किन्छौँ ।’

उनी जडिबुटी मात्रै बेच्नैनन् । जडिबुटीका साथमा विभिन्नखाले माला र मालामा प्रयोग हुने दानाहरूसमेत बेच्छन् । उनी बिहान ९ बजेदेखि साँझ ६ बजेसम्म प्रायः लगनखेल क्षेत्रमा भेटिन्छन् हिजाेआज । जडिबुटीहरू भने उनले प्रायः गरेर असनदेखि ल्याउने गरेका छन् । भन्छन्, ‘यहीँ असनबाट धेरै जडिबुटीहरू ल्याउँछु ।’

दिनमै १४ हजारसम्मको व्यापार

काजीबहादुर कहिले दिनमै १४ हजारसम्मको व्यापार गर्छन् भने कहिले ५ सयमै चित्त बुझाउँछन् । मकालुखबरले भेटेको दिन सोमबार (साउन ९) गते भने उनले १४ हजारको जुडिबुटी बेचे, खुसी साट्दै उनी भन्छन्, ‘सबैभन्दा आजै धेरै भएको हो । आज त १४ हजारको बचिसकेँ । यसरी भए जिन्दगी अझ मज्जाले चल्थ्यो होला ।’

त्यसो त कहिले शून्य-शून्य भएर कोठा फर्किनुपरेको दिन पनि छँदैछ काजीबहादुरसँग । यी दिनहरूले विक्री भएको दिनको खुसी पनि लैजाने अनुभूत गर्छन्, भन्छन्— ‘कुनै दिन त शून्य भएर कोठा फर्किनुपर्छ । विक्री भएको दिनको खुसी पनि त्यही दिनले लान्छ ।’

यसरी जडिबुटी बेचेर जम्मा भएको पैसा काजीबहादुर घर पठाउँछन् । उनी खुसी छन् । धेरै दुःख गर्नुपरेको छैन र पहिलेजसरी वस्तुभाउका पछाडि दौडनुपरेको छैन । ७० वर्षको वयोवृद्ध भएपनि अनुहारमा चमक उस्तै छ, भन्छन्— ‘अहिलेसम्म त ठिकै पो छु त । परिवार पालेकै छु । आफू बाँचेकै छु । भगवान्‌ले राम्रै गरेका छन् अहिलेसम्म त ।’

उनी आफ्नो उमेर समूहका वृद्धवृद्धालाई आफूले गरेजस्तै काम गर्न सल्लाह दिन्छन् । यो उमेरले त्यो काम गरे राम्रो हुने दृष्टान्त सुनाउँदै उनी थप्छन्, ‘भारी बोक्न नसकेपनि बाँचुन्जेल आफूले सकेको काम गर्नुपर्छ । सबैलाई यही सल्लाह दिन्छु । अब त हामी त भारी बोक्न र उचाल्नु केही सकिँदैन । यो भए त गरिन्छ । यसरी गरियो भने सधैँ राम्रो पनि हुन्छ । अरुको जीवन सुधार्ने काम पनि हो यो । त्यो भएर म मेरो साथीहरूलाई यही काम गर्न सुझाव दिन्छु ।’

नगरपालिकासँग दुःखमनाउ

काजीबहादुर नगरपालिकासँग चित्ता दुखाउँछन् । आफूजस्तो जीवनजिलो गर्ने मान्छेलाई नगरपालिकाले सधैँ खेदाउने गरेको सुनाउँछन् उनी । सडक छेऊमा सानो व्यापार गर्दा पनि आफूहरू भाग्नुपरेको अनुभव सुनाउँदै उनी भन्छन्, ‘योचाहिँ पटक्कै नहुने काम हो । यसले चाहिँ हामीलाई अप्ठ्यारो पारेको छ ।’

बुढेसकालमा भारी बोक्नेजस्ता अन्य काम गर्न नसक्ने हुँदा नगरपालिकाले यस्तो नगरिदिओस् भन्ने चाहन्छन् काजीबहादुर । हाल लगनखलेमा रहेको महिन्द्रा कार शोरुमका मालिकसँग अनुमति लिएर भवन नजिकै व्यापार गरिरहेको सुनाउँछन् उनी । ‘यहाँ पनि उहाँ मालिकसँग अनुमति लिएर बसेको छु,’ उनी भन्छन् ।

काजीबहादुरले ‘खानेमुखलाई जुङ्गाले छेक्दैन’ गरेर खानलाई र साहस हुनेलाई उमेर छेक्दैन भन्ने प्रमाणित गरेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *