निःशुल्क लोकसेवा तयारी कक्षा सञ्चालन गर्दै किरात राई कर्मचारी मञ्च

काठमाडाैँ । किरात राई कर्मचारी मञ्चले शाखा अधिकृत वा सोसरहको निःशुल्क लोकसेवा तयारी कक्षा सञ्चालन गर्ने भएको छ । कक्षा किरात राई यायोख्या, केन्द्रीय कार्यालयकाे मुख्यालय काठमाडाैँकाे काेटेश्वरस्थित सुम्निमा हलमा सञ्चालन हुने नेपाल सरकारका उपसचिवसमेत रहेका कक्षा सञ्चालनका संयाेजक याेग्यप्रसाद राईले जानकारी दिए । उनकाअनुसार कक्षामा सहभागी हुनको लागि स्नातक तह उत्तीर्ण गरेका इच्छुक किरात राईले आवेदन दिन सक्नेछन् ।
भौतिकरूपमा दक्ष, अनुभवी र ख्यातीप्राप्त प्रशिक्षकबाट हुने कक्षा पाठ्यक्रमअनुसार चार वटै पत्रहरूको लागि कम्तीमा ६० वटा कक्षाहरू लिइने छ । शनिवारबाहेक सञ्चालन हुने कक्षा बिहान ७ बजेदेखि ९ बजेसम्म हुने संयाेजक राईले बताएका छन् ।
शनिवार भने प्रश्नपत्रको लिखित परीक्षा सञ्चालन हुनेछ । त्यस्तै, सहभागीको उत्तरपुस्तिका जाँच गरी पृष्ठपोषण प्रदान गरिनेछ । तयारी कक्षामा सहभागी हुन चाहने उम्मेदवारले रजिष्ट्रेशन शुल्क २ हजार लाग्ने आयाेजकले जनाएकाे छ ।
उम्मेदवारले आजदेखि श्रावण १९ गतेसम्म आवेदन दिन सक्नेछन् । उक्त कार्यक्रमको उद्घाटन तथा अभिमुखीकरण श्रावन २१ गते हुनेछ ।








