ग्रामिण सडक सञ्चालन नहुँदा खाद्यान्न अभाव

बैतडी । वर्षाका कारण बैतडीका ग्रामीण कच्ची सडक सञ्चालनमा हुन नसक्दा खाद्यान्न अभाव हुने सङ्केत देखिएको छ । लगातारको वर्षाका कारण सडक हिलाम्मे भएका र बेलाबेलामा खस्ने पहिराका कारण सवारी साधन सञ्चालनमा समस्या हुँदा ग्रामीण क्षेत्रमा खाद्यान्न अभाव हुने अवस्था सिर्जना भएको होे ।

जिल्लाको ढोल्यामोड– हाट, पाटन– पञ्चेश्वर, दुदिलाखान–गाँजरी, सिल्लेगडा–कटौजपानी, देहीमाण्डौँ–गिरेगडा सडकमा गाडी चलाउन निकै असहज भएको छ । यस्तै सिल्लेगडा–कटौजपानी, सतबाँझ–सुर्नया, अनारखोली–कैलपाल, सदरमुकाम–सेरा, खोचलेक–सित्तड, रिमलगायत सडकमा सवारीसाधन चलाउन निकै समस्या छ ।

ग्रामीण सडक सुधार हुन नसक्दा वर्षात्को समयमा जोखिम मोलेर पनि यात्रा गर्नुपर्ने बाध्यता रहेको दोगडाकेदार गाउँपालिका– ८ का लोकेश विष्टले बताए । उनले भने, ‘नियमितरुपमा गाडी सञ्चालन हुदैनन्, यसले ग्रामीण क्षेत्रमा खाद्यान्न अभाव हुन थालेको छ ।’

यस्तै पुर्चौंडी नगरपालिकाको केन्द्र जोड्ने ढोल्यामोड–हाट सडक हिलाम्ये हुँदा यातायातका साधन सञ्चालनमा कठीनाइ भएको छ । ढोल्यामोडदेखि हाटसम्मको सडकको ठाउँठाउँमा पहिरो खस्दा जीप तथा बस सञ्चालनमा समस्या भएको स्थानीय लालबहादुर भण्डारीले बताए । उनले भने, ‘सडक हिलाम्ये हुँदा गाडी फस्ने र यात्रुहरुले धकेलेर निकाल्नुपर्ने अवस्था छ यसले दुर्घटनाको जोखिमसमेत बढ्दै गएको छ ।

ढोल्यामोड–हाट सडक पुर्चौंडी नगरपालिका जोड्ने मुख्य सडक समयमै स्तरोन्नति नहुँदा यात्रुहरुले सास्ती भोग्दै आएका छन् । जिल्लाको सतबाँझ–श्रीभावर–हाट सडकलाई प्रदेशको गौरवको आयोजनाको रुपमा राखिए पनि स्तरोन्नति सुस्तगतिमा रहेको छ । सो सडकको दुई ठाउँबाट स्तरोन्नति भइरहेको छ ।

सडकभर पहिरो, हिलो र खाल्डाखुल्डी हुँदा सवारी साधन चलाउन पनि समस्या भएको सम्बद्ध चालकले बताए । कच्ची सडकमा ठूलाठूला खाल्डाखुल्डी र ठाउँ ठाउँमा पहिरो जाने गरेकाले सवारी सञ्चालनमा समस्या हुने गरेको जीप चालक वीरेन्द्र महताले बताउनुभयो । वर्षात्को समयमा ग्रामीण कच्ची सडकमा जोखिमपूर्ण यात्रा गर्नुपर्ने बाध्यताका साथै ग्रामीण क्षेत्रमा खाद्यान्न अभाव हुन थालेको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *