संसद्मा पटक–पटक एक चौथाई सांसद्को खोजी, १४ सांसद केही मिनेटमै गायब

काठमाडौँ । प्रतिनिधिसभाको आइतबारको बैठकमा १५ मिनेटको बिचमा १४ जना सांसदले बैठक छोडेको पाइएको छ ।
कारागार सम्बन्धी विधेयक पारित गर्दै लाग्दा नेमकिपाका सांसद प्रेम सुवालले गणपूरक संख्याको प्रश्न उठाएपछि सभामुखले सांसद संख्या यकिन गरेका थिए । जतिबेला संसद्मा ६७ जना सांसद मात्रै उपस्थित थिए ।
२७५ सदस्यीय प्रतिनिधिसभामा गणपूरक संख्या पुग्न एक चौथाइ अर्थात्, ६९ सांसदको उपस्थिति अनिवार्य छ । ६९ सांसद उपस्थित नरहेपछि सभामुख अग्नि प्रसाद सापकोटाले बैठक स्थगित गरेका थिए ।
दोस्रो बैठक सुरु भए लगत्तै सांसद सुवालले फेरि गणपूरक संख्याको प्रश्न उठाए । यकिन गर्दा ७१ सांसद उपस्थित रहेको पाइयो । दोस्रो बैठकले कारागार सम्बन्धी विधेयक सर्वसम्मत पारित गर्यो ।
लगत्तै सभामुखले मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय विधेयक, २०७९ माथि राष्ट्रिय सभाले गरेको संशोधनमाथि छलफल सुरु गराए । राष्ट्रिय सभाले गरेको संशोधनलाई स्वीकार गर्ने वा नगर्ने भन्ने प्रस्तावलाई सभामुखले निर्माणार्थ पेस गर्न लागे पछि फेरि सांसद सुवालले गणपूरक संख्याको माग गरे ।
सभामुखले सांसद संख्या यकिन गर्दा ५७ जना मात्रै उपस्थित रहेको पाइयो । त्यसपछि सभामुख सापकोटाले दुई दिनका लागि बैठक नै स्थगित गरिदिए । प्रतिनिधि सभाको अर्को बैठक साउन १० गते मंगलबार दिउँसो एक बजे बस्नेछ ।








